व्यापार घाटा ९ खर्ब ९ अर्ब
काठमाडौं : वस्तु आयातमा उच्च वृद्धि भएपछि व्यापार घाटा चुलिएको छ । आर्थिक वर्ष २०७३/०७४ मा व्यापार घाटा उछालिएर नौ खर्ब नौ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । यो आर्थिक वर्ष २०७२/७३ को तुलनामा २९ प्रतिशत बढी हो । अघिल्लो वर्ष व्यापार घाटा सात खर्ब चार अर्ब ४५ करोड थियो । तीव्र बढिरहेको आयात झैं निर्यात बढाउन नसक्दा व्यापार घाटा कहालीलाग्दो बनेको हो ।
गत वर्ष नेपालले विभिन्न मुलुकसँग १० खर्ब ५८ अर्ब ७८ करोड रुपैयाँको कुल व्यापार गरेको छ । यसमध्ये ९ खर्ब ८४ अर्ब ६ करोड रुपैयाँको वस्तु आयात भएको छ भने ७४ अर्ब ७१ करोडको वस्तु निर्यात गर्न सकिएको छ । निर्यात ६ प्रतिशतको झिनो अंकले वृद्धि हुँदा आयात २७ प्रतिशतले उछालिएपछि व्यापार घाटा चुलीमा पुगेको हो । अघिल्लो वर्ष विभिन्न मुलुकसँग भएको आठ खर्ब ४४ अर्ब ९६ करोडको कुल व्यापारमा आयात सात खर्ब ७४ अर्ब ७१ करोड र निर्यात ७० अर्ब २५ करोड थियो ।
नेपाली अर्थतन्त्रका लागि बढ्दो व्यापार घाटा सबैभन्दा ठूलो चुनौती बनेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष १३ रुपैयाँको वस्तु आयात गर्दा दुई रुपैयाँको मात्र वस्तु निर्यात गर्न सकिएको छ । पछिल्ला वर्षमा निर्यात र आयातको रेसियो बढ्दै गइरहेको देखिन्छ । स्वदेशमै आत्मनिर्भर हुने वस्तुमा समेत परनिर्भरता बढ्दै जानु र महँगो मूल्यपर्ने विलासी वस्तुको प्रयोग ह्वात्तै बढ्नु आयात उकासिनुको प्रमुख कारण रहेको विज्ञ बताउँछन् । अहिलेकै अवस्थामा व्यापार घाटा कम गर्न चुनौतीपूर्ण रहेको सरोकारवाला बताउँछन् ।
भारत, चीन लगायतका मुलुकसँग कहालीलाग्दो गरी व्यापार घाटा बढिरहेको छ । भारत र चीन नेपालका सबैभन्दा ठूला आर्थिक तथा व्यापारिक साझेदार मुलुक हुन् । भारतबाट पेट्रोलियम पदार्थ, फलाम, स्टिल, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, यातायातका साधन, मेसिनरी तथा पार्टपुर्जा, औद्योगिक कच्चा पदार्थलगायत आयात भएको देखिन्छ । चीनबाट दूरसञ्चार सामग्री, विद्युतीय उपकरण, मेसिनरी तथा पार्टपुर्जा, स्याउ तथा रासायनिक मल बढी आयात भएको छ । तेस्रो मुलुकबाट सुनचाँदी, प्लास्टिकको कच्चापदार्थ, महँगा सवारीसाधन लगायत बढी आयात गरिएको छ ।
भारतसँग ६ खर्ब घाटा
गत वर्ष भारतबाट ६ खर्ब ४१ अर्ब १७ करोडको वस्त आयात गरिएको छ । तर, यस अवधिमा भारततर्फ ४१ अर्ब ६० करोडको मात्र वस्तु निर्यात भएको छ । एक वर्षमै भारतसँग पाँच खर्ब ९९ अर्ब ५७ करोड रुपैयाँ व्यापार घाटा भएको छ । नेपालको भारतसँग करिब दुई तिहाइ व्यापार हुँदै आएको छ । चीनबाट एक खर्ब १९ अर्ब ८७ करोडको वस्तु भित्रिँदा नेपालबाट एक अर्ब ७० करोडको वस्तु निर्यात भएको छ । नेपालले चीनसँग एक खर्ब २८ अर्ब १७ करोडको व्यापार घाटा बेहोर्नु परेको छ ।
