रानाथारु समुदायको 'सावने डोला' पर्व संकटमा
भीमदत्तनगर: सुदूरपश्चिमको कञ्चनपुर र कैलालीमा मात्र बसोबास गर्दै आइरहेका रानाथारु समुदायको सांस्कृतिक तथा धार्मिक महत्व बोकेको 'सावने डोला' (श्रावण महिनाको पिङ खेल्ने) पर्व संकटमा पर्दै गएको छ ।
कुनै समय प्रचलित संस्कृति र संस्कारका रुपमा रहेको सो पर्वको संरक्षण नहुँदा र आधुनिकताको क्रमसँगै लोप हुने अवस्थामा पुगेको रानाथारु समुदायका अगुवाहरुको भनाइ छ। वर्षात्मा खेतीपातीको काम सकेपछि फुर्सदको समयलाई सदुपयोग गर्न तथा मनोरञ्जनको प्रमुख माध्यमका रुपमा यो पर्व मनाइने गरिन्थ्यो। कामको व्यस्ततासँगै आधुनिक मनोरञ्जनका साधनलाई अंगाल्न थालेपछि सावने पिङको अस्तित्व संकटमा पर्न थालेको हो।
पश्चिम नेपालमा मात्र बसोबास रहेको रानाथारू समुदायमा समयको परिवर्तनसंगै रानाथारुको कला संस्कृति तथा परम्परागत रीतिरिवाज लोप हुँदै गइरहेकामामा स्थानीय बुद्धिजीवी एवं शिक्षक गेदु रानाले चिन्ता व्यक्त गर्नुभयो । उहाँले पश्चिमा संस्कतिका कारण सावने डोला रमाउने कार्य हराउँदै गइरहेको बताउनुभयो ।
साउन महिनाको कृष्ण पक्षदेखि शुक्ल पक्षको तेस्रो दिनसम्म गाउँका सबैजना पायक पर्ने स्थानमा साउने पिङकोे मनोरञ्जन लिने चर्चा गर्दै शुक्लाफाँटा नगरपालिका–४ असैनाका मिठ्ठू रानाले भन्नुभयो, ‘‘साउने पिङ खेल्नका लागि चेलीबेटी, साथीसंगीको भेटघाट हुने र आत्मीयता साट्ने माध्यम पनि भएकाले यसलाई बिर्सन दिनहुन्न ।”
यस समुदायमा सावने पिङलाई धार्मिकरुपमा पनि महत्वपूर्ण स्थान दिने प्रचलन छ । साउनको कृष्ण पक्ष समाप्तिपछि शुरु भएको शुक्ल पक्षको तेस्रो दिनलाई सावन डोलाको अन्तिम दिन मानिन्छ। साउने पिङको अन्तिम दिनमा रानाथारु समुदायले तीजको व्रत बस्ने गर्छन् तर यस व्रतमा महिलाले आफ्ना श्रीमान्का लागि नभएर भाइ भतिजाको सु–स्वास्थ्य तथा दीर्घायुको कामनाका लागि पानीसमेत नखाने प्रचलन छ । यस अवधिमा रातिको समय महिला–पुरुष सामूहिकरुपमा गीत गाउने र सावने डोला (पिङ) खेल्ने गर्दछन् ।
शिक्षक गेदु रानाका अनुसार श्रावण डोलको अन्तिम दिन अर्थात् तीजको दिन सावने डोलामा रहेको डोरीकोे मुख्य गाँठो (मुरिया) काटेर पूजा गर्र्ने र सोही दिन नजिकको खोलानालामा गई विवाहित महिलाले सात र अविवाहितले पाँचवटा झुरकी (कुशको गाँठो)मा पूजा गर्ने गर्छन् । झुरकीलाई नदीमा सेलाएर भाइभतिजाको सु–स्वास्थ्य तथा दीर्घायुको कामना गरिन्छ । रासस