पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै चोयँगा

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै चोयँगा

तम्घास: छत्रकोट गाउँपालिका-३ हर्दिनेटास्थित चोयँगा क्षेत्र पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य बन्दै गएको छ। युवादेखि वयस्कसम्म छत्रकोट देवालय मन्दिर दर्शन गर्न आउँछन्। मनोरम वातावरण र मन्दिरको दर्शनका लागि धार्मिक पर्यटक यहाँ पुग्ने गरेका छन्।

मन्दिर परिसरनजिकै रहेको ‘पिकनिक स्पट'ले धेरै पर्यटकको मन लोभ्याउने गरेको छत्रकोट देवालय मन्दिर व्यवस्थापन समितिले जनाएको छ। ‘पछिल्लो समय पर्यटक आउने क्रम बढ्दो छ', व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर थापाले भन्नुभयो, ‘युवा पुस्ता धेरै आउँछन्। बिदाको दिन भीडभाड नै हुन्छ।'

मन्दिर घुम्न आउने धर्मावलम्बीका लागि व्यवस्थापन समितिले पिकनिक क्षेत्रको समेत व्यवस्था मिलाएको उहाँले जानकारी गराउनुभयो। यस क्षेत्रको प्रभावकारी रूपमा अझै प्रचारप्रसार हुन नसकेकाले उहाँले यहाँको विकास गर्न सके समग्र जिल्लाले नै आर्थिक क्षेत्रमा फड्को मार्न सक्ने धारणा व्यक्त गर्नुभयो। ‘रेसुंगा घुम्न आउने पर्यटकलाई चोयँगा भित्र्याउन सकिन्छ', उहाँले भन्नुभयो,‘रुरु-चोयँगा-रेसुंगालाई सँगसँगै लिएर जिल्लाको पर्यटन विकास गर्न सकिने प्रशस्त सम्भावना छ।' 

मन्दिरको प्रवेशद्वार, वरपरको वातावरण सुन्दर बनाउनेलगायत काम व्यवस्थापन समितिले गरिरहेको उहाँले जानकारी गराउनुभयो । रिणी-तम्घास मुख्य सडकदेखि बाटो नजिकै छत्रकोट मन्दिर छ । यस मन्दिरमा आएर पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने मान्यताले धेरै जसो यहाँ आउने गरेको मन्दिरका पुजारी शिवलाल पन्थले जानकारी गराउनुभयो । ‘पर्यटकको कहिल्यै खाली हुँदैन', १६ वर्षदेखि निरन्तर मन्दिरमा बस्दै आउनुभएका उहाँले भन्नुभयो, ‘पाडा, बोका, कुखुराको बलि दिने गरिन्छ । पर्यटक बलि दिएर रमाइलो गरेर फर्कन्छन्।' 

सामुदायिक जंगलको बीचमा रहेको चोयँगा डाँडामा अवस्थित छ। जुनसुकै मौसममा पनि यस क्षेत्र शीतल हुने गर्छ । ‘सधैंभरि शीतल मौसम हुन्छ', चन्द्रकोट गाउँपालिका-३ स्थित रूपाकोटबाट घुम्न आउनुभएका सुशील विश्वकर्माले भन्नुभयो, ‘समय मिलाएर बेलाबेला घुम्न आउँछौं।' 

यस देवालय मन्दिरमा विशेष गरी नयाँ वर्ष, श्री कृष्ण जन्माष्टमी, कोजाग्रत पूर्णिमा, हनुमान जयन्ती र चैतेदसैंमा भव्य भेला लाग्ने गर्छ। कोजाग्रत पूर्णिमा र चैतेदसैंमा सरायँ, खुडा, ढाल र लौरो नाच हुने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । देवालय परिसरमा नयाँ वर्षको दिन, १ साउन १ देखि नाग पञ्चमीसम्म, प्रत्येक औंसी, एकादशी, सोह्र श्राद्ध, श्रीकृष्ण जन्माष्टमी र शिवरात्रिमा बलि पूजा नचढ्ने मन्दिरका पुजारी पन्थले जानकारी गराउनुभयो। 

धार्मिक एवं पुरातात्विक क्षेत्रमा जिल्लामा थुप्रै सम्भावना भएकाले यसको उचित प्रवद्र्धन गर्नुपर्ने गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताउनुभयो। ‘जिल्लाको आर्थिक परिवर्तनका लागि पर्यटन क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्नुपर्छ', उहाँले भन्नुभयो, ‘पर्यटन क्षेत्रको विकासबिना आर्थिक क्षेत्र बलियो हुन सक्दैन।' ठोस गुरुयोजना बनाएर जिल्लाको धार्मिक एवं पर्यटकीय क्षेत्रको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.