प्रचण्डलाई पोलिटब्यूरो सदस्यले बुझाए गोप्यपत्र
काठमाडौ: नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा निबर्तमान धनकुटा इन्चार्ज हेमराज भण्डारीले सात सय ४४ स्थानीय तहमा छायाँ सरकार गठन गर्न लिखित सुझाव दिनु भएको छ । केन्द्रीय सचिवालयको विस्तारित बैठकमा आफू सहभागि नहुनु भएका भण्डारीले एक नम्बर प्रदेशका इन्चार्ज गोपाल किराँती मार्फत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित सुझाव दिनु भएको हो ।
अन्नपूर्णलाई प्राप्त लिखित सुझावमा सात सय ४४ वटा स्थानीय तहमा छायाँ सरकार गठन गरी सुशासन कायम राख्न,भ्रष्टाचार बिरुद्ध खवरदारी गर्न,जनताका समस्या उठाउन र समाधान गर्न जनपक्षीय कामहरु गराउन,स्थानीय तहमा गएको अधिकार बारे जनतालाई सचेतना फैलाउन,निर्वाचित जनप्रतिनिधिहरुलाई सहयोग,खवरदारी र सचेत गराउन माग गरिएको छ ।
बैज्ञानिक समाजवादको निम्ति समाजवादी आधार तयार गर्दै अगाडि जाने पार्टीको नीति हुनु पर्ने,पार्टीलाई यथाशिघ्र महाधिवेशनको प्रक्रियामा लैजानु पर्ने माग गरिएको छ । स्थानीय तहको निर्वाचनमा धनकुटामा पार्टीले पराजय भोग्नु परेको जिम्मेवारी लिदै राजीनामा दिनु भएको थियो । आफूले राजीनामा दिएका कारण बैठकमा उपस्थिति नभएको उहाँले एक नम्बर प्रदेशका इन्चार्ज गोपाल किराँतीलाई जानकारी गराउनु भएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा जारी केन्द्रीय सचिवालयको बैठकमा भण्डारीले प्रचण्डलाई बुझाएको पत्र
बैचारिक र राजनैतिक रुपमा तत्काल गर्नु पर्ने कामहरु
१. बिचारधारात्मक (बैचारिक) राजनैतिक कार्यदिशा सहि हुनु वा नहुनुले नै सबै कुराको फैसला गर्दछ भन्ने माक्र्सवादको मूल प्रस्तावनालाई गम्भीर रुपले आत्मसात गर्न जरुरी छ । मुख्य कुरा बिचारधारा र राजनीति नै हो । बिचारको तागतलाई भौतिक शक्तिमा बदल्ने संगठन मार्फत हो तर आज पार्टीको संक्रमणकालीन कार्यदिशा बारेको बुझाइमा गंम्भीर बिबिधता पाइन्छ । जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरी समाजवादको आधार तयार गर्ने त भनियो तर बाँकी कार्यभार के के गरेपछि पूरा हुन्छ ? समाजवादको आधार के के गरेपछि र कसरी तयार हुन्छ ? त्यसको तयारी र स्पष्ट योजना के हो ? भन्ने बिषयको बुझाइको एक रुपता जरुरी छ ।
२.वर्ग समाज कायम रहदासम्म वर्गसंघर्ष कायम रहन्छ । वर्ग संघर्षमा अनिवार्य बल प्रयोगको मान्यता बारे कुनै भ्रम रहनु हुँदैन । चुनाव,प्रतिस्पर्धा,सरकार भन्ने बित्तिकै पार्टी भित्र वर्ग र वर्ग संघर्षको मान्यतालाई बिर्सदै जाने गल्ती हुन थालेको छ । समाजवादी क्रान्तिको आधार निर्माण र तयारीमा प्रतिस्पर्धा र सशस्त्र बिद्रोह दुवै तयारीलाई सँगसँगै अगाडि नबढाई पार्टीको सर्वहारा वर्गीय उत्तरदायित्वलाई पूरा गर्न संभव हुँदैन । किनकी हामी निरन्तर क्रान्तिका पक्षधर हौ ।
