प्रधानमन्त्री देउवाजी, हुकुमले देश चल्दैन !
प्रधानमन्त्री शेरबहादुर देउवाले गत आइतबार मन्त्रिपरिषद्को बैठकपछि निर्देशन दिएका छन् । यसलाई गम्भीर बनेर विवेचना गर्ने हो भने जुन शैलीमा उनले निर्देशन दिएका छन्, त्यसलाई गणतान्त्रिक शासकको हुकुम भन्नु उपयुक्त हुन्छ किनभने हुकुमको पालना हुनुपर्छ, विचार-विमर्श, छलफलसमेत गर्न पाइँदैन ! शुक्रबार राजधानी उपत्यकामा मात्र दुईवटा दुर्घटनाका खबर आए । ठूलो पानी परेपछि दुईजना ससाना नानी पानीको खाल्डोमा परे ।
नेपालटारकी एक बालिका तीन कक्षामा पढ्ने विनिता फुयालको त इहलीला नै भयो भने अर्की बालबाल बाँचिन् ! किनभने बटुवाहरूले सामाखुसीकी सत्या सापकोटाको उद्धार गरे । सरकारका जिम्मेवार निकायको लापरबाहीका कारण कलिलो उमेरमै विनिताले जीवन गुमाउनुपर्यो । यी दुवै खबर सामाजिक सञ्जालहरूमा भाइरल बन्यो ।
खोलामा जस्तै मूल सडकमा पानी बगिरहेको सुशीला मगरले मोबाइलबाट खिचिरहेकी थिइन् । यहीकारण, ती बालिका कसरी सामाखुसीमा बेपत्ता बनेकी थिइन्, सबैले हेर्न पाइयो । किनभने त्यो भिडियोलाई तत्कालै श्रवणकुमार आलेले फेसबुकमा पोस्ट गरिदिए ।
सत्या सापकोटा पानी जमेर जलमग्न भएको सडकमा हिँड्दाहिँड्दै खाल्डोमा चुर्लुम्मै डुबिन् र बेपत्ता भइन् । मानिसहरू चिच्याउन थाले । दौडादौड सुरु भयो र एकैछिनमा डुबेकी सत्या पचास मिटरजति तल नालीमा बगिरहेको पो देखियो र बग्दाबग्दै एकजना आँटिला युवाले उनको उद्धार गरे ।
भिडियोमा देखिन्छ, पानी जमेको सडकमा स्कुले ब्याग बोकेर अडिइअडिई हिँडिरहेकी सानी नानीलाई भूतले पानीमुनिबाट तानेजसरी भित्रैबाट तान्यो ! तत्कालै ती नानी बेपत्ता भइन् । वरिपरि भएका मानिस आत्तिएर कराउन लागे ।
जहाँ ती नानी बिलाएकी थिइन्, त्यहाँ त पानीको भुमरी परेको देखिन थाल्यो । त्यही छेउमा र वरिपरि भएका व्यक्ति बिलखबन्दमा परे, के गर्ने के नगर्ने ? कोही कराउन थाले, कोही चिच्याउन थाले, कोही ट्वाल्ल परे, हैन यो के अचम्म भएको ?
तत्कालै बेपत्ता भएकी नानीलाई त खहरेजसरी बगिरहेको नालीले पचास मिटरजति टाढा हुत्याएर बगाइरहेको पो छ ! यो सबै घटना एकनिमेषमै भयो । नानी तल बगिरहेको त्यो दृश्य यति भयावह लाग्छ छ कि युट्युब हेर्नेहरूको आङ जिरिंग हुन्छ । मनले हतास खान्छ । अझ त्यहीं भएकाहरूको अवस्था कस्तो भएको थियो होला, अनुमान पनि गर्न सकिँदैन ।
यो सबै मोबाइलबाट खिचिएको रेकर्ड युट्युबमा राखिएपछि सर्वत्र 'सेयर' भयो । यो भिडियो भाइरल नै बन्यो । संसारभर हाम्रो राजधानी काठमाडौंका सडकको अवस्था त यस्तो छ, अन्यत्र कस्तो होला भनिरहनैनपर्ने भयो ।
नेपाल टुरिजम बोर्डले विदेशका बसमा एकदुई पोस्टर टाँसेर पर्यटन प्रवद्र्धन गरेको गफजस्तो होइन वास्तविकता । यो एउटै युट्युबले देशी-विदेशी सबैलाई नेपालको अवस्थाबारे छर्लंग नै पारिदियो । साथै, यो भिडियोले सरकार नाम गरेको लापरबाहीको पोकोको हैसियतलाई पनि संसारभर प्रदर्शन गरिदियो !
