मेहन्दीको महिना

मेहन्दीको महिना

फेसन डिजाइनर वर्षा श्रेष्ठले हरेक वर्ष साउनमा मेहन्दी लगाउने गरेकी छन् । साउन भनेको हरियो चुरा र मेहन्दी लगाउने महिना हो भन्ने बुझेकाले पनि साउनमा उनी खाली हात बसेकी छैनन् । आफ्नो हातमा मेहन्दी लगाउनमात्र नभई अरूका हातमा विभिन्न डिजाइनका मेहन्दी लगाइदिन पनि उनलाई रमाइलो लाग्छ । त्यसैले साउनमा अरूलाई पनि उनी मेहन्दी लगाइदिने गर्छिन् । साउनमा आफ्नो पति वा प्रेमीको नाममा मेहन्दी लगायो भने राम्रो हुन्छ भन्ने जनविश्वास रहेकाले आफूले आफ्नो हुनेवाला पतिको नाममा मेहन्दी लगाउने गरेको फेसन डिजाइनर वर्षाले जानकारी दिइन् ।

दोहोरी गायिका देविका केसी गुरुङले एक साताअगाडि कुपन्डोलस्थित जुम अरेबिक मेहन्दी प्लस स्पा नेल्स एकेडेमी विथ ब्युटी पार्लरमा गएर हातमा मेहन्दी भरिसकेकी छन् । तीजको एउटा गीतमा म्युजिक भिडियोमा छायांकन गर्न कतारबाट नेपाल आएकी देविकाले त्यहाँ गएर अरेबिक स्टायलको मेहन्दी लगाएकी हुन् । साउनसम्म नेपालमा बस्न नभ्याउने भएकाले उनले साउन आउन करिब एक साताअगाडि नै मेहन्दी लगाउन त्यहाँ पुगेकी हुन् ।

देविकाजस्तै पार्लरमा मेहन्दी लगाउने ट्रेन्ड हिजोआज बढ्दो छ । दिनमा ३५ देखि ४० जनासम्म मेहन्दी लगाउन आउने गरेको जुमकी सञ्चालक जुनु चक्रधरको भनाइ छ । एकजनालाई मेहन्दी लगाउन करिब २० मिनेटदेखि दुई घन्टासम्म लाग्ने गर्छ । उनका अनुसार मेहन्दी लगाउन आउनेमा बढीजसो युवती नै हुन्छन् भने केही वयस्क महिला पनि आउने गर्छन् । कामकाजी महिला हुन् वा गृहिणी, अधिकांशलाई साउनमा मेहन्दी लगाउने रहर हुन्छ । त्यसैले कोही घरमै इन्टरनेटमा विभिन्न डिजाइन हेरेर आफ्नो हातमा मेहन्दी लगाउँछन् त कोही पार्लरमै गएर लगाउने गर्छन् ।

पहिले भारतीय डिजाइनहरू बढी प्रचलनमा रहे पनि अहिले पाकिस्तानी र अरेबिक डिजाइन बढी चल्तीमा रहेको जुनुको भनाइ छ । 'अरेबिक डिजाइन अरूभन्दा सफा र कलात्मक हुन्छ । हल्का र गाडा रङको सम्मि श्रण मिलाउनुपर्ने हुनाले लगाउँदा धेरै ध्यान दिनुपर्ने हुन्छ', उनले भनिन् । सर्वसाधारणदेखि सेलिब्रेटी पनि साउनको अवसर पारेर मेहन्दी लगाउन उनको पार्लरमा पुग्ने गर्छन् ।

साउनमा शृंगार पनि अन्य समयमा भन्दा अलि विशेष हुन्छ । त्यसमा पनि हिजोआज त एक महिना अगाडिदेखि नै तीज मनाउने चलनले गर्दा मेहन्दीका साथै मेकअपका लागि पनि धेरै पार्लरमा आउने गरेका जुनुले बताइन् । 'तीजको दर पनि साउनदेखि नै सुरु हुने भएकाले यो समयमा रातो र हरियो बढी प्रयोग हुन्छ', उनले भनिन् । साउन महिनामा मेकअपसँगै ड्रेसअपमा पनि धेरैले हरियो रोज्ने गर्छन् । कृषिप्रधान देश नेपालमा साउन महिनामा प्रकृति पनि हरियै हुने भएकाले यहीसँग मिल्दोजुल्दो पहिरनमा सजिने महिलाको हरियै रूप निकै सुन्दर र आकर्षक देखिन्छ ।

साउने शृंगार

गर्मी र झरीको महिनामात्रै नभई साउनलाई हिन्दु नारी हरियो रङमा सजिने महिनाका रूपमा पनि बुझिन थालेको छ । यो महिनामा धेरै गर्मीका साथै झरी पनि पर्ने भएकाले वाटरप्रुफ र स्वेटप्रुफ मेकअप गर्नु उपयुक्त मानिन्छ । त्यसैले मेकअप गर्नुअगाडि प्राइमर लगाएर करिब पाँच मिनेटजति त्यसै छाड्नुपर्छ । त्यसपछि सुक्खा छाला भएकाहरूले मोइस्चराइजर लगाएर त्यसमाथि एसपीएफ ५० को सनस्क्रिन क्रिम लगाउनु उपयुक्त हुन्छ । यसलाई राम्ररी दलिसकेपछि फाउन्डेसन लगाई त्यसमाथि स्वेट प्रुफ कम्प्याक्ट लगाउनुपर्छ । साउनमा आँखाको मेकअप गर्दा हल्का हरियो खालको आई स्याडो लगाउँदा राम्रो हुन्छ । त्यसपछि गाजल र मस्कारा लगाएर अन्तिममा आफूलाई सुहाउँदो रङको लिपस्टिक लगाएपछि साउने शृंगारमा आफूलाई सजाउन सकिन्छ।  

-प्रतीक्षा खड्का, हारती अनमोल ब्युटी पार्लर, डिल्लीबजार

साउने मेहन्दीमा पहिले भारतीय डिजाइन बढी प्रचलनमा रहे पनि अहिले पाकिस्तानी र अरेबिक डिजाइन बढी चल्न थालेको छ । अरेबिक डिजाइन अरूभन्दा सफा र कलात्मक हुन्छ । हल्का र गाढा रङको सम्मि श्रण मिलाउनुपर्ने हुनाले लगाउँदा धेरै ध्यान दिनुपर्छ ।
-जुनु चक्रधर -सञ्चालिका, जुम


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.