३ पार्टी माथि कुन वर्गको स्वामित्व छ भन्ने कुरा सबभन्दा महत्वपूर्ण सवाल हो । आज पार्टी भित्र वर्ग प्रतिबद्धतामा आएको गम्भीर स्खलनको क्रमलाई नरोक्ने हो भने पार्टीको औचित्य माथि नै गम्भीर प्रश्न चिन्ह खडा हुनेछ । विगतमा हाम्रो पार्टीको राजनैतिक मुद्दाको श्रेष्ठताका कारण जनताले हामीलाई पुरस्कृत पनि गरेकै हो । तर सधै त्यहि मुद्दा र एजेण्डाकै कारण निरन्तर पुरस्कृत हुने कुरा संभव पनि होइन । एकपटक प्रथम भएर वा राजनैतिक श्रेष्ठता हासिल गरेर पुग्दैन । राजनैतिक,बैचारिक,व्यवहारिक र कार्यक्रमिक रुपमा लगातार श्रेष्ठता हासिल गर्ने तर्फ हामी सबैको ध्यान केन्द्रीत हुन जरुरी छ ।
४.आज पार्टीको गति न त हासको चाल,न त कुखुराको चाल जस्तो भएको छ । पार्टीले अव स्पष्ट रुपमा हाम्रो कार्यदिशा बैज्ञानिक समाजवाद स्थापना गर्ने हो भनेर किटान गर्न जरुरी छ । तव मात्रै पार्टीका सम्पूर्ण कार्यनीति,कार्यक्रम,संगठनात्मक प्रणाली,संरचना,नेतृत्व र संस्कृति समाजवाद अनुकुल बन्न संभव छ । सामन्तवादी संस्कृतिमा रुमल्लिएर समाजवादी मूल्य स्थापित गर्नु असंभव कुरा हो । अव हामीले विगतको गौरवपूर्ण इतिहासको गोलचक्करमा मात्र रमेर आफनो दायित्व पूरा गर्न सक्दैनौ । बरु २१ औ शताब्दीको समाजवाद कसरी स्थापित गर्न सकिन्छ ? त्यसको स्वरुप कस्तो हुने ? समाजवादसम्म पुग्न कस्तो पार्टी,कस्तो नेतृत्व प्रणाली,कस्तो संगठनात्मक स्वरुप आवश्यक हुन्छ ? बृहत र गम्भीर बहस जरुरी छ । बैज्ञानिक समाजवादको निम्ति समाजवादी आधार तयार गर्दै अगाडि जाने पार्टीको नीति हुनुपर्दछ ।
५.पार्टीको नयाँ राजनीतिक कार्यदिशा बैज्ञानिक समाजवादको स्थापना गर्ने कार्यदिशाको संश्लेषणसहितको बैचारिक निर्माण गर्न र नयाँ बिचार संश्लेषणको निम्ति पार्टीलाई यथाशिघ्र महाधिवेशनको प्रक्रियामा लैजान जरुरी छ । टाउकोमा रोग लागेको बिरामीलाई खुट्टामा मल्हम लगाएर रोग निको हुन सक्दैन । तसर्थ पार्टीका सबै समस्याको समाधानको सुत्रपात बैचारिक र राजनैतिक दिशा स्पष्ट गरेर मात्र संभव छ । जसको निम्ति पनि महाधिवेशनको बहृत बहसमा पार्टीलाई लैजानु पर्ने आवश्यकता छ ।
संगठनात्मक रुपमा तत्काल गर्नु पर्ने कामहरु
१.पाटीृलाई जनआधारित सर्वहारा अग्रदस्ता बनाइ राख्न पार्टी सञ्चालनको स्पष्ट बिधि,प्रक्रिया र पद्धति लागू गर्न जरुरी छ । जनता र पार्टी कमिटिीद्धारा नियन्त्रित र निर्देशित पार्टी र नेतृत्व बनाउने ? वा बलियो नेताद्धारा नियन्त्रित,निर्देशिक र परिचालित पार्टी बनाउने ? संगठनात्मक रुपमा तलैबाट जनताको व्यापक संगठनात्मक तागतको बलमा मात्र बलियो,व्यवस्थित,संस्थागत र अनुशासित पार्टी निर्माण संभव छ । पार्टी प्रणालीलाई सस्थागत र व्यवस्थित बनाउनु आजको मुख्य चुनौती हो । स्थानीय तहको निर्वाचनले वडा र टोलसम्म संस्थागत पार्टी निर्माणको निम्ति बलियो आधार प्रदान गरेको छ । जसरी बलियो अनुशासित फौज र हतियार विना युद्ध जित्न सकिदैन,त्यसरी नै बलियो,संस्थागत र प्रतिबद्ध संगठनात्मक (बल) तागत विना निर्वाचन पनि जित्न सकिदैन भन्ने तथ्यलाई आत्मसाथ गर्न जरुरी छ ।
