१३ घर बाढीको उच्च जोखिममा
मिक्लाजुङ: मोरङको मिक्लाजुङ गाउँपालिका ६ बेतेनीका १३ घर बाढीको उच्च जोखिममा परेका छन् । बर्खायामसंगै नुनसरी-बक्राहा खोलामा आएको बाढीका कारण जोखिममा परेका परिवारले घर छाडिसकेका छन् । खोलाको नजिकै रहेका तारा गौतम, भीम खड्का, गंगाबहादुर बस्नेत, पूर्ण बस्नेत, धनबहादुर मगर, अस्मीता लिम्बू, चम्पा कटुवाल, योगेन्द्र रिजाल, दीपक बन्जरा, मीरा बन्जरा, तेजबहादुर बोहरा, सनकसिंह खत्री र धनबहादुर गौतमको घर बाढीको जोखिममा परेको प्रहरीले जनाएको छ ।
बाढीले तीन विगाहा जमिन कटान पनि गरिसकेको छ । मिक्लाजुङ ६ का नवनिर्वाचित वडा अध्यक्ष बुद्धिलाल निरौलाका अनुसार धमाधम जमिन कटान गर्दै बाढी वस्तीतर्फ अघि बढिरहेको छ । ‘बर्खायामसंगै खोलामा बाढी आउन थालेको छ । बाढीले कटान तीव्र पारेको छ,' उहाँले भन्नु भयो, ‘कटान गर्न थालेपछि १३ परिवार उच्च जोखिममा परेका छन् । खोलामा अझै ठूलो बाढी आयो भने सबै घर बगाउने अवस्था छ ।'
निरौलाका अनुसार बाढीले धनबहादुर गौतमको घर बगाउनै लागेको छ । बाढीका कारण घरमा बस्न सक्ने अवस्था नभएपछि स्थानीय बासिन्दा मिक्लुङ सामुदायिक वनको चउर र आफन्तको सरणमा पुगेका छन् । बाढीले थप समस्या निम्त्याउन सक्ने भन्दै स्थानीय बासिन्दालाई सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ ।
इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी सहायक निरीक्षक खगेन्द्र उप्रेतीले अस्थायी बाँध बाँधेर जोखिममा रहेका घर र वस्ती जोगाउने प्रयास भइरहेको बताउनु भयो । ‘बाढीले केही खेतीयोग्य जमिन कटान गरिसकेको छ,' उहाँले भन्नु भयो, ‘अब कटान गर्न नपाओस भनेर अस्थायी बाँध बाँध्नका लागि प्रहरीले सहयोग गरिरहेको छ ।'