भक्तपुरको तीन दोबाटोमा पिचासको दहन (फोटो फिचर)

 भक्तपुरको तीन दोबाटोमा पिचासको दहन (फोटो फिचर)

भक्तपुर: प्रत्येक वर्षको साउन कृष्ण चतुर्दशीका दिन काठमाडौं उपत्यकासँगै देशभरका नेवार वस्तीका चौबाटो, तीनदोबाटो तथा दोबाटोमा गथामुग (घण्टाकर्ण) जलाइन्छ।

धेरैजसो सर्वसाधारणहरु गथामुगलाई पिचासको संज्ञा दिन्छन्। त्यस्तै गथामुगलाई बालबालिका मारेर खाने राक्षसको रुपमा बढी चित्रण गरिएको पाइन्छ। समाजलाई दुःख दिने पात्रको रुपमा रहेको गथामुगलाई सोहीअनुसार दोबाटो र चौबाटोमा लगी जलाउने गरिन्छ।

यसलाई जलाइसकेपछि बालबालिकालाई उसको खरानीको टीका लगाइदिने तथा त्यसलाई नाघ्न लगाइन्छ। यसो गर्दा बालबालिकामा रहेको डर भाग्ने तथा रुन्चे लागेको हट्ने जनविश्वास रहेको छ।

यसरी जलाइने गथामुगको लिंग कुन होला? सबैको उत्तर पुलिंग भन्ने आउनसक्छ। तर भक्तपुरमा मनाइने गथामुग पुलिंगीमात्रै हुँदैनन्, स्त्रीलिंगी गथामुग पनि नगर तथा गाउँका टोल टोलमा जलाइन्छ।

पहिले धेरै स्थानबाट निकालिने पुलिंगी र स्त्रीलिंगी गथामुग अहिले भने एकाध ठाउँमा मात्रै अस्तित्वमा बाँकी छ।जसमध्ये भक्तपुर नपा २ व्यासी भने अहिलेसम्म पुलिंगी र स्त्रीलिंगी दुइटै गथामुगलाई सँगै लगरे जलाइँदै आएको छ। जसअनुसार शुक्रबार साउन कृष्णपक्ष चतुर्दशीका दिन पनि पुलिंगी र स्त्रीलिंगी गथामुग बनाएर स्थानीय भक्तपुर नपा १ हाकुफल्चास्थित तीन दोबाटोमा दहन गरेका छन्।

'पहिले भक्तपुरका धेरै ठाउँमा पुलिंगी र स्त्रीलिंगी गथामुग सँगसँगै बनाएर दोबाटो, चौबाटोमा दहन गरिन्थ्यो’, संस्कृतिविद् ओमप्रसाद धौभडेल भन्नुहुन्छ, 'तर अहिले भक्तपुर नपा २ व्यासीमा मात्रै यसले निरन्तरता पाउँदै आएको छ।'

उहाँका अनुसार अन्य ठाउँमा जोडी गथामुग बनाइए पनि पहिले जस्तो पुलिंगी र स्त्रीलिंगी बनाइँदैनन्।जोडी गथामुगमध्य पुलिंगी र स्त्रीलिंगी स्पष्ट छुटिन्छ। पुलिंगी गथामुगको अनुहारमा जुँगा बनाइएको छ। त्यस्तै पुरुष जनेन्द्रीयको रुपमा लट्ठीमा पराल बेरिएकोसँगै दुइटा भोगटे झुन्ड्याएका हुन्छ।

स्त्रीलिंगी गथामुगको अनुहारमा भने गाजल लगाइदिएको हुन्छ। त्यस्तै पराल बेरेर स्त्री जनेन्द्रीय झुण्ड्याइदिएको हुन्छ।पुलिंगी र स्त्रीलिंगी गथामुग दहन गरिँदा तिनीहरुलाई समागम गराइएपछि मात्रै जलाइने उहाँ बताउनुहुन्छ। त्यस्तै उहाँका अनुसार एकजोडी गथामुगलाई बस्तीबाट पर दोबोटो चौबाटोतर्फ सेलाउन लाँदै गरिँदा अनेकौं अश्लील गालीगलौजसमेत गरिन्छ।

'नेवारी समाजमा होली पूर्णिमालाई बसन्त ऋतुको आगमन मानिन्छ। यसबेला पनि अश्लील गीतसंगीतको प्रस्तुति हुन्छ। साथै बसन्त ऋतुलाई प्रेम, प्रेमीप्रेमिकाको राशलीला तथा यौन समागमको पर्व मानिन्छ', संस्कृतिविद् धौभडेलले थप्नुभयो, ‘तर गथामुग सुरु भई नाग पञ्चमीपछि काठमाडौं उपत्यकामा चिसो सुरु हुन्छ।

