श्राद्धको प्रसाद खाँदा ५० जना बिरामी
नुवाकोट: बेल्कोटगढी नगरपालिका-५ पिप्लेमा श्राद्धको प्रसाद खाएका ५० जना बिरामी परेका छन्। बिरामीमध्ये १० जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि काठमाडौं लागिएको छ।
पिप्लेका भोजबहादुर आलेमगरको घरमा यही साउन १ गते श्राद्धको प्रसाद खाएपछि बान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने समस्याले सिकिस्त भएपछि दुई परिवारका दश जनालाई आज बिहान एम्बुलेन्समार्फत काठमाडौं लागिएको स्थानीय कृष्णप्रसाद लामिछानेले जानकारी दिनुभयो।
बिरामी पर्नेमा धु्रबबहादुर लामा र कृष्णप्रसाद लामिछानेको परिवार छन्। बिरामी भएका २८ वर्षीय लामा, उहाँका आमा ५२ वर्षीया सन्तमाया, २५ वर्षीया श्रीमति सुशीला र पाँच वर्षीय छोरा सौरबको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।
यस्तै, ४० वर्षीय लामिछानेसहित उहाँका श्रीमती ३८ वर्षीया प्रेमकुमारी, छोरीहरु १६ वर्षीया सबिना र १२ वर्षीया बिना, १४ वर्षीय छोरा सन्तोषको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ।
श्राद्धको प्रसाद खाएर बिरामी भएका अन्यको स्थानीय स्वास्थ्य संस्थामै उपचार भई आएपनि स्वास्थ्य अवस्थामा सुधार नभएपछि अस्पताल पठाइएको वडा नं. ५ का वडाध्यक्ष अनन्त नेपालले जानकारी दिनुभयो।
बिरामी भएर गाँउमा नै रहेकाहरुको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका जनस्वास्थ्य अधिकृत राममणि घिमिरेसहितको टोलीले उपचार गरिरहेको छ। गाउँमा रहेका ४० जनाको उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य हुँदै आएको जनस्वास्थ्य अधिकृत घिमिरेले जानकारी दिनुभयो।
उहाँको अनुसार श्राद्धमा वितरण गरिएको अचार र सेलरोटी घरमा जम्मा भएकादेखि रोपाइँमा रहेका खेतालालाई समेत लगेर वितरण गरिएकाले धेरै जनालाई असर गरेको स्वास्थ्यकर्मीको टोलीले जनाएको छ। श्राद्धमा वितरण गरिएको रोटी बजारबाट किनेर ल्याएको मैदा र घरको चामलको पिठो मिसाएर बनाएको र सोही रोटी विषाक्त भएको अनुमान गरिएको छ। रासस