एमाले सत्तामा आए देश टुक्रिन्छ : श्रेष्ठ
काठमाडौं : संघीय समाजवादी फोरम नेपालका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली र सिके राउत एउटै सिक्काका दुई पाटा भएको आरोप लगाएका छन्।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सह-अध्यक्ष श्रेष्ठले यस्तो आरोप लगाउनु भएको हो। ‘सिके राउत र केपी ओली एउटै सिक्काका दुई पाटा हुन्, एमाले सत्तामा आए देश टुक्रिन्छ’, नेता श्रेष्ठले भन्नुभयो, ‘एमालेले अहिले डबल स्ट्याण्ड देखाइरहेको छ, शान्तिपूर्ण निकासको बाधक एमाले हो।’
क्लबको साक्षात्कारमा बोल्दै उहाँले एमाले यो युगकै सबैभन्दा प्रतिगामी पार्टी भएको समेत आरोप लगाउनु भएको छ। ‘राप्रपाले समेत संविधान संशोधन प्रस्तावमा समर्थन गर्ने प्रतिबद्धता जनाइसकेको अवस्थामा एमालेले संशोधनलाई रोक्ने प्रयास गरिरहेको छ’, श्रेष्ठले भन्नुभयो, ‘एमाले यो युगकै सबैभन्दा प्रतिगामी पार्टी हो।’
नेता श्रेष्ठले कुनै पनि पार्टीले अहिलेसम्म हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउनुपर्छ भनेर माग नगरेको दाबी गर्दै भन्नुभयो, ‘म पनि पार्टीको प्रतिनिधित्व गरेर विभिन्न वार्तामा सहभागी भएको छु, आजसम्म कुनै पनि पार्टीले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन माग गरेका छैनन्।’