पूर्वन्यायाधीशको नेतृत्वमा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन
काठमाडौं : सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश कमलनारायाण दासको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रदेश र संघीय संसदको निर्वाचन क्षेत्र निर्धारणका लागि पूर्व न्यायाधीश दासको संयोजकत्वमा गठन गरेकाे आयोगकाे सदस्यमा माधव अधिकारी, विश्वकल्याण पराजुली, गणेशराज कार्की रहनुभएको छ भने सदस्य सचिव योगेन्द्र शर्मा पौडेल रहनुभएको अर्थमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । आयोगलाई सरकारले २१ दिनको समय दिएको छ ।
संवैधानिक व्यबस्था अनुसार सरकारले क्षेत्र निर्धारण आयोग गठन गरेको हो । यस्तै क्षेत्र निर्धारण आयोग गठनमा ढिलाई भन्दै सरकारको आलोचना भइरहेको थियो ।यसैबीच विहीबार नै बसेको व्यबस्थापिका संसद बैठकमा सरकारले प्रदेश र संघीय निर्वाचनका लागि ‘प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, २०७४’ र ‘प्रदेशसभा सदस्य निर्वाचन विधेयक प्रस्तुत गरेको थियो ।
निर्वाचन आयोगले प्रदेश र संघीय निर्वाचनका लागि कानुन निर्माणमा ढिलाई भएको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो ।