प्रधानमन्त्रीसँग गण्डक र सुस्ता समस्या समाधान गर्न माग
नवलपरासी: गण्डक र सुस्ताका समस्या समाधानसहित नवलपरासी सीमा क्षेत्रको विकासका लागि रकम विनियोजनको मागगर्दै नवलपरासी क्षेत्र नं. ६ का सांसद देवकरण जयसवालले प्रधानमन्त्री शेरबहादुर देउवालाई ६ बुँदे ज्ञापन पत्र बुझाउनु भएको छ।
प्रधानमन्त्री कार्यालय पुगेर सोमबार सांसद जयसवालले बुझाएको ज्ञापन पत्रमा तराईका पिछडिएका जिल्लाहरुमध्ये नवलपरासीको क्षेत्र नं. ६ रहेको भन्दै आ.ब. २०७४÷०७५ मा विनियोजन हुने वार्षिक विकास कार्यक्रममा त्यस क्षेत्रको विकासका लागि रकम छुट्टाउन माग गरिएको छ।
गण्डक नहरका कारण वर्षेनी दक्षिणभेग डुबानमा पर्दै आएको भन्दै नहर मर्मत संरक्षणका लागि डिपिआर तयार भइसक्दा पनि काम सुरु नभएकाले तत्काल निर्माण कार्य सञ्चालनको माग गरिएको छ।
त्यसैगरी नारायणी नदीका कारण सुस्ता क्षेत्र कटानमा पर्दै आएकोले त्यसको तटबन्धन र ठोकर निर्माणका लागि कम्तीमा १० करोड विनियोजन गर्न अर्थ मन्त्रालयमा सिफारिस गरिदिन ज्ञापन पत्रमा आग्रह गरिएको छ।
सुरजपुरास्थित बन्द रहेको विद्युत गृह सञ्चालन र भदौ महिनाभित्र उखुको मूल्य निर्धारण गर्न सम्बन्धीत मन्त्रालयमा निर्देशन गरी किसानका समस्या समाधान गरिदिन तथा रुपौलीयालगायत साविकका ६ गाविसहरुमा अव्यवस्थित रुपमा रहेका जग्गाको व्यवस्थापन गर्न अधिकार सम्पन्न आयोग गठन गर्नका लागि तत्काल पहल गर्न ज्ञापन पत्रमा माग गरिएको छ।