चर्को भाडा असुल्दै एम्बुलेन्स चालकहरु
नुवाकोट : नुवाकोटमा एम्बुलेन्स चालकहरुको दादागिरीका कारण बिरामीहरुले शास्ती भोग्नु परेको छ । एम्बुलेन्स चालकहरुको मनलाग्दी भाडादर नियन्त्रणमा स्थानीय प्रशासनले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले एक वर्ष अघि एम्बुलेन्सहरुको भाडा निर्धारण गरेको थियो । जसमा पक्की सडकमा प्रतिकिलोमिटर ४० रुपैयाँ र कच्ची सडकमा एक सय रुपैयाँ भाडा तोकिएको थियो । तर, एम्बुलेन्सले भने प्रशासनले तोकेको भाडा दर कार्यान्वयन गरेका छैनन् र आफूखुसी पैसा असुल्दै आएका छन्।
सरकारले तोकेको भाडादर अनुसार ७० किलोमिटर दुूरी रहेको त्रिशूलीबाट काठमाडौंसम्म बिरामी लगेको दुई हजार आठसय रुपैया हुनुपर्नेमा बिरामीबाट चार हजार पाँच सयदेखि ६ हजार रुपैयाँसम्म लिइरहेको पीडितले गुनासो गरेका छन्।
एम्बुलेन्सहरुले पनि ट्याक्सी जस्तो बार्गेनिङ गरिरहेको आफूले सुनेको उल्लेख गर्दै नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले एम्बुलेन्सको नियमनका लागि तयारी भइरहेको बताउनुभयो । गाउँबाट बिरामी लिएर आउँदा चालकहरुले मागेजति भाडा बिरामीका आफन्तहरुले दिने र काठमाडौं जाँदा घण्टौँसम्म जाममा बस्नुपर्ने भएकाले अधिकांश एम्बुलेन्स चालकहरुले काठमाडौं जान आनाकानी गर्ने गरेको एक जनाले बिरामीले बताउनुभयो।
बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले सरकारले ३० लाख रुपैयाँ पर्ने एम्बुलेन्स १० लाख रुपैयाँमै उपलब्ध गराएर सहुलियत दिएको जनाउँदै सरकारी सहुलियतलाई बिर्सिएर नाफा कमनाउनेतर्फ सक्रिय भएको बताउनुभयो।