राजपालाई नयाँ चुनाव चिन्ह दिन सकिदैन : प्रमुख आयुक्त यादव
बर्दिबास : प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले तोकिएकै समयमा प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ। निर्वाचनको तयारी बारेर बुझ्न महोत्तरी पुग्नु भएका यादवले असोज २ गते नै निर्वाचन हुने स्पष्ट पार्नुभएको हो।
उहाँले निर्वाचनबारे कुनै आशंका नगर्ने भन्दै मतदातालाई मतदान गर्न तयार रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश नं. २ को स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुन्छ, मतदाताहरु ढुक्क हुनुस् । निर्वाचन नहुनेमा कुनै शंकै नगर्नुस्।' उहाँले महोत्तरीका सुरक्षा निकाय, निर्वाचन कार्यालयका अधिकारी, मुख्य निर्वाचन अधिकृतहरुसंग निर्वाचनको बारेमा जानकारी लिनु भएको थियो।
तेस्रो चरणको स्थानीय तहको निर्वाचन अब फेरी सारिए प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गराउन कठिनाई हुने डा. यादवले औंल्याउनुभयो। उहाँले राष्ट्रिय जनता पार्टी नेपाल आयोगमा दर्ता भएपनि निर्वाचनमा भने राजपाले चाहेको चिन्ह नपाउने स्पष्ट गर्नुभयो। राजनीतिक दल सम्बन्धी ऐन तथा स्थानीय तहको कानुनको कारणले निर्वाचनमा राजपाले चाहेको चिन्ह भने अहिले आयोगले नदिएको उहाँले जानकारी गराउनुभयो।
उहाँले प्रदेशको निर्वाचन र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरिएपछि नयाँ मतदाता नामावली दर्ता गर्न नमिल्ने भएकाले साउन महिनाभरी मतदाता नामावली संकलन कार्य अगाडी बढाइएको बताउनुभयो। उहाँले छुटेकाहरुलाई नाम दर्ता गराउन आग्रह गर्नुभयो। उहाँले विभिन्न कार्यालय प्रमुखहरुसंग भेटघाटको साथै परिकौलीस्थित फस्ट राईफल गणमा राखिएको मतपत्रको निरीक्षण समेत गर्नुभएको थियो।