टासी दोर्जे रिम्पोछेको अन्त्यष्टि (फोटो फिचर)
गोरखाः काठमाडौंको स्वयम्भू टेर्गार गुम्बाका टासीदोर्जे रिम्पोछेको निधन भएको २८ दिनपछि मंगलबार अन्त्यष्टि गरिएको छ।
छ दिनसम्मको विधि विधान पूरा गरी मंगलबार गोरखाको सामागाउँस्थित उहाँ मुख्य लामा रहनु भएको कार्ची छ्योलिङ गुम्बामा अन्त्यष्टि गरिएको सामागाउँका वडा अध्यक्ष वीरबहादुर लामाले जानकारी दिनुभयो।
दाहसंस्कारका लागि उहाँलाई हेलिकोप्टरमार्फत सोमबार सामागाउँ लगिएको थियो।दाहसंस्कारका लागि काठमाडौंको सेतोगुम्बाका रिम्पोछे, टेर्गार गुम्बाका प्रमुख लामा रिम्पोछेहरु, सेराङ गुम्बाका रिम्पोछे, रिपुम गुम्बा, बिही, प्रोक, ल्हो र सामागाउँका गुम्बाका ख्योम्पो तथा मुख्य लामा गुरुहरुको उपस्थिति रहेको स्थानीय कर्मा छेवाङ लामाले जानकारी दिनुभयो।
साथै अन्तिम श्रद्धाञ्जलीका लागि साबिकका चार गाविसका बासिन्दाको समेत सहभागिता रहेको थियो।करिब डेढसय जना रिम्पोछे, ख्योम्पो, लामा गुरुहरुको पूजापाठ, जपध्यानपछि जलाएर टासीदोर्जेको अन्त्यष्टि गरिएको लामाले बताउनुभयो।
गोरखाको सामागाउँमा जन्मेका टासीदोर्जे रिम्पोछेको १०० बर्षको उमेरमा हालै निधन भएको थियो। ६५ बर्षको उमेरसम्म सामागाउँको कार्ची छ्योलिङ गुम्बाको प्रमुख लामाको रुपमा काम गर्नुभएका रिम्पोछे बाँकी जीवन टेर्गार गुम्बामा बिताउँदै आउनु भएको थियो।
रिम्पोछेको एक छोरी र दुई नातिहरु छन्। नातिहरु दुवै जना रिम्पोछेहरु हुन् । योङ्गे मिङ्ग्यूर रिम्पोछे र छ्योङे रिम्पोछे दुवैजना तेर्गार गुम्बाका प्रमुख लामाहरु हुन्।