यूटिएलका विकल्प

 यूटिएलका विकल्प

 

विगत १५ वर्षदेखि सञ्चालनमा रहेको र पटकपटक नेपाल सरकारले दबाब तथा बाध्यताको स्थितिमा कर छुट दिँदै आएको भारतीय लगानीको युनाइटेड टेलिकम लिमिटेडको वक्यौता नियमक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई तिर्नुपर्ने मात्रै ३९ करोड हाराहारीमा पुगेको छ । आगामी तीन महिनाभित्र सरकारलाई तिर्नुपर्ने वक्यौता चुक्ता नगरे उसको लाइसेन्स रद्द गर्नुपर्ने कानुनी बाध्यता सरकारसमक्ष छ, यद्यपि लगातार नेपाल सरकारको नियमलाई अर्थहीन तुल्याई कम्पनीले आफ्नो अस्तित्वलाई निरन्तरता दिन सफल भएको छ ।

उदारीकरणलाई अर्थपूर्ण बनाउन नेपाल सरकारले ०५८ सालमा नै नेपाल टेलिकमको प्रतिस्पर्धी कम्पनीका रूपमा भारतीय कम्पनी यूटीएललाई लाइसेन्स दिए पनि सेवासर्तका वाध्यात्मक दायित्व उसले पूरा गरेको छैन । केवल लाइसेन्स र फ्रिक्वेसी ओगटेको छ । ८० प्रतिशत भारतीय लगानी रहेको यूटीएललाई वास्तवमा एकजना शक्तिशाली भारतीय कूटनीतिज्ञले नेपालमा राजनीतिक अस्त्रका रूपमा प्रयोग गर्दै आएको तथ्य विभिन्न प्रधानमन्त्री र सञ्चारमन्त्रीहरूले व्यहोर्दै आएका छन् । नेपालको राजनीतिक परिवर्तनमा झन्डै निर्णायक भूमिका खेलेका ती कूटनीतिज्ञले बराबर यूटिएललाई कर छुट तथा अन्य सुविधा दिन दबाब दिएको र राजनीतिक परिवर्तनपछिका चरणमा ती कूटनीतिज्ञको निर्णायक नेपालमा बढ्न जाँदा पनि यूटीएलले नाजायज फाइदा हासिल गरेको तथ्य जगजाहेर छ ।

तर त्यसको घाटा नेपाल सरकारले सधैं व्यहोरिरहनु र अन्य प्रतिस्पर्धीले नपाएको सुविधा सरकारलाई घाटा पुर्‍याउने तथा अनुमतिपत्रमा उल्लिखित सर्त पूरा नगर्ने कम्पनीलाई प्रदान गर्नु सरकारबाट हुने ठूलो अपराधका रूपमा लिइनेछ । कानुनले सुरक्षा प्रदान गरेको कर फस्र्यौट आयोगसामु छानबिनको दायरामा परेको अवस्थामा एउटा विदेशी कम्पनीले आफूअनुकूल मात्र सेवा सञ्चालन गरिरहनु अर्को छानबिनको विषय बन्नैपर्छ । तर त्यो भन्दा पहिले यूटिएलसँग वक्यौता राशी उठाउनु या सेवा निरन्तरताका लागि उसले आफ्ना सर्तहरू असोज मसान्तभित्र पूरा गर्ने वातावरण बन्न आवश्यक छ ।

त्यस्तै यी सबै परिस्थिति र यूटिएलले सेवा सर्त पूरा नगरेकै अवस्थामा पनि उसले जीएसएम सेवासुविधा सञ्चालन गर्न पाउने गरी गत भदौमा उसलाई एकीकृत सेवा अनुमतिपत्र दिनुले नेपाल टेलिकम पनि यो अनियमितताको हिस्सा भएको देखिन्छ । उचित छानबिनपछि मात्र यसबारे सबै तथ्य बाहिर आउनेछन् र नेपाली टेलिकमकै छविका लागि पनि त्यस्तो छानबिन आवश्यक र उचित देखिएको छ ।

टेलिकम नेपालको उद्योग र आर्थिक परिस्थिति बिग्रँदा पनि नाफा कमाउन सफल क्षेत्र हो । विगत तीनदसकमा सञ्चारको क्षेत्रमा आएको क्रान्तिबाट नेपाल अलग रहने कुरै भएन । तर यदि कुनै विदेशी कम्पनीले सञ्चारमा महत्वपूर्ण ठाउँ ओगटेर नेपालको सम्भाव्यतालाई न्यून गर्दै सरकारप्रतिको उसको दायित्वलाई समेत आदर गर्दैन भने त्यो संस्था दण्डको भागी हुनैपर्छ । दण्डको भागी बन्ने या आफूलाई अवसर दिएको मुलुकको कानुन र सरकारसँग भएको करार अक्षरशः पालना गर्ने त्यो विकल्प रोज्ने अधिकार यूटिएलको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.