छाउ प्रचलन
सुदूरपश्चिमको भूगोल विकट श्रेणीबाट क्रमशः सुगम बन्दैछ । त्यहाँ विकास, व्यापार र सहरसँग सम्पर्क मार्गहरूको निर्माण कार्यले पनि तीव्रता पाइरहेका छन् । प्राकृतिक सौन्दर्य र स्रोतको प्रचुरतासँगै त्यहाँको सम्भाव्यता पनि बढी नै देखिन्छ । त्यति हुँदाहुँदै पनि एउटा जारी ‘सामाजिक' प्रथाले सुदूरपश्चिम नेपालभित्र मात्र हैन, विदेशमा पनि विवादको घेरामा देखा पर्ने गर्छ, सञ्चारमाध्यममार्फत छाउ प्रथाका लागि ।
मासिक श्राव या रजस्वला हुनु सामान्य र नियमित शारीरिक प्रक्रिया हो जुन किशोरी अवस्थादेखि ‘मेनोपज' को चरणसम्म जारी रहन्छ । मुलुकका विभिन्न भागमा आ-आफ्ना मान्यता, विश्वास, अन्धविश्वास या सामाजिक चलनअनुसार छोइछिटो गरिन्छ, तर त्यो शारीरिक प्रक्रियालाई सम्मान गरिन्छ । राजधानी र सहरी क्षेत्रमा, सञ्चार, गोष्ठी र सामाजिक सञ्जालमार्फत ‘छोइछिटो' को चलनलाई पर्याप्त बुझाइबिना निरन्तरता दिइएको र त्यो वैज्ञानिक नभएको भने पनि छाउ प्रथाबाट पिल्सिएकाहरूप्रति प्रतिबद्धताका साथ कुनै सरकार, एनजीओ या संगठित समूहहरू लागेका छैनन् ।
ग्रामीण तहमा चेतनाको तह बढ्दै गए पनि अन्तरपुस्ता मान्यतामा अन्तर र त्यसले लिएको ‘सामाजिक संस्कार' को स्वरूपलाई सामूहिक निर्णय, अवज्ञा, समूह र प्रतिबद्धताबिना समाप्त गर्न सकिन्न । हालै छाउमा सर्पको टोकाइबाट तुलसा साहको मृत्यु भइसकेको छ । छाउमै रहेकी कृष्णकला विकमा यस प्रथाको धार्मिक पक्षबारे आशंका छ, जस्तो उनले अन्नपूर्ण पोस्ट्सँगको साक्षात्कारमा भनिन् । तर त्यो आंशिक अविश्वासका आधारमा उनले विद्रोह गर्न सक्ने स्थिति देखिँदैन । त्यसैले खासगरी हिन्दु धर्म र त्योसँग जोडिएका परम्पराबारे आधिकारिक र वस्तुनिष्ठ जानकारी राख्ने पण्डित तथा धर्म सन्देश दिनेहरूले यो रूपमा यो प्रथाको धार्मिक सान्दर्भिकता नरहेको र मानव जीवनलाई अकाल मृत्युको मुखमा धकेल्ने परम्पराको धार्मिक वैधानिकता नरहेको सन्देश दिन उनीहरूको परिचालन सर्वाधिक आवश्यक छ ।
दोस्रो यी परम्परा या प्रचलन हट्न केही समय लाग्ने हुँदा अब त्यस क्षेत्रका हरेक नगरपालिका या गाउँपालिकाहरूले व्यवस्थित र स्वस्थ्य छाउ घर बनाउने दायित्व लिनु आवश्यक छ । जहाँ किशोरीहरू अकाल मृत्युबाट धेरै टाढा र सुरक्षित महसुस गर्ने छन् । तेस्रो शरीर विज्ञान तथा शारीरिक प्रक्रियाबारे स्कुल पाठ्यपुस्तकमा मात्र हैन, ग्रामीण चेतना उकास्न विश्वसनीय र सामाजिक चेतनाप्रति प्रतिबद्ध गैरसरकारी संस्थाहरू समेत सामेल हुनु जरुरी छ । तर यसमा सबभन्दा ठूलो दायित्व र नेतृत्वदायी भूमिका हिन्दु धर्म प्रचारक संस्था र अगुवाहरूले नै लिनु आवश्यक छ । सरकार र कानुनको प्रभावकारी भूमिका त्यसपछि मात्र सहज रूपले सुनिश्चित गर्न सकिनेछ ।