युवा संघमा फेरी बिवाद, अबिलम्ब महाधिवेशनको माग
काठमाडौं : नेकपा एमालेको भातृसंस्था युवा संघ भित्र फेरी बिवाद देखिएको छ। विगतमा दुई वटा समान्तर समिति गठन गरेर बिवाद छताछुल्ल भएको युवा संघमा यति बेला महाधिवेशनको विषयमा बिवाद देखिएको हो।
विधानत तीन/तीन बर्षमा हुनुपर्ने महाधिवेशन ५ बर्ष पुग्दा समेत नभएको भन्दै पदाधिकारीहरुले अध्यक्षको ध्यानाकर्षण गराएका छन्। अध्यक्ष राजीव पहारीले महाधिवेशन गराउनेतर्फ चासो नदेखाएको भन्दै ६ जना पदाधिकारीहरुले विहीबार ज्ञापन पत्र मार्फत महाधिवेशनको माग गरेका हुन् ।
युवा संघका उपाध्यक्षद्वय दिल कुमारी पन्त र राजु गुरुङका साथै सचिवहरु हस्त शाही, नरेश कुमार शाही, मञ्जु यादव र क्रान्ति बुर्लाकोटीले अध्यक्ष पहारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
६ जनाद्वारा हस्ताक्षरीत ज्ञापन पत्रमा भनिएको छ, ‘तीन तीन बर्षमा हुनुपर्ने महाधिवेशन ५ बर्ष पुग्दा समेत हुन नसक्नु बिडम्बनाको विषय हो। राज्यको पुनसंरचना अनुसार युवा संघको सांगठानीक संरचना निर्माण गर्न तत्काल महाधिवेशन गर्न जोडदार माग गर्दछौं।'