प्रधानमन्त्री नै दर्शक गएको शनिबार यही युट्युबका दर्शक बनेछन्, प्रधानमन्त्री शेरबहादुर देउवा ! आइतबार बिहानको मन्त्रिपरिषद् बैठकमा युट्युबको चर्चा गर्दै स्वभावअनुसारको रोष प्रकट गरेछन् ।प्रधानमन्त्रीले भनेको भनेर उनको निजी सचिवालयको तर्फबाट भनियो, काठमाडौंका सडक हुन् कि पोखरी चिन्न नसकिने भएका छन् । स्कुले विद्यार्थीहरू हिँड्दाहिँड्दै ढलमा पसेका छन् । खाल्डाखुल्डीले महानगर भन्न लाज लाग्ने भएको छ । तपाईंहरू के गरिरहनुभएको छ ? तत्काल पुर्नुहोस् । त्यसको लागि कति बजेट चाहिन्छ, म उपलब्ध गराउँछु !
निजी सचिवालयले भनेको छ, सरोकारवाला निकायका प्रमुखहरूलाई तत्काल फिल्डमा खटिएर समस्या समाधान गर्नसमेत प्रधानमन्त्रीले निर्देशन दिइसकेका छन् ।
१५ दिनमा अपूर्व काम गर्नुपर्छ भन्ने भाषण गरेर प्रधानमन्त्री र उनको निजी सचिवालय खुसी हुनु एकदमै गलत हो । 'मुतको न्यानो' नाटकमा प्रधानमन्त्री सामेल हुनु हुँदैन । यसले ब्याकफायर मात्र गर्छ ।
प्रधानमन्त्रीले तिनलाई बोलाएर भनेका छन्, आजै गएर आफ्ना मातहतकालाई निर्देशन दिनुहोस् । बढीमा १५ दिनभित्र काठमाडौं उपत्यकाका खाल्डाहरू पुर्नुहोस् । फुटेका ढलहरू बनाउनोस् । ढलेका बिजुलीका पोल गाड्नोस् । मैले अब १५ दिनभित्र उपत्यकामा खाल्डाखुल्डी देख्न नपरोस् ।
के भएको छ मलाई दैनिक खबर गर्नुहोस् !
प्रधानमन्त्रीको तर्फबाट भनेर निजी सचिवालयले दाबी गरेको छ, नेपाल टेलिकम, सडक विभाग, खानेपानी र विद्युत् प्राधिकरणलाई समन्वय गरेर काम गर्न पनि देउवाले निर्देशन दिएका छन् । एउटै खाल्डो खनेर सम्पन्न गर्न सकिने कामका लागि किन तीनपल्ट खाल्डो खनिन्छ हँ ? यस्तो अन्याय पनि दोहोर्याइरहने हो ? अबदेखि समन्वय गरेर काम गर्न थाल्नुहोस् ।
दुला दुईवटा
दुईजना सडक इन्जिनियरसँग प्रधानमन्त्रीको निर्देशनबारे बेग्लाबेग्लै कुरा गर्दा दुवैजना मज्जासँग हाँसे । हाँसिरहे ! उनीहरूको एउटै व्यवहार देखेर सोधें, के हो हाँसेरै टार्ने ? जवाफ दिनुपर्दैन ?सडक विभागमा जीवनभर काम गरेर पनि घुसखोरीलाई अपराध मान्ने ती बूढा इन्जिनियरले भने, नेता-मन्त्री-प्रधानमन्त्रीका कुरालाई पनि जवाफ दिएर सकिन्छ भनेर हाँसेरै टार्न खोजेको थिएँ । तर तिमीले करै गर्यौ । सुन यसको जवाफ । उनी साँच्चै कडा रूपमा पो प्रस्तुत भए ।
हाँसिरहेका बयोवृद्ध इन्जिनियरले गम्भीर बन्दै भने, जानुहोस् तपाईंको प्रधानमन्त्रीलाई मैले जीवनभर लगाएर कमाएको ज्ञान सुनाउनुस् । त्यो के भने संसारमा जम्मा दुईवटा प्वाल हुन्छन् !छक्क परेर उनलाई हेरिरहेको थिएँ, राँकिदै भन्न थाले- बूढा इन्जिनियर बहुलायो भन्ठान्नुभएको होला । म बहुलाएको छैन, बहुलाहा तपाईंका नेताहरू भएका छन् । होइन भने यस्तो उल्लुके पट्ठे भएर बोल्ने र निर्देशन दिने थिएनन् । थोरै बुद्धि भएको भए पनि यस्तो बहुलट्ठी काम मेरो विचारमा कदापि गर्ने थिएनन्, प्रधानमन्त्री देउवाले ।
कुरालाई अन्यत्र किन मोड्नु हुन्छ ? तपाईंका दुईवटा प्वालका बारेमा भन्नुस् न ! पुलुक्क हेर्दै उनी राँक्किएर भन्न थाले- हो, संसारमा जम्मा दुईवटा मात्र दुला हुन्छन्, पहिलो तपाईंको प्रधानमन्त्रीको मुख र दोस्रो, सडकमा परेको दुलो !अब भन्नुहोस् पत्रकार महोदय, कुन दुलो टाल्न चाहनुहुन्छ ? तपाईंको प्रधानमन्त्रीको कि सडकको ? तपाईंको प्रधानमन्त्रीको प्वाल टाल्ने हो भने सडकको प्वाल झन् ठूलो हुन्छ र सडकको खाल्डो पुर्नुहुन्छ भने तपाईंको प्रधानमन्त्रीको दुलो टालिँदैन !