२. आज पार्टी आफनै तौलले थिचिएको छ । चार हजार भन्दा माथिको (केन्द्रीय समिति ) महाधिवेशन आयोजक समिति धान्न नसकेर पार्टी थिलथिलो भएको छ । तसर्थ संगठनात्मक बिधि,प्रक्रिया र संरचना विकास गर्न पनि तत्काल अव राष्ट्रिय महाधिवेशनको मिति तय गरी पार्टीलाई महाधिवेशनकै प्रक्रियाबाट संस्थागत र व्यवस्थित गर्नु जरुरी छ । महाधिवेशन अहिलेको अनिवार्य आवश्यकता हो ।
३.पार्टीको पहल र अगुवाईमा सिंहदरवारलाई गाउँ/नगरसम्म पुरयाऔ स्थानीय तहको निर्वाचन मार्फत । तर अव पार्टी भित्र पनि पेरिसडाँडा र लाजिम्पाटलाई पनि गाउँ गाउँसम्म पुरयाउन जरुरी छ । गाउँ नगरमामा हजारौ प्रचण्डहरु उत्पादन गर्ने योजनाबद्ध तयारी विना पार्टीले तलैबाट राजनैतिक पहल कदमी लिन सक्दैन । तसर्थ गाउँ नगरमा पेरिसडाँडा र लाजिम्पाटलाई पुरयाउन जरुरी छ ।
४.हामी संघीय संरचनामा गइसकेको र अधिकारसम्पन्न स्थानीय तह पनि निर्माण भइसकेको अवस्थामा अव जिल्लाको संरचना अनावश्यक बन्न गएको छ । तसर्थ पार्टीका सबै ७५ वटै जिल्ला कमिटीहरु बिघटन गर्नुपर्छ । केवल केहि समयको निम्ति जिल्ला सम्पर्क समिति वा समन्वय समितिको रुपमा सानो इकाई राखेर बाँकी सबै जनशक्ति स्थानीय तह र प्रदेशको कार्यकारी समितिमा समायोजन गर्नु जरुरी छ । यदि अव पनि जिल्ला पार्टी कमिटी कार्यकारी रहिरहने हो भने स्थानयि तह गाउँ नगरसँग नराम्रोसँग अन्तरबिरोधमा फस्न सक्ने खतरालाई वेलैमा सतर्क हुनु जरुरी छ । संविधानत नै जिल्ला कार्यकारी नरहने र केवल स्थानीय तह गाउँ पालिका र नगरपालिका कार्यकारी अधिकार सम्पन्न हुने व्यवस्था लागू भएकोले जिल्ला कमिटीहरु भंग वा बिघटन गर्नु जरुरी छ ।
५.पार्टीका सबै तहका अस्तव्यस्त केवल औपचारिकतामा सीमित,भद्रगोल र निष्प्रभावी,भद्दा पार्टी कमिटीहरु तत्काल बिघटन गरी पार्टी संगनात्मक कमिटी प्रणाली व्यवस्थित गर्न आजसम्मको संगठनात्मक संरचनामै आमूल परिवर्तन जरुरी छ । तत्काल तलैबाट सस्थागत पार्टी निर्माण गर्न गाउँपालिका र नगरपालिका कमिटीका सम्मेलनहरु यथाशिघ्र गर्नु जरुरी छ । पार्टी पुननिर्माण,सुदृढीकरण र संस्थागत गर्ने प्रक्रिया शुरु गर्न तुरुन्तै वडा,गाउँपालिका र नगरपालिकाका सम्मेलनहरुका मिति तय गरौ ।
संघर्ष,संयुक्त मोर्चा,स्थानीय तह परिचालन र आगामी निर्वाचनको तयारीको निम्ति गर्नु पर्ने कामहरु
सात सय ४४ वटै स्थानीय तह गाउँपालिका नगरपालिका र वडासम्म छायाँ सरकार गठन गरी सुशासन कायम राख्ने,भ्रष्टाचार बिरुद्ध खवरदारी गर्न,जनताका समस्याहरु उठान र समाधान गर्न,जनपक्षीय कामहरु गराउन,स्थानीय तहमा गएको अधिकारबारे आम जनतामा सचेतना फैलाउन,निर्वाचित जनप्रतिनिधिहरुलाई सहयोग,खवरदारी र सचेत गराउन आदि काम गर्ने गरी तत्काल स्थानीय तह चुनावका उम्मेदवार (हारेका)कै
