छोरो जिताउन लैनो गाई बिक्री
उर्लाबारी : नेपाल आइडलका प्रतिस्पर्धी निशान भट्टराईको ‘भोटिङ’ प्रचारका लागि घरको लैनो गाई बिक्री गरिएको छ । मोरङको उर्लाबारी नगरपालिका ७ का २१ वर्षीय निशानका बुवा नित्यानन्दले छोराको प्रचारका लागि लैनो गाई बिक्री गरेका हुन् । ‘घरमा उन्नत जातको होलिस्टेन गाई थियो’, नित्यानन्दले भने, ‘आइडलको प्रतिस्पर्धी बनेर अगाडि बढिरहेको छोरालाई ‘भोटिङ’का लागि खर्च अभाव भएपछि बिक्री गर्नुप¥यो ।’ उनका अनुसार दुई साताअघि मात्रै ब्याएको गाई ६० हजार रुपैयाँमा बिक्री गरिएको हो ।
भट्टराईले त्यही पैसा खर्च गरेर छोरालाई नेपाल आइडल बनाउन भोट माग्ने काम भइरहेको बताए । छोरो आइडल बन्न सकोस् भनेर त्यही पैसा खर्चेर भोट माग्ने काम भइरहेको उनको भनाइ छ । सामान्य परिवारका निशान नेपाल आइडलका प्रतिस्पर्धी हुन् । ‘छोराका लागि घरको गाई बिक्री गरेर खर्च जुटाउनुप¥यो’, उनले भने, ‘खर्च जुटाउने कुनै माध्यम नभएपछि दूध दिइरहेको गाई सस्तैमा बिक्री गरियो ।’
उनी तुल ब्यानर, पर्चा पम्प्लेट र स्थानीय सञ्चार माध्यम एवं सामाजिक सञ्जालको प्रयोग गरेर छोरालाई भोट माग्ने काम गरिरहेका छन् । नित्यानन्दले भने, ‘तपाईंहरूको भोटले एउटा प्रतिभालाई सहयोग पुग्नेछ भनेर आग्रह गरिरहेको छु ।’ सबैले निशानप्रति देखाएको माया र सद्भावले आफूलाई खुसी लागेको उनले बताए । परिवारका दुईमध्ये निशान कान्छा छोरा हुन् । २०५३ साल जेठ २९ गते जन्मिएका उनले कक्षा १२ सम्म उर्लाबारीकै भृकुटी मोडल एकेडेमीमा अध्ययन गरे । अहिले उनी काठमाडौंको शंकरदेव क्याम्पसमा बीबीएस अध्ययन गरिरहेका छन् ।
निशानको गीतसंगीतप्रतिको लगाव देखेर भृकुटी मोडल स्कुलले संगीत कक्षा नै चलाउन सुरु गरेको थियो । विशाल राई निशानका पहिलो संगीत शिक्षक हुन् । शिक्षक राईका अनुसार सानै उमेरदेखि गीतसंगीतप्रति निशान मेहनती थिए । ‘जुनसुकै बेला पनि गुनगुनाइरहने निशानको कार्यक्रम छ भनेपछि दर्शकको ओइरो लाग्थ्यो’, राईले भने, ‘भविष्यमा होनहार कलाकार भएर निस्कने क्षमता उनमा छ ।’ अहिले मनोजराज शिवाकोटीसँग संगीत सिकिरहेका उनले यसअघि विशाल राई, यशोधा शाक्य र कमला खनालसँग संगीत सिकेका थिए । निशान बिहानी कला केन्द्र उर्लाबारीका विद्यार्थी हुन् ।
उर्लाबारीकै निकिता चाण्डकले भर्खरै मिस नेपालको उपाधि हात पारेकी थिइन् । उर्लाबारीका निशानलाई जिताउन उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई ‘भरत’ को संयोजकत्वमा १५ सदस्यीय ‘निशान जिताउ अभियान’ समिति गठन गरिएको छ । अन्नपूर्ण मिडिया नेटवर्कले एपीवान टेलिभिजनमार्फत आइडल प्रस्तुत गरिरहेको छ ।