भन्नुहोस्, कसको दुलो टाल्ने ? सडकको टाले सडक ठीक हुन्छ तर प्रधानमन्त्रीको दुलो टालिँदैन । प्रधानमन्त्रीको दुलो टाल्ने हो भने सडकको दुलो टालिँदैन । बल तपाईंकै प्रधानमन्त्रीको कोर्टमा छ, आगे तपाईंको मर्जी ! तर महत्वपूर्ण एउटै कुरो भने कहिल्यै नबिर्सनुहोस् कि दुवै दुला यो दुनियाँमा एकैपल्ट टालिन सक्दैनन् !
प्रविधिको कुरा
अर्का इन्जिनियर भने नेपालमा केही गरे पनि इमानदार भएर काम गर्न पाइएन भनेर विदेश पलायन भएका व्यक्ति हुन् । ०४६ सालको जनआन्दोलनमा प्रजातन्त्र स्थापना गर्न पूर्णरूपमा होमिएका इन्जिनियर देवेन्द्र दाहाल महोत्तरीको गौशालानजिकका हुन् । काठमाडौंमा पनि गौशालामै बस्थे ।पञ्चायतकालमा महोत्तरीका चर्चित कम्युनिस्ट नेता आफ्नै पिता कृष्ण दाहाललाई औंलो ठड्याइरहन्थे, भन्ने र गर्ने कुरामा विभेद देखियो भने सधैंलाई सकिनुहुन्छ । बोलेको कुरा पूरा गर्नुहोस् ।
पहिला थाइल्यान्डको सडक विस्तारमा र पछि बेलायतको लन्डनमा सडक इन्जिनियरिङको काम गरिरहेका देवेन्द्रसँग अत्याधुनिक सूचना प्रविधि स्काइपमार्फत संवाद भयो । उनलाई प्रधानमन्त्री शेरबहादुरले १५ दिनभित्र सडकका खाल्डाखुल्डी पुर्ने र ढल निकास चुस्त पार्न दिएको निर्देशनबारे सोधेपछि उनकै शैलीले खित्खिताउँदै हाँसिनसक्दै भन्न थाले, १५ दिन होइन, १५ महिना लगाएर काठमाडौं उपत्यकाका सडक मर्मतको काम तदारुकताका साथ गर्ने हो भने पूरा गर्न सकिएला, नत्र भने सकिँदैन !
जहाँसम्म १५ दिनको कुरा छ, यो अवधिमा कहाँ कुन स्तरको सडकमा के भएको छ, त्यसलाई व्यवस्थित गर्न केकस्तो किसिमको मर्मत गर्नुपर्छ र खर्च कति लाग्छ भन्ने लगत तयार पारी प्रधानमन्त्रीको कार्यालयमा पेस गर्न र मर्मत सुधार निर्माण गर्न लाग्ने समयसहितको लिखत सम्बन्धित निकायलाई पेस गर्न र त्यसलाई हेरेपछि प्रधानमन्त्रीबाट आदेश गर्नको लागि मात्र दुई हप्ता उपयुक्त हुन्छ !
यति भनिसकेपछि इन्जिनियर दाहाल पनि रन्किए । उनले भने, हाम्रो देशमा गणतन्त्र आएपछि झन् हुप्रबाट चल्नेहरू बढेछन् । पहिला राजा यस्तै हुकुम दिने गर्दथे । ज्ञानेन्द्रको प्रत्यक्ष शासनको बेलाका उनका हुकुमहरू नालीमा सुकेको कसलाई थाहा छैन ? त्यसकै नक्कल गणतन्त्रका शेरबहादुरले किन गरेका होलान् ? देउवाले देउवालाई न्याय दिने गोर्खाका राजा ज्ञानेन्द्रको संगतको भूत अझै झरेका छैनन् कि के हो ?
