सडक निर्माणमा समन्वय अभाव
काठमाडौं : सडक विभागले सञ्चालन गरेका विभिन्न १० वटा सडकको भौतिक प्रगति ठेक्का लागेको वर्षौसम्म पनि शून्य भएको छ । आर्थिक वर्ष २०७३/७४ सम्म निर्माण सुरु गरिसक्नुपर्ने र आगामी ६ महिनादेखि एक/डेढ वर्षभित्रै सम्पन्न गर्नुपर्ने गरी ठेक्का लगाइएका सडकको प्रगति अझैसम्म शून्य छ ।
भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बिहीबार संसद्को लेखा समिति बैठकमा सडक निर्माणका क्रममा भएका विवाद, सडक निर्माण गर्न साइट क्लियर नभएको र स्थानीयको अवरोध र अदालतको निर्णयलगायत कारण काम गर्न नपाउँदा प्रगति शून्य भएको जानकारी दिनुभयो हो । सडक निर्माणका क्रममा एउटा निकायले अर्को निकायसँग गर्नुपर्ने समन्वय अभावले कतिपयको काम सुरु भएर पनि सन्तोषजनक प्रगति हुन सकेको छैन ।
गत आवमा शून्य प्रगति देखिएका सडकमा चाबहिल-जोरपाटी-साँखु सडकखण्डको बौद्ध-जोरपाटीमा साइट क्लियरको विवाद, मापदण्ड विपरीतका घर भत्काउन नपाइएको, खानेपानी, ढल, विद्युत् पोलसहितको समस्या भएको उल्लेख छ । यो समस्या अन्य सडकमा छ । सडक विभागको तथ्यांकअनुसार आयोजना सम्पन्न गर्ने समय सकिएको तर पूरा नहुन नसकेका सडक ५९ वटा छन् ।
यी सडक ५ प्रतिशतदेखि ९५ प्रतिशत पूरा भएका छन् । सडक विभागका महानिर्देशक गोपाल सिग्देलले दिनुभएको जानकारीअनुसार आयोजना सम्पन्न गर्न लाग्ने बजेट सबै एकैपटक नआउने भएकाले पनि जति बजेट आयो त्यतिको मात्रै काम भएर समय सकिएको छ । निर्माण सम्पन्न भएका यस्ता सडक अघिकांशको भौतिक र वित्तीय प्रगति सन्तोषजनक रहेको बुझाइ सिग्देलको छ । उहाँका अनुसार २० करोड रुपैयाँ लाग्ने सडकलाई सरकारले वार्षिक बजेटमा मुस्किलले ५/७ करोड रुपैयाँ राख्ने गरको छ । बजेट थोरै र काम गर्नुपर्ने धेरै भएकाले पनि निर्माण सम्पन्न गर्ने समय सकिदासम्म आयोजना पूरा नभएको देखिएको सिग्देलको भनाइ छ ।
सडक विभागले निर्माण अवधि सकिएका र पूरा नभएका एक सय ४६ वटा आयोजनालाई स्रोत सुनिश्चितता भएको भन्दै सूचीमा राखेको छ । यी सडक गत आवमा काम पूरा नभएका र चालू आवमा बजेट निकासा गरेर सञ्चालन गर्न सकिने अवस्था छ । सडक विभागबाट सञ्चालित हुने विभिन्न सडक अल्पकालीन योजनाका र बहुवर्षे सडक हुने गरेका छन् ।स्रोत सुनिश्चत गरेर राख्नुपर्ने सबै सडक बहुवर्षे भएको दाबी विभागको छ ।
शून्य प्रगतिका सडक सडकखण्ड ठेक्का रकम (रुमा) ठेक्का मिति
१. चाबहिल-जोरपाटी-साँखु ४२ करोड ४२ लाख २०७२ असोज
२. ढोलाहिटी-सुनाकोठी-चापागाउँ २३ करोड ३१ लाख २०७३ जेठ
३. जोरपाटी-सुन्दरीजल २६ करोड ९३ लाख २०७३ असार
४. जोरपाटी-सुन्दरीजल २ २७ करोड ८५ लाख २०७३ असोज
५. सामरिक महत्ववको सडक, भक्तपुर १० लाख ठेक्का अवधि सकिएको
६. कोलेनिका-गाविस भवन, भक्तपुर १४ लाख
७. हलालगाँउ-पराजुलीटोल, भक्तपुर ५ लाख
८. डोलेश्वर-आशापुरी, भक्तपुर ३३ लाख
९. ठिमी चारदोबाटो-बालकोट १७ लाख
१० हनुमन्तेपुल-गुन्डुपुल ६० लाख
निर्माण अवस्था निराशाजनक
संसद्को लेखा समितिमा बिहीबार भएको छलफल सरकारी कर्मचारी र समिति सदस्यले सडक निर्माण अवस्था निराशाजनक रहेको बताएका छन् । सडक निर्माणका लागि बजेट विनियोजन हुँदाहुँदै पनि अन्तरनिकाय समन्वय अभावले सडक निर्माण निराशाजनक रहेको मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार प्रशासनिक र व्यवस्थापकीय समस्या मिलाउन नसक्दा सडक निर्माण अवस्था निराशाजनक रहेको बताउनुभयो । सरकारले विकास निर्माणलाई नै राष्ट्रको समृद्धिको आधार मानेर कडा कानुन र समन्वय गरेर जानुपर्ने आवश्यकता रहेको तर्क क्षेत्रीको छ ।