भक्तपुर पुग्ने पर्यटक ९० प्रतिशतले वृद्धि
भक्तपुर: भक्तपुर भ्रमण गर्ने पर्यटकहरुको संख्यामा ९०.७८ प्रतिशतले वृद्धि भएको छ।२०७२ वैशाख १२ र त्यसपछिका पराकम्पले ठप्प हुन पुगेको भक्तपुरको पर्यटन पछिल्लो समय तंग्रिँदै आएको हो।
भक्तपुर नगरपालिकाका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा ९५ हजार ५६ जना बाह्य पर्यटकहरु भक्तपुर पुगेका थिए । गएको आर्थिक वर्षमा भने एक लाख ८१ हजार तीन सय ५० जना पर्यटक भक्तपुर नगर पुगेका हुन् । जुन ८६ हजार दुई सय ९४ अर्थात ९०.७८ प्रतिशतले वृद्धि हो।
भक्तपुर नपाका पर्यटन अधिकृत गौतमप्रसाद लासिवाले गएको वर्ष पर्यटन सेवा शुल्कबाट नपाले १९ करोड ९५ लाख २८ हजार आम्दानी गरेको जानकारी दिनुभयो। आर्थिक वर्ष २०७२÷७३ मा भने १० करोड ९२ लाख ७५ हजार रुपैयाँमात्रै आम्दानी भएको उहाँको भनाइ थियो।
नपाले भक्तपुर नगर प्रवेश गर्ने पर्यटकहरुसँग करिब १४ वटा नाकाबाट शुल्क उठाउँदै आएको छ । नपाले चीनसहित दक्षिण एसियाली मुलुकका पर्यटकहरुसँग प्रतिव्यक्ति पाँच सय रुपैयाँ शुल्क लिँदै आएको छ।
त्यस्तै तेस्रो मुलुकका पर्यटकहरुसँग प्रतिपर्यटक एक हजार पाँच सय वा पन्ध्र डलर शुल्क उठाउँदै आएको छ।जसअनुसार गएको वर्ष एक लाख आठ हजार आठ सय ५३ जना तेस्रो मुलुकका पर्यटकहरु भक्तपुर पुगेको पर्यटन अधिकृत लासिवाले बताउनुभयो।
यो संख्या आर्थिक वर्ष २०७२÷७३ को तुलनामा ७६.१९ प्रतिशतले वृद्धि हो।चीनसहित सार्क मुलुकका पर्यटकहरु भने आर्थिक वर्ष २०७२÷७३ को तुलनामा गएको वर्ष ११७.६५ प्रतिशतले वृद्धि भएको उहाले जानकारी दिनुभयो।
‘चीनसहित सार्क मुलुकका पर्यटकहरु भने ७२ हजार चार सय ९७ जनामात्रै भक्तपुर पुगेका छन्’, उहाँले भन्नुभयो, ‘उनीहरुबाट नपाले तीन करोड ६२ लाख ४८ हजार पाँच सय रुपैयाँ आम्दानी गरेको छ।'
पर्यटन सेवा शुल्क भक्तपुर नपाको आन्तरिक आम्दानीको प्रमुख स्रोत हो। पर्यटन सेवा शुल्कबापत उठेको रकमबाट नै ६ वटा कलेज सञ्चालनसँगै सम्पदा संरक्षण गर्दै आएको नपाले दावी गर्दै आएको छ।
विदेशी मुद्रा आर्जनको दरिलो माध्यम
पर्यटन सेवा शुल्कबाट भक्तपुर नपाले विदेशी मुद्रासमेत राम्रोसँग आर्जन गर्दै आएको छ। भक्तपुर नपाले पर्यटन सेवा शुल्कबाट अमेरिकी डलर आर्जन गर्छ । आर्थिक वर्ष २०७३÷७४ मा ५६ हजार चार सय ९० रुपैयाँ अमेरिकी डलर आर्जन गरेको पर्यटन अधिकृत लासिवा बताउनुहुन्छ ।
उहाँका अनुसार भनपाले भक्तपुर पुगेको पर्यटकहरुबाट प्रत्यक्ष रुपमा ५० हजार दुई सय २० र ट्राभल एजेन्सीहरुको भौचरबाट ६ हजार दुई सय ७० अमेरिकी डलर आर्जन गर्न सफल भएको हो।आर्थिक वर्ष २०७२÷७३ मा भने ४५ हजार एकसय ५० मात्रै अमेरिकी डलर आर्जन गर्न सकेको थियो।