दुई वर्षभित्र १५ प्रतिशत चुहावट नियन्त्रण
भक्तपुर : अत्यधिक विद्युत चुहावट हुने भक्तपुरमा पछिल्लो समय उल्लेखनीय रुपमा कमी आएको छ। ६३ प्रतिशतसम्म विद्युत चुहावट भएको भक्तपुरमा असारसम्ममा २८ प्रतिशतमा झरेको हो। नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रले मंगलबार पत्रकार सम्मेलन गरी भक्तपुरमा विद्युत चुहावटमा उल्लेखनीय कमी आएको जानकारी दिएको हो।
केन्द्रका प्रमुख विक्रम अमात्यले आर्थिक वर्ष २०७१/७२ मा ४३ प्रतिशतसम्म कमी आएको विद्युत चुहावट आर्थिक वर्ष २०७३/७४ असारमा २८ प्रतिशतमा झरेको बताउनुभयो।
‘दुई वर्षमा १५ प्रतिशत चुहावट नियन्त्रणमा आयो’, उहाँले भन्नुभयो, ‘मासिक रुपमा हुने चुहावट हिसाब गरिए असारमा १७ प्रतिशतमात्रै विद्युत चुहावट भएको छ।’
प्रमुख अमात्य भक्तपुरलाई विद्युत चुहावटमुक्त जिल्ला बनाउने आफ्नो लक्ष्य भएको बताउनुहुन्छ। यही रफ्तारमा विद्युत चुहावट नियन्त्रणमा आए आर्थिक वर्ष २०७४/७५ भित्रै भक्तपुरलाई विद्युत चुहावटमुक्त घोषणा गर्न सकिने उहाँको भनाइ थियो।
प्राविधिक चुहावटलाई गणना नगरिए भक्तपुरको विद्युत चुहावट २० प्रतिशतमात्रै हुनेछ। विद्युत प्रशारण गर्दा आठ प्रतिशतसम्म प्राविधिक चुहावट हुने गर्छ।
‘अप्राविधिक चुहावट शून्यमा झार्ने केन्द्रको लक्ष्य रहेको छ’, केन्द्र प्रमुख अमात्य भन्नुहुन्छ, ‘यसको लागि विद्युत चुहावट नियन्त्रण अभियानलाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिने भएका छौं।’
केन्द्रले भक्तपुरमा विद्युत चोरी नियन्त्रण गर्न विशेष अभियान नै सञ्चालन गरेको थियो। उक्त अभियानको क्रममा विद्युत चोरी गरेका धेरै ग्राहकलाई नियन्त्रणमा लिएर जरिवानासमेत गराएको थियो।
चुहावटबाट साढे दुई करोड राजस्व संकलन
केन्द्रले विद्युत चुहावट कारबाहीबाट मात्रै आर्थिक वर्ष २०७३/७४ मा एक करोड २१ लाख २७ हजार एकसय पाँच रुपैयाँ राजस्व असुलेको छ।
केन्द्रका लेखा अधिकृत घनश्याम श्रेष्ठले विद्युत चुहावट असुली, बक्यौता नबुझाएकाहरुको कालोसूची र लाइन काट्नेलगायतबाट दुई करोड ५९ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन भएको जानकारी दिनुभयो।
१३५ प्रतिशत महसुल संलकन
केन्द्रले आर्थिक वर्ष २०७३/७४ मा आफ्ना ३३ हजार पाँच सय ८४ ग्राहकबाट १३५ प्रतिशत विद्युत महसुल संकलन गरेको छ। केन्द्रले ५० करोड ६८ लाख ७० हजार रुपैयाँ विद्युत महसुल संकलन गरेको हो।
केन्द्रका लेखा अधिकृत श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७२/७३ मा ३१ करोड ७६ लाख ७० हजार रुपैयाँमात्रै विद्युत महसुल संकलन भएको थियो।
उहाँका अनुसार १६ करोड ३९ लाख १९ हजार रुपैयाँ बक्यौता उठाउन बाँकी छ।
सडक र मठमन्दिरको बक्यौता १० करोड
बक्यौता भने सडक बत्ती र मठमन्दिरमा प्रयोग भएको बत्तीको बढी रहेको छ।‘आर्थिक वर्ष २०७३/७४ सम्ममा सडक बत्तीको बक्यौता आठ करोड १८ लाख १३ हजार रुपैयाँ रहेको छ’, लेखा अधिकृत श्रेष्ठले भन्नुभयो, ‘भक्तपुरका मठमन्दिरमा प्रयोग भएको बत्तीको बक्यौता भने दुई करोड ७८ लाख रुपैयाँ रहेको छ।’
केन्द्रले घरायसी ग्राहकहरुबाट पनि दुई करोड ७० लाख ३९ हजार रुपैयाँ महसुल असुल्न बाँकी छ। त्यस्तै औद्योगिक प्रतिष्ठानको ४९ लाख ५९ हजार, व्यवसायिक फर्महरुको १२ लाख ४० हजार र गैरव्यवसायिक ग्राहकहरुबाट चार लाख ७९ हजार रुपैयाँ बक्यौता उठाउन बाँकी भएको लेखा अधिकृत श्रेष्ठले जानकारी दिनुभयो।
उहाँले केन्द्रको बाँकी बक्यौता संकलन गर्न ग्राहकहरुको तीनपुस्ते नामसहित पत्रपत्रिकामा कालोसूची प्रकाशन गर्ने कार्यलाई निरन्तरता दिइँदै आएको बताउनुभयो।
जसको कारण गएको आर्थिक वर्षमा एक करोडभन्दा बढी बक्यौता संकलन भएको उहाँको भनाइ थियो। केन्द्रले विद्युत चुहावट नियन्त्रण गर्न आर्थिक वर्ष २०७३/७४ मा करिब पाँच हजार ग्राहकको मुख्य लाइन सुधार र काठको मिटर बक्सको ठाउँमा प्लास्टिकको मिटर बक्स फेर्ने कार्य गरिएको जनाएको छ।
केन्द्रका अनुसार पछिल्लो समय विद्युत प्रशारण सुचारु भएकाले ट्रान्सफर्मरमा समेत कममात्रै क्षति भएको छ। आर्थिक वर्ष २०७२/७३ मा ६६ वटा ट्रान्सफर्मरमा क्षति पुगेकोमा आर्थिक वर्ष २०७३/७४ मा २७ वटामा मात्रै क्षति पुगेको केन्द्रका प्रमुख अमात्यले जानकारी दिनुभयो।