मार्चदेखि ‘होङ्सी शिवम्' सिमेन्ट बजारमा

मार्चदेखि ‘होङ्सी शिवम्' सिमेन्ट बजारमा

काठमाडौं : ठूलो लगानीमा निर्माण भइरहेको होङ्सी शिवम सिमेन्टले आगामी मार्चदेखि उत्पादन सुरु गर्ने भएको छ। धमाधम निर्माण भइरहेको उद्योगले मार्चदेखि सिमेन्ट र मे महिनादेखि क्लिंकर उत्पादन सुरु गर्ने भएको हो। नवलपरासीको वेणीमनीपुरस्थित सर्दीमा निर्माण भइरहेको सिमेन्ट उद्योगमा नेपाली र चिनियाँ लगानी रहेको छ। 

उद्योगबाट दैनिक १२ हजार मेट्रिक टन सिमेन्ट र क्लिंकर उत्पादन गर्ने लक्ष्य राखिएको छ। पहिलो चरणमा दैनिक ६ हजार मेट्रिक टन उत्पादन लक्ष्य राखेको होङ्सी शिवम सिमेन्टका निर्देशक सतिश कुमार मोरले अन्नपूर्णसँग बताउनुभयो। पहिलो चरणको उत्पादनका लागि ३६ अर्ब लगानी रहने बताइएको छ। उद्योगमा शिवम होल्डिङ्सको ३० प्रतिशत र होङ्सीको ७० प्रतिशत हिस्सा रहनेछ। 

सिमेन्ट उद्योगको उत्पादन क्षमता दैनिक १२ हजार मेट्रिक टन पुर्याउँदा लगानी करीव ५२ अर्ब पुग्नेछ। पहिलो चरणको उत्पादन (६ हजार टन) सुरु भएको दुई वर्षभित्र उद्योगको क्षमता विस्तार गरेर १२ हजार मेट्रिक टन पुर्याइसक्ने लक्ष्य राखिएको छ। ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको यो उद्योग मुलुककै सबैभन्दा ठूलो सिमेन्ट उद्योग हुनेछ।

सिमेन्ट उद्योगले करीव २८ किलोमिटर उत्तर पाल्मा रहेको चुनढुंगा खानी प्रयोगमा ल्याउने भएको छ । उद्योगसम्म कच्चा पदार्थ ओसार्न दुईवटा कन्भेयर बेल्ट निर्माण गरिने छ। साथै, अरु बाटोहरु पनि प्रयोग गरिनेछ । अहिले धमाधम उद्योग लगाउने काम जारी रहेको उहाँले बताउनुभयो । यो उद्योग पूर्व–पश्चिम राजमार्गको दुम्कीबासबाट १२ किलोमिटर उत्तरमा पर्छ । कम्पनीले जग्गा १२ हजार मेट्रिक टनको उद्योग चलाउन पुग्नेगरी लिइसकेको छ। 

‘उद्योग लगाउने काम द्रुत गतिमा अगाडि बढिरहेको छ, ईआइए, आईए रिपोर्ट आइसकेको छ, सरकारले जग्गा हदबन्दी पनि फुकुवा गरिसकेको छ' मोरले भन्नुभयो, ‘नियामक निकाय सबैले सहयोग गरिदिँदा उद्योग लगाउन सजिलो भएको छ।' 

यसरी भयो सहकार्य
चीनको प्रशिद्ध सिमेन्ट उत्पादक कम्पनी होङ्सीले नेपालमा पनि ठूलो लगानी गर्न खोजिरहेको थियो। कम्पनीले लाओस, म्यानमार, इन्डोनेशिया लगायतका देशमा सिमेन्ट उत्पादन सुरु गरिसकेको थियो। प्रशस्त कच्चा पदार्थ र बजार सम्भवना पनि देखेको होङ्सीले नेपालमा प्लान्ट लगाउन चाहेको थियो। बजार अध्ययन गरिरहेको बेलामा होङ्सी र शिवमबीच छलफल भयो। शिवमको प्रस्तावसँग होङ्सी सहमत बनेपछि सहकार्य भएको हो।

‘हामीसँग ठूलो लगानी गर्ने पुँजी थिएन, ठूलो लगानी गर्न बैंकको क्षमताले पनि भ्याउँदैन थियो' निर्देशक मोरले भन्नुभयो, ‘सिमेन्टको ठूलो प्लान्ट सञ्चालन गर्न होङ्सीको लगानी भित्रायौं।' होङ्सी चीनको ठूलो सिमेन्ट उत्पादक कम्पनी हो। आर्थिक वर्ष २०१५÷१६ मा होङ्सीले चीनमा रहेका उद्योगबाट मात्र ८० मिलियन टन सिमेन्ट उत्पादन गरेको थियो। 

होङ्शी शिवम सिमेन्टसञ्चालनमा आएपछि करीव दुई हजार जनाले रोजगारी पाउने बताइएको छ । साथै, राज्यको ढुकुटीमा समेत ठूलो योगदान पुर्याउने छ। यो उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउँदा ५० देखि ८० मेगावाट विजुली खपत गर्नेछ। ‘यति ठूलो उद्योग सञ्चालनमा आएपछि मुलुककै शान बन्नेछ' मोर भन्नुहुन्छ। 

होङ्सीले नेपालको बजार अध्ययन गरेर लगानी गर्न तम्सिएको हो। नेपालमा सिमेन्टको माग वार्षिक १८ प्रतिशतले वृद्धि भइरहेको छ, उत्पादन बढेपछि बजार पनि सृजना हुँदै जानेछ' मोरले भन्नुभयो, ‘हामीलाई बजारको समस्या हुँदैन् ।' नेपालमा ठूला ठूला पूर्वाधार बन्न बाँकी छन् । सडक, पुल, शहर, ठूला महल निर्माणकै क्रममा छन् । भूकम्पपछि पुनर्निर्माणले पनि गति लिएको छ । यसैले नेपालमा सिमेन्टको माग उच्च रहने उहाँ बताउनुहुन्छ। 

कम्पनीले सिमेन्ट निर्यातको पनि लक्ष्य राखेको छ । नेपाली सिमेन्टको मुख्य बजार भारतको सिमावर्ती शहर बिहार नै हुनेछ । बिहारमा चुनढुंगा खानी नभएकोले सिमेन्ट उद्योग सञ्चालनमा पनि छैनन् । यसैले नेपाली सिमेन्टको मुख्य बजार बिहार बन्न सक्ने मोर बताउनुहुन्छ । ‘हामीले बिहारमा निर्यातका लागि बजार अध्ययन गरिरहेका छौं' उहाँले भन्नुभयो, ‘हाम्रो उत्पादनको बजार भारत पनि हुनेछ।' 

शिवम होल्डिङ्सले हेटौंडामा सिमेन्ट उद्योग चलाइरहेको छ । नेपाली उपभोक्तामाझ शिवम सिमेन्ट लोकप्रिय रहेको छ । दैनिक २४ सय मेट्रिक टन क्षमताको उद्योगलाई क्षमता विस्तार गरेर तीन हजार मेट्रिक टन पुर्याइँदै छ । शिवम सिमेन्टको माग बढेपछि क्रमिक रुपमा उद्योगको क्षमता विस्तार गरिरहेको मोर बताउनुहुन्छ । ‘शिवम सिमेन्टको माग बढ्दो छ, हामीले मागेजति सप्लाई दिन सकिरहेका छैनौं' उहाँले भन्नुभयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.