लिग नहुँदा ५० लाख बजेट फ्रिज
काठमाडौं : घरेलु फुटबल विकासको आधारस्तम्भ मानिने राष्ट्रिय लिग सञ्चालनका लागि सरकारले बर्सेनि ५० लाख रुपैयाँ बजेट विनियोजन गर्ने गरेको छ। तर, अखिल नेपाल फुटबल संघ (एन्फा) ले समयमै ‘ए' डिभिजन लिग फुटबल सञ्चालन गर्न नसक्दा लिगका लागि विनियोजन गरिएको ५० लाख रुपैयाँ बजेट फ्रिज भएको छ। लिग विगत तीन वर्षदेखि अवरुद्ध हुँदा अघिल्लो वर्ष पनि ५० लाख रुपैयाँ फ्रिज भएको थियो। लिग नहुँदा विभागीय टोलीबाहेक अन्य क्लबका खेलाडी पलायन हुँदै गएका छन्। कतिपय खेलाडी विदेश पलायन भएका छन् भने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली फुटबलको स्तर खस्किएको छ।
एन्फाले बारम्बार ‘ए' डिभिजन लिग सञ्चालन गर्ने जनाए पनि अन्तिममा कार्यक्रम गर्न नसक्दा लिगको बजेट फ्रिज भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बताए। ‘लिग सञ्चालन गर्छौं भन्दै एन्फाले बारम्बार भन्यो तर, वर्षको अन्तिमसम्म पनि कार्यक्रम गर्न सकेन। एक साताअघि मात्र एन्फाका पदाधिकारी लिग गर्छौं भनेर बजेट माग्न आउनुभयो। खेल तालिका बनेकै थिएन त्यसैले राखेपले बजेट दिन सकेन', विष्टले भने।
‘हरेक शीर्षकको बजेटको काम असार मसान्तभित्र गरी सक्नुपर्ने हुन्छ। बजेटका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) ले पनि निकासा दिनुपर्छ। राखेपले मात्र चाहेर एन्फालाई पैसा दिन मिल्दैन। एन्फाबाट असारको अन्तिममा आएर रकम माग्ने काम भयो। मैले दिन सकिन्न भनेँ। कार्यक्रम गरेमात्र पैसा पाउने हो, कार्यक्रम नै नगरी बजेट माग्नु आफैंमा लाजमर्दो काम भयो', विष्टले भने।
एन्फाले २०७४ सालको लिग गर्छु भनेकाले चालू आर्थिक वर्षमा भने लिगका लागि बजेट नरोकिने पनि विष्टले बताए। एन्फाले पछिल्लो पटक २०७०÷७१ सालमा लिग सञ्चालन गरेको थियो। उक्त लिग २०७२ सालको भूकम्पका कारण असोजमा मात्र सकिएको थियो। एन्फाका महासचिव धीरेन्द्र प्रधानले लिग नै नभएको वर्षको पैसा आफूहरूले नमागेको बताए।
‘एन्फाले विभिन्न प्राविधिक कारणले लगातार लिग सञ्चालन गर्न नसकेको हो। लिग नगरी पैसा लियो भने फस्र्योट गर्न गाह्रो हुन्छ। वैशाखदेखि सुरु गर्न लागेको लिग स्थानीय चुनावका कारण रोकियो। अब एन्फाले आगामी भदौदेखि लिग सुरु गर्न लागेको छ। त्यसको निर्णय आगामी कार्यसमितिको बैठकले गर्नेछ', प्रधानले भने। लिगका लागि निवेदनसहित राखेपमा पैसा माग्न आफू स्वयं गएकाले आगामी लिगका लागि आर्थिक सहयोग गर्न राखेपका सदस्यसचिव तयार रहेको पनि प्रधानले बताए।
एन्फाले लिगलाई तीन वर्षदेखि विभिन्न बहानामा रोक्दै आएको थियो। एन्फाले गत वर्षको मंसिरबाट लिग सञ्चालन गर्ने जनाएको थियो। त्यतिबेला प्राविधिक कारणले रोकिएको लिग पुनः वैशाख १५ गतेदेखि गर्ने जनाएको थियो। एन्फाले स्थानीय निर्वाचनको बहानामा लिगलाई फेरि अनिश्चित बनाएको हो। सरकारले पुरुष लिगका साथै महिला लिगका लागि पनि वार्षिक २५ लाख रुपैयाँ दिने गरेको छ। महिला लिग भने केही समयअघि पाल्पा र स्याङ्जामा आयोजना गरिएको थियो।