'अघोषित' लोडसेडिङको विरोधमा स्थानीय आक्रोशित
दमक: साता दिन देखि झापाको दमकमा अत्यधिक मात्रामा लोडसेडिङ हुन थालेपछि स्थानीय उपभोक्ता आक्रोशीत भएका छन् । बर्खाको समयमा पनि दैनिक रुपमा १२ घण्टा भन्दा बढी लोडसेडिङ हुन थालेपछि उपभोक्ता आक्रोशीत भएका हुन् ।
विद्युतमा कटौती धेरै भएको भन्दै यहाँका स्थानीय उपभोक्ताहरु आक्रोश पोख्न दिनहँु जसो विद्युत प्राधिकरण वितरण केन्द्र दमक आउन थालेका छन् । झापाको माईपश्चिम र पूर्वी उत्तरी मोरङमा अघोषित लोडसेडिङ हुन थालेपछि प्राधिकरणमा दबाव दिन आउनेको भीड नै लाग्ने गरेको छ ।
दिन दिनै हुने लामो लोडसेडिङका कारण झापाको माईपश्चिमका क्षेत्रहरु र मोरंगको उर्लाबारी, राजघाट, मिक्लाजुङ लगायतका एक लाख ५ हजार उपभोक्ताहरु समस्यामा परेका छन् । केही दिन देखिको खडेरीका कारण पर्याप्त मात्रामा बिद्युत आपुर्ती नहुँदा स्थानीय कृषक समेत मर्कामा परेका छन् ।
बुधबार र बिहीबार पनि कार्यलयमा समुह नै बनाएर आएका उनीहरुले जतिसक्दो चाँडो विद्युत नियमित गर्न दबाब दिए । बिहीबार गौरादहको जामबाडीका उपभोक्ताहरुले बिद्युत आपुर्ति नियमित गर्न र आफ्नो क्षेत्रमा ट्रान्सफर्मर उपलब्ध गराईदिन ५ दिने अल्टिमेटम दिएका छन् । बुधबार पनि जनप्रतिनिधि देखि लिएर विद्यार्थी संगठन तथा स्थानीय उपभोक्ताले प्राधिकरणमा आएर आक्रोश पोखेका थिए ।
मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले गर्मी मौसममा लोडसेडिङ नगर्न आग्रह गर्नुभयो । त्यस्तै मोरङको मिक्लाजुङ तथा उर्लाबारी बाट दबाब दिन आएको टोलीले उर्लाबारीलाई प्राधिकरणले बिभेद गरेको आरोप लगाएको छ । अध्यक्ष आर्चायले भन्नुभयो– ‘ झापामा तपाईहरुले विद्युत पर्याप्त दिनु भएको छ तर मोरङमा विभेद गर्नुभयो' ।
दमक बितरण केन्द्रका प्रमुख शुरेन्द्र कुमार शाहले भने अघोषित लोडसेडिङ नभएर बिद्युत खपत बढी भएको बताउनुभयो । उहाले केही दिनदेखि पानी नपरेकोले खेतीका लागि स्थानीय उपभोक्ताले मोटर अत्यधिक रुपमा चलाउने गरेकोले यस्तो समस्या आएको प्रतिक्रिया दिनुभयो ।
नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र दमकले भने बुधबार देखि घोषित रुपमा नै लोडसेडिङ सुरु गरेको छ । उसले विद्युत लोड कम नभए सम्मका लागि दैनिक १२ घण्टा लोडसेडिङको कार्यतालिका सार्वजनीक गरेको हो । तीन घण्टा बिद्युत दिने, तीन घण्टा काट्ने गरी तालिका सार्वजनिक गरेको छ । कार्यालयले नेपाल विद्युत प्राधिकरणमा बुधबार नै लोडसेडिङको पत्र पठाएको जनाएको छ ।