स्थानीय तहमा आफ्ना लागि योजना छनोट गर्दै बालबालिका
बैतडी : बैतडीका स्थानीय तहले आफ्नो बजेट तयार पारिरहँदा बालबालिका आफ्ना योजना बनाउनमा व्यस्त छन्। पाटन नगरपालिकाका १० वटै वडामा रहेका बालबालिका आफ्नो योजना छनोटमा व्यस्त भएका हुन्। ‘जसको सवाल उसैको नेतृत्व भने झैं हामीहरुका योजना छनोट गर्ने अधिकार हामीलाई छ। अहिले हामी बालभेला मार्फत् योजनाहरु छनोट गरिरहेका छौं।’ पाटन नगरपालिका वडा ९ का बालक्लबका अध्यक्ष खेमराज अवस्थीले भन्नुभयो, ‘नगरपालिकाले तयार पार्ने बजेटमा हाम्रा योजना नछुटुन भनेर हामीले भेला मार्फत् योजना बनाएका हौं।’
पाटन नगरपालिका वडा ९ सिद्धेश्वर बालमैत्री घोषणा भइसकेकाले यसको निरन्तरताका लागि विभिन्न कार्यक्रमसहित योजना छनोट गरेको अध्यक्ष अवस्थीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘हाम्रो वडा बालमैत्री घोषणा भइसकेको छ। बालमैत्रीका कार्यक्रमलाई निरन्तरता दिने किसिमका योजना बनाएका छौँ।’
पाटन नगरपालिका ४ भुमेश्वरका बालबालिकाले भने वडालाई बालविवाहमुक्त गर्ने योजना अघि सारेका छन्। ‘केही दिनमै नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम पास गर्दैछ। त्यो बेला बालविवाह अन्त्यका लागि ठोस प्रतिबद्धता हुनु जरुरी छ। बालविवाह अन्त्यको मुद्दालाई ठोस रुपमा अघि बढाउने योजना बनाएका छौं।’बालक्लबका अध्यक्ष चिन्तामणी भट्टले भन्नुभयो, ‘अहिले नगरपालिकामा २० बर्षपछि जनप्रतिनिधि आएका छन्। बालबालिकाले उठाएको आवाजलाई सुन्छन कि भनेर हामीले बालविवाह अन्त्यको योजनालाई अघि सारेका छौँ।’
बालविवाह अन्त्यका साथै बालमैत्री विद्यालय, बालबालिकाका प्रतिभा पहिचान, नेतृत्व गर्न सीपको विकास लगायतका योजना छनोट गरेको बालक्लबका सदस्य वीरेन्द्र चन्दले बताउनुभयो। बालभेलाबाट छनोट गरेका योजनालाई वडाभेलाबाट पारित गराई नगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गराउने बालबालिकाको योजना छ।
पाटन नगरपालिकाका १० वडामा बालबालिकाहरुले आफ्ना योजना छनोट गरिएको बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था युवालयका कार्यक्रम संयोजक गोपाल भाटले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘हामीले पनि बालबालिकाहरुका योजना छनौटका लागि सहयोग गरिरहेका छौँ। उनीहरुका योजनालाई प्राथमिकता दिनका लागि सरोकारवालाहरुसंग आग्रह समेत गरिरहेका छौं।’
पाटन नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणाका लागि बालक्लबहले विभिन्न सचेतनामूलक कार्यहरु गर्दै आएका छन्। नगरपालिकाको ९ सिद्धेश्वरलाई यसअघि नै बालमैत्री घोषणा गरिसकिएको छ।
पाटन नगरपालिकालाई बालमैत्री घोषणाका लागि विभिन्न सूचक पूरा गर्ने काम भइरहेको नगरपालिकाका कार्यकारी अधिकृत दशरथराम ओडले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘हामीले नगरपालिकालाई बालमैत्री घोषणाका लागि गत बर्षदेखि नै प्रयास गरिरहेका छौं। बालबालिकाका योजनालाई प्राथमिकता दिने, नगरपालिकाका कार्यक्रमहरुमा उनीहरुलाई समावेश गर्ने गरिरहेका छौँ।’