ज्यानमारा लापरबाही

ज्यानमारा लापरबाही

वर्षात् सुरु भइसकेको छ, जुन अझै पनि कृषिप्रधान मानिने मुलुकको लागि सुखद संकेत हो । तर राजधानी काठमाडौं लगायत अनियन्त्रित जनसंख्या र बसोवासको चापमा परेका सहरहरूमा ढल निकासदेखि अन्य अत्यावश्यक सेवासुविधा त्यही अनुपातमा बढ्न नसक्दा सामान्य जीवन अस्तव्यस्त हुन पुगेको छ । यो आम नियति या भोगाइ बन्न पुगेको छ सहरी क्षेत्रको ।

त्यति मात्र हैन, यो परिस्थिति अब आम असुरक्षामा अभूतपूर्व वृद्धि भएको छ । वर्षात्मा सडक डुबानमा पर्ने र पानी निकास हुन नसक्ने काठमाडौंमा डुबेर ११ वर्षीया बालिका विनिता फुँयालको अकाल मृत्यु भएको छ । अर्की बालिका सत्या सापकोटा निकै हदसम्म भाग्यमानी सावित भइन् । भेल र लेदो मिश्रित पानीले बगाउँदा देख्नेहरूले उनको उद्धार गरे, उनी मानसिक पीडाबाट ग्रस्त छिन्, तर उनको जीवन बच्नु उनका परिवार र आफन्तको लागि मात्र हैन, सबैको लागि खुसीको विषय बनेको छ, सृष्टिको कलिलो फूल र असंख्य सम्भावनाको जीवन अकाल मृत्युको सिकार नबनेकोमा । सत्याको नियती राजधानीमा धेरैले भोगेका छन् ।

सडक डुबानमा पर्नु, खुला छोडिएका 'म्यानहोल' मा खसी घाइते हुनु या विस्तारका क्रममा निर्माण महिनौं रोकिएर धुलाम्मे राजधानीमा श्वासप्रश्वास बिरामीको सिकार हुनु धेरैको पीडा हो । त्यो पीडाको मुख्य कारक या पीडक सरकारको संवेदनहीनता अनि जिम्मेवार निकाय र त्यसका टाउकेहरूमा जवाफदेहिताको अभाव हो ।

विनिताको अकाल मृत्युले सञ्चारमा महत्वपूर्ण ठाउँ ओगटेपछि अहिले सरकारको उच्चतम तहबाट त्यसमा चासो अभिव्यक्त भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नै दुई साताभित्र राजधानीका सडकका खाल्टाखुल्टी पुर्न निर्देशन दिनुभएको छ । त्यो निर्देशन अवश्य पनि पुरा हुनेछ र सम्भवतः अब विनिता र सत्याको नियति अरूले भोग्नुपर्ने छैन । तर यो एउटा प्रधानमन्त्रीको आदेशको पालनामा सीमित रहनु हुँदैन ।

कुनै पनि उद्देश्यको लागि सडक खोल्ने, खन्ने या त्यहाँ भ्वाङ पार्ने कार्य आधिकारिक रूपमा मात्र सञ्चालन गरिनुपर्छ र त्यो कुन प्रयोजन र कतिसम्मको लागि त्यो अवस्थामा रहन्छ अनि त्यसको निर्माणको दायित्व कुन विभागको हो, त्यसमा स्पष्ट उल्लेख गरिनुपर्ने बाध्यात्मक व्यवस्थाको लागि प्रधानमन्त्री स्वयंले निर्देशन दिनु ज्यादा प्रभावकारी हुनेछ ।

अक्टोबरमा मेलम्ची परियोजना पूरा भएपछि मात्र सडकका केही भ्वाङहरू टालिने अपुष्ट दाबी कतै सुनिन्छ भने अन्यत्रका खाल्डाखुल्डी कसले बनाएको हो, त्यसको आधिकारिक जवाफ दिने आवश्यकता कसैले देखेको छैन । तर पहिलोपल्ट सडकको व्यथा र ज्यानमारा प्रकृतिबारे प्रधानमन्त्रीले चिन्ता लिनुलाई सकारात्मक रूपमा लिइनुपर्छ । यद्यपि त्यसलाई पर्याप्त जिम्मेवारीबोध मान्न सकिन्न । हो, सडकको जिम्मेवारी संसद् र सिंहदरबारले लिए भने त्यसले यात्रा समस्याहरूको निराकरण हुने आशा भन्ने गर्न सकिन्छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.