१.नेतृत्वमा छायाँ सरकार निर्माण गर्नु पर्ने, स्थानीय तहमा संयुक्त मोर्चा निर्माण गरी स्थानीय प्रतिपक्षीय भूमिका निर्वाह गर्ने ।
२.प्रदेशसभा निर्वाचन र संघीय संसदको निर्वाचनको तयारीको निम्ति सबै सात वटै प्रदेशमा प्रादेशिक निर्वाचन घोषणापत्र तयारी गर्ने । मतदाता नामावली संकलन र फोटो खिचाउने कार्यलाई प्राथमिकतामा कार्यान्वयन गराउने । निर्वाचन क्षेत्र निर्धारण आयोग गठन तत्काल गर्न सरकारलाई दबाब दिने । प्रदेश र संघीय संसदमा उम्मेदवार हुने व्यक्तिहरु बारे समयमै छलफल र तयारी अगाडि बढाउने ।
३. सात सय ४४ वटै स्थानीय तहको निर्वाचनको मोर्चामा गएका सबैलाई पार्टीले प्रमाणपत्र उपलब्ध गराउनु पर्ने । निर्वाचनमा हारेका उम्मेदवारहरुलाई प्रेरणा,उर्जा र सहानुभुति दिइ मनोबल बढाउने कार्यक्रम सञ्चालन गर्ने । खास खास सामारिक महत्वका स्थानमा उम्मेदवार बनेकाहरुलाई मुख्य नेतृत्वकै टिमबाट सहानुभुति उत्साह र बधाई दिन फोन सम्पर्क वा भेटघाटको कार्यक्रम तय गर्ने ।
४.स्थानीय तह निर्वाचनमा बिजयी भएका उम्मेदवारहरुको निम्ति पार्टीले व्यवस्थित कार्ययोजना,निर्देशन दिइ काम गर्ने मेसो नजानेर निराश हुने खतरा वा गल्ती गर्नु भन्दा अगाडि नै सचेत गर्ने कार्यक्रम निर्माण गर्नु पर्ने । माओवादी केन्द्रका उम्मेदवारहरुले जितेका स्थानहरुमा अरु पार्टी भन्दा फरक मूल्य,मान्यता,कार्यशैली र नीति अपनाउँदा नयाँपन दिने गरी देशैभरी एकरुपता कायम गर्न नमूना कार्यक्रम सञ्चालन गर्ने । जसको निम्ति देशैभरीबाट स्थानीय तहमा निर्वाचित प्रमुख,उपप्रमुख र वडा अध्यक्षसम्मको राष्ट्रिय भेला गरी स्थानीय तह सञ्चालन निर्देशिका निर्माण गरिनु पर्दछ ।
५.पार्टी केन्द्र र सात वटै प्रदेश स्तरमा स्थानीय तह परिचालन बिभाग गठन गरी सबै तहमा भएका कामहरुको नियमित अनुगमन गर्ने,केन्द्रमा केन्द्रीय स्थानीय तह बिभाग गठन गरी जनप्रतिनिधिसँग समन्वय,सहयोग र दिशा निर्देश गर्ने ।
६.श्रावण मसान्तसम्ममा सबै सात सय ४४ वटै स्थानीय तहको बैठक बसाई निर्वाचन भएका स्थानीय तहको बृहत समीक्षा प्रतिवेदन तयार गर्ने । २ नम्बर प्रदेशको बाँकी स्थानीय तह निर्वाचनमा पार्टीको मुख्य शक्ति र नेतृत्व केन्द्रीत गर्नु पर्ने ।
७. १० बर्षे महान जनयुद्धका पहलकर्ता नेताहरु मोहन बैद्य नेतृत्वको पार्टी,बिप्लव नेतृत्वको पार्टी र बाबुराम भट्टराईको समूहसँग गम्भीर बहस र छलफलसहित सहकार्य,मोर्चावन्दी र पार्टी एकताको पहल अगाडि बढाउनु पर्ने । त्यस्तै अन्य प्रगतिशिल र मुद्दा मिल्ने पार्टी समूहहरुसँगको छलफललाई परिणाम मुखी बनाउँदै बृहत संयुक्त मोर्चा निर्माणको पहल स्थानीय,प्रदेश र केन्द्रसम्म अगाडि बढाउनु पर्ने ।