सशस्त्रको सरुवामा नयाँ मापदण्ड : कमान्डबाट कमान्डमै सरुवा नहुने

सशस्त्रको सरुवामा नयाँ मापदण्ड : कमान्डबाट कमान्डमै सरुवा नहुने

काठमाडौं: सशस्त्र प्रहरी बलमा यसअघिका संगठन प्रमुख र उनीहरूनिकट उच्च अधिकारीले सरुवामा मनोमानी गरेको भन्दै त्यसको नियन्त्रणका लागि नयाँ नीति ल्याइएको छ । ‘सशस्त्र प्रहरी अधिकृत, बिल्लादार तथा जवानहरूको पदस्थापन तथा सरुवा नीति २०७४'ले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)देखि प्रहरी परिचर पदसम्मको सरुवालाई व्यवस्थित गर्ने प्रयास गरेको छ ।

सशस्त्र प्रहरी नियमावलीअनुसार एसएसपीको सरुवाका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने र त्योभन्दा तल्लो तह सशस्त्र प्रहरी महानिरीक्षकले सरुवा गर्ने व्यवस्था छ । सशस्त्रले नियमावलीको परिधिमा रहेर ल्याएको नयाँ नीति लागू गर्ने तयारी छ । सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सरुवाका लागि नयाँ मापदण्डसहितको नीति बनाउन निर्देशन दिएको स्रोतले जनाएको छ ।

नयाँ नीतिअनुसार एसएसपीलाई एकपटकभन्दा बढी कमान्डमा सरुवा नगरिने र एकपटकको कमान्डमा एक वर्षभन्दा बढी नखटाइने उल्लेख छ । एसएसपीलाई तालिम केन्द्रमा समादेशकका रूपमा सरुवा गर्दा पनि अघिल्लो तहको अनुभव र ज्येष्ठतालाई आधार बनाउने जनाइएको छ । पति–पत्नी नै कार्यरत भए दम्पतीलाई सकेसम्म एकै कार्यालयमा सरुवा गर्ने व्यवस्थासमेत गरिएको छ ।

सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालले सरुवासम्बन्धी नयाँ नीति चाँडै लागू हुने बताउनुभयो । ‘अन्तिम चरणमा छ । केही दिनभित्रै लागू गर्छौं', प्रवक्ता अर्यालले अन्नपूर्णसँग भन्नुभयो । संयुक्त राष्ट्रसंघीय मिसन पूरा गरी फर्किएका एसएसपी, एसपी, डीएसपी र इन्स्पेक्टरले एक वर्ष कमान्ड सम्हाल्न पाउनेछैनन् । एसपीले पाँचपटक मात्र कमान्ड गर्न पाउने र अवधि एक÷एक वर्ष रहनेछ । जनशक्ति अभाव भएबाहेक अवस्थामा बढुवा हुनेबित्तिकै एसपीले कमान्ड गर्न पाउने छैनन् । कमान्ड पाउन बढुवा भएको एक वर्ष पर्खनुपर्ने हुन्छ । त्यस्तै, कसैले पनि कमान्डबाट कमान्डमै सरुवा पाउने छैनन् ।

एसपीको आचरण, मूल्यांकन, अनुशासन र नेतृत्वका आधारमा सीमा सुरक्षा कार्यालय प्रमुखको जिम्मेवारी भने पाउन सक्छन् । घरपायकको प्रदेश र जिल्लाअन्तर्गतका कुनै पनि इकाइमा कमान्ड सरुवा हुनेछैन । अनिवार्य अवकाश हुन लागेका र सेवा अवधि एक वर्ष मात्र बाँकी रहेका एसपीलाई कमान्डमा सरुवा नगर्ने व्यवस्था गरिएको छ ।

डीएसपीमा बढुवा भएकालाई तत्काल कमान्ड नदिइने तर बढुवाको तीन वर्ष पुगेको र उसको ज्येष्ठतालगायत कार्यसम्पादनका आधारमा गुल्मपतिको जिम्मेवारी दिन सकिने व्यवस्था नयाँ नीतिमा छ । कमान्ड र स्टाफ तालिममा सर्वोत्कृष्ट नतिजा ल्याएका डीएसपी आवश्यकताअनुसार गुल्मपति बन्न सक्छन् । कसैले पनि दोहोर्‍याएर कमान्डको जिम्मेवारी पाउने छैनन् ।

डीएसपी र इन्स्पेक्टर एउटै प्रदेशभित्रको अर्को इकाइमा सरुवा नगरिने र अनिवार्य अवकाश र सेवा अवधि सकिन दुई वर्ष बाँकी रहेकाहरूलाई भने एउटै प्रदेशभित्रकै अन्य इकाइमा समेत सरुवा गर्न सकिने व्यवस्था छ । इन्स्पेक्टरलाई दोहोर्‍याएर बोर्डर आउट पोस्ट (बीओपी)को जिम्मेवारी नदिने व्यवस्था नयाँ नीतिमा छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक र नायब निरीक्षकको सरुवा गर्दा घरपायक नपर्ने गरी सम्बन्धित प्रदेशमा गरिनेछ । तर, अनिवार्य अवकाश हुन लागेका र सेवा अवधि तीन वर्षभन्दा कम रहेका जुनियर अधिकृतलाई घरपायक पर्ने गरी एउटै प्रदेशको अर्का इकाइमा सरुवा हुने व्यवस्था नयाँ नीतिले गरेको छ । जवानदेखि हवल्दारसम्मको सरुवा गर्दा सम्बन्धित प्रदेशमा गर्ने तर उनीहरूलाई गृहजिल्लाका युनिटमा सरुवा नगर्ने उल्लेख छ । नयाँ नियुक्ति भएका सशस्त्र परिचरलाई मुख्यालयमा पदस्थापन नगर्ने र सम्भव भएसम्म उनीहरूलाई घरपायक सरुवा गरिने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.