यसैगरी, नेपालमा सबैभन्दा बढी वस्तु भित्रिने तेस्रो मुलुकमा युनाइटेड अरब इमिरेट्स (यूएई) बनेको छ । भन्सार विभागका अनुसार यूएईबाट २९ अर्ब १९ करोड रुपैयाँको वस्तु भित्रिएको छ । जबकी निर्यात १० करोडको मात्र छ । फ्रान्सबाट १३ अर्ब ३५ करोड, इन्डोनेसियाबाट ११ अर्ब ८५ करोड, अर्जेन्टिनाबाट ११ अर्ब ६८ करोड, थाइल्यान्बाट १० अर्ब ६४ करोड, कोरियाबाट आठ अर्ब ९४ करोड, क्यानडाबाट आठ अर्ब ९० करोड, अमेरिकाबाट आठ अर्ब ४६ करोड र मलेसियाबाट आठ अर्बको सामग्री आयात गरिएको छ । यी मुलुकमा अमेरिका र फ्रान्स बाहेक सबैमा निर्यात नगन्य छ । गत वर्ष अमेरिकामा करिब नौ अर्ब र फ्रान्समा एक अर्ब १९ करोडको वस्तु निर्यात भएको छ । अमेरिकासँगको व्यापार ४९ करोड नाफामा देखिएको छ ।
पेट्रोलियम पदार्थ पहिलो
गत वर्ष नेपाल सबैभन्दा बढी भित्रिने वस्तुमा पेट्रोलियम पदार्थ बनेको छ । एक वर्षमा एक खर्ब ४० अर्ब पाँच करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरिएको छ । यसमा डिजेल ६६ अर्ब १२ करोड, एलपी ग्यास २० अर्ब ५६ करोड, पेट्रोल १९ अर्ब ९५ करोडको भित्रिएको छ । नेपालमा भारतीय बजारबाट पेट्रोलियम पदार्थ भित्रिँदै आइरहेको छ ।
दोस्रो नम्बरमा रहेको फलाम तथा स्टिल र तिनका उत्पादन ९३ अर्ब ७१ करोडको भित्रिएको छ । राष्ट्र बैंकले सवारी कर्जामा कडाइ गरेपछि सवारीसाधन चौथो नम्बरमा धकेलिएको छ । गत वर्ष विभिन्न मुलुकबाट ७९ अर्ब ५० करोडको सवारी तथा पार्टपुर्जा भित्रिएको छ । यो परिमाण अघिल्लो वर्षको तुलनामा भने धेरै हो । कृषि प्रधान मुलुकमा ४० अर्ब १४ करोड रुपैयाँको खाद्यन्न आयात गरिएको छ । सुनचाँदीको आयात पनि ३२ अर्ब नाघेको छ ।
सबैभन्दा बढी निर्यात कार्पेट
नेपाली कार्पेट लगातार सबैभन्दा बढी निर्यात हुने वस्तुमा दहरिन सफल भएको छ । गत वर्ष विभिन्न मुलुकमा सात अर्ब ६३ करोडको कार्पेट निर्यात भएको छ । नेपाली कार्पेटको सबैभन्दा ठूलो बजार अमेरिका र युरोप हो । यस्तै, चिया र कफी सात अर्ब दुई करोडको निर्यात भएको छ । गत वर्ष पाँच अर्ब ११ करोडको तरकारी तथा फलफुल निर्यात भएको भन्सार विभागले जनाएको छ । नेपालले वार्षिक निर्यात एक खर्ब नघाउने लक्ष्य राखेको धेरै वर्ष भइसक्यो ।
तर, निर्यातले खर्बको अंक छुन सकेको छैन । पछिल्लो केही वर्ष निर्यात बढ्नुको साटो उल्टै घटिरहेको देखिन्थ्यो । नेपाली वस्तुको निर्यात झिनो अंकमा मात्र बढेको छ । यसले अगामी वर्ष व्यापार घाटा झन् कहालीलाग्दो हुने निश्चित छ । नेपालले वस्तु व्यापारबाट घाटा कम गर्ने संकेत देखिँदैन ।