दुई दिनदेखि नेपालगन्जका सबै अस्पताल बन्द
नेपालगन्ज: बरिष्ठ चिकित्सक डा. श्याम सुन्दर यादव माथि हातपात र अस्पतालमा तोडफोडको विरोधमा चिकित्सकहरुले बाँकेका सबै अस्पताल बन्द गरेका छन्। नेपाल चिकित्सक संघ भेरीको आह्वानमा मंगलबारदेखि अस्पतालको आपतकालीन सेवा बाहेक सबै सेवा बन्द गरिएको छ।
नेपालगन्जका मेडिकल कलेज, निजी अस्पताल र बन्द गरिएका छन्। संघका आजीवन सदस्य एवं भेरी अञ्चल अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा. यादवमाथि आक्रमणको प्रयास भएको र आक्रमण प्रयास गर्ने ब्यक्तिलाई कारवाही नभएको भन्दै भेरी अंचल अस्पतालका चिकित्सकले ओपीडी सेवा समेत बन्द गरेका हुन्।
डा. यादवले संचालन गरेको ‘माँ जानकी' अस्पतालमा विरामीका आफन्तले आक्रमण प्रयास गरेको र कारवाहीको माग गर्दै किटानी जाहेरी दिँदासमेत बेवास्ता गरिएकाले सुरक्षाको माग गर्दै आन्दोलन शुरु गरिएको संघका सचिव डा.आरके झाले जानकारी दिनुभयो।
विज्ञप्ती जारी गर्दै उनले चिकित्सकमाथि आक्रमणको प्रयास गर्नेलाई कारवाही र सुरक्षा व्यवस्था नमिलाएसम्म सेवा ठप्प पार्ने चेतावनी दिएका छन्। गत असार २८ गते माँ जानकी अस्पतालका चिकित्सक यादवमाथि दुव्र्यवहार भएको थियो ।
संघले सो घटनामा सन्दीप सिंह, यादव बस्याल, कमल शाही र महेश खतिवडाको नाममा किटानी जाहेरी दिएको छ । कोहलपुर नगरपालिका १० का ४९ बर्षिय नारायण भट्टराईलाई बैशाख २९ गते उपचारका लागि नेपालगन्जको माँ जानकी अस्पतालमा भर्ना गरिएको थियो ।
डा. यादवले अन्यत्र रिफर गरेपछि उहाँलाई भारतको लखनउका बिभिन्न अस्पताल हुदै, नेपालगन्ज मेडिकल कलेज र अन्त्यमा राजधानीको बि एण्ड बि अस्पतालमा उपचारका लागि पुर्याउदा चिकित्सकले भट्टराईको खुट्टा काट्नु परेको थियो । बिरामीको खुट्टा काटेपछि आक्रोशित स्थानीय माँ जानकी अस्पतालपुग्दा घटना भएको थियो ।
डा. श्यामसुन्दर यादवकी छोरी डा. अनितालाई समेत धम्की दिइएको दावी चिकित्सक संघको छ । यसैबीच चिकित्सक संघको आन्दोलनप्रती नसिंङ संघले पनि ऐक्यवद्धता जनाएको छ । अस्पतालका सेवा बन्द भएपछि उपचारका लागि टाढा–टाढाबाट नेपालगन्ज आएका बिरामी र तिनका आफन्तले सास्ती भोग्नुपरेको छ । जसले विरामीहरु विचल्लीमा परेका छन् ।