प्रधानमन्त्री देउवाले बुझून्, आदेशले देश चल्दैन, सिस्टमले मात्र चल्छ ! नेपालको सडक निर्माणका ऐननियम खासमा बेलायती पद्धतिको फोटोकपी नै छ, पालना भने पटक्कै हुँदैन । तर प्रधानमन्त्री १५ दिनमा छुमन्तर झैं गर्छु भनेर बोल्नु उचित होइन । उनी त बोले, चाकरबाजबाट वाहावाही पनि पाए । तर आज उनले बोलको
१५ दिन अब ११ दिनमात्र बाँकी छ !
कानुनको पालना गर्दै कामलाई अगाडि बढाएको भए दिनगन्ती गर्नुपर्ने नै थिएन । सडक व्यवस्थापनको जिम्मेवारी लिएको मन्त्रालय, मन्त्री, इन्जिनियर, व्यवस्थापक, निर्माणकर्ताहरूलाई किन तिमीहरूले यस्तो लापरबाही गरेका भनेर प्रधानमन्त्रीले उभ्याएको भए सत्य कुरा बाहिर आइहाल्थ्यो ! तस्बिर आफैं स्पष्ट भइहाल्थ्यो ! अनि उनले दोषीलाई दण्ड र असललाई पुरस्कार दिने सुरुआत गर्न पाउँथे ।मलाई यिनीहरूको तालामाला देख्दा त के लाग्न थालेको छ भने, देवेन्द्रले सबै नेपालीको मन छुने कुरा व्यक्त गरे- शेरबहादुरलाई देश कसरी चलाउने तरिका थाहा छैन, नौ महिना शासन कसरी टिकाउने कुरा मात्रै थाहा छ।
इन्जिनियरिङको सामान्य ग्रामरको इमानदारीलाई मैले भाकेर भन्ने हो भने दाहालले लन्डनबाटै भने, प्रधानमन्त्री शेरबहादुरको पन्ध्र दिनको कुरा छोडौं, उनको नौमहिने कार्यकालमा पनि यो काम सम्भव छैन यदि इन्जिनियरिङ समाधान, डिजाइनर उचित खर्च गरेर टिकाउ काम गर्ने हो भने ।
इन्जिनियरले गरेको कामको पनि निगरानी गरिनैपर्छ । नियतवश बद्मासी गरेको छ भने इन्जिनियर, ठेकेदार, जाँचकी सबैलाई उचित दण्ड दिइहाल्नुपर्छ । तर नियत राम्रो राखेर काम गर्दा पनि बिग्रेको छ भने प्रधानमन्त्री, मन्त्रीले बाधा-अड्काउ फुकाउनुपर्छ । तर हाम्रो देशमा यो परिपाटी छैन र यसका दोषी हाम्रा नेताहरू हुन् ।
१५ दिनमा अपूर्व काम गर्नुपर्छ भन्ने भाषण गरेर प्रधानमन्त्री र उनको निजी सचिवालय खुसी हुनु एकदमै गलत हो । 'मुतको न्यानो' नाटकमा प्रधानमन्त्री सामेल हुनु हुँदैन । यसले ब्याकफायर मात्र गर्छ ।
के प्रधानमन्त्री देउवाको ध्यान यसतर्फ जाला ?
मसँग त अन्तर्वार्ता गर्नुभयो, कृष्णमुरारीजी । इन्जिनियरले भनेको भनेर यी कुरा लेख्नु पनि होला तर तपाईंका प्रधानमन्त्रीले यो पढ्दा पनि पढ्दैनन् । इमानदार, सक्षम इन्जिनियरका कुरा पनि सुन्दैनन् । उनका चाकरबाज, घेरावाल र निजी सचिवालयले पनि यस्तो कुरो आयो भनेर ब्रिफ पनि गर्दैनन् । उनीहरूलाई ठूलाठूला ब्रिफ केसवालाहरूकै र ब्रिफकेस टक्र्याउने इन्जिनियर, ठेकेदार, डन, माफियाका ब्रिफकेस थाम्दै र स्याहार्दै फुर्सद छैन । यसको पछिल्लो उदाहरण देखिरहनुभएकै होला सुरक्षा निकाय र संरचनामा भएको बढुवा प्रकरण !