त्यसैले अब प्रेम, यौन क्रीडा, समागमलाई भुलेर धर्मकर्मतिर लाग्ने तथा विकास निर्माणतिर लाग्नुपर्ने सन्देश एवं प्रतीकस्वरुप गथामुगको जोडीलाई समागमकै स्थितिमा दहन गरिन्छ। यसले सर्वसाधारणलाई यौनबाट विमुख गराउन तथा घृणा जगाउन गथामुग सेलाउन लैजाँदा विभिन्न अश्लील गालीगलौज गरिन्छ।'

गथामुग पिचास होइनन्
संस्कृतिविद्हरु गथामुग कुनै पिचास वा राक्षस पनि होइनन्। यी त स्थानीय क्षेत्रमा रहेका भैरव तथा अन्य देवताको प्रतीक भएको उनीहरु बताउँछन्।

संस्कृतिविद् धौभडेलका अनुसार गथामुग अन्य देवीदेवताको नाम सुन्न नचाहने नास्तिक, सुनलाई भन्दा फलामलाई महत्व दिने व्यक्ति र भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने पात्र हुन्।

‘विशेष गरी देवदेवीको नाम सुन्नुपर्ला भनी हरहमेशा आफ्ना कानमा ठूलाठूला घण्टा झुण्डाइराख्ने भएर उनको नाम घण्टाकर्ण भएको हो', उहाँ भन्नुहुन्छ।

अहिलेसम्म भेटिएको प्रमाणमध्ये सबैभन्दा पुरानो गोपाल राजवंशावलीमा उल्लेख भएको गण्ठकर्ण चवदशबाट घण्टाकर्ण भएको उहाँको भनाइ थियो।त्यस्तै ने.स. ६९१ मा लेखिएको हितोपदेश ग्रन्थमा पनि गण्ठकर्ण चवदश उल्ल्ेख गरिएको उहाँ बताउनुहुन्छ।

उहाँका अनुसार ने.स. ७९२ को एउटा नेपालभाषाको गीतमा पनि स्पष्टसँग छ्वालीको घण्टासुर बनाई सेलाउने उल्लेख रहेको छ। ने.स. ८१८ मा भक्तपुर तलेजुस्थित मालती चोकमा भेटिएको एउटा शिलापत्रमा साउन शुक्ल चतुर्दशीलाई स्पष्टसँग गाथामोगल चवदश भनिएको उहाँले बताउनुभयो।

नवदुर्गामा महादेवको उत्पत्ति
यस दिन भक्तपुरको नवदुर्गा गणभित्र महादेवको उत्पत्ति हुने जनविश्वाससमेत रहेको छ। यसैलाई आधार मानी गाथा (नवदुर्गा गण बन्ने जाति) बाट शिवलिङ्ग स्थापना हुने भएकोले यस दिनलाई गथामुग चह्रे भनिएको संस्कृतिविद्हरुको अभिमत रहेको छ।

‘बनमालाहरु कुनै कलाकार होइनन्, त्यसैले उनीहरुले यस दिन बनाउने शिवलिंग साँच्चिकै शिवलिंग जस्तो नभई मुग (माटाको डल्ला फुटाउने डलेठो) जस्तो बन्न गएकोले यस दिनलाई गथामुग भनिएको हो’, संस्कृतिविद् धौभडेलले भन्नुहुन्छ।

नेपाली संस्कृतिमा मार्ग कृष्ण चतुर्दशीलाई बाला चतुदर्शीले चिनिन्छ। जसका प्रमुख नायक बालासुर जो शिवकै एक रुप हुन्। चैत कृष्ण चतुदर्शी पिशाच चतुर्दशी हो, जसका अधिपति भूतप्रेत पिचास शिवकै गण हो।

यता फागुन कृष्ण चतुर्दशी शिवरात्री त भगवान शिवकै पूजा आराधना गर्ने दिन हो। त्यसैले श्रावण कृष्ण चतुर्दशीको दिनका नायक गथामुग पनि शिवकै रुप भएको संस्कृतिविद्हरुको तर्क रहेको छ।

गथामुगको वातावरणीय महत्व
गथामुगको वातावरणीय महत्वसमेत रहेको छ। असारपछि साउन महिनामा दिनहुँजसो झरी भइरहन्छ। यसले भुसुना, लामखुट्टे जस्ता हानिकारक कीराहरुले सर्वसाधारणलाई दुःख दिन्छन्। यसले मानिसहरु मौसमी बिरामी पनि हुन्छन्।

यस्ता हानीकारक कीराहरुलाई टोलबस्तीबाट भगाउन छ्वालीलगायत बालेर धुँवा आगो बनाएर बस्तीभन्दा टाढासम्म भगाउन गथामुगको दहन गरिनु वैज्ञानिक भएको वातावरणविद्हरु बताउँछन्।

उनीहरुका अनुसार यसै दिन किसानहरुले आआफ्नो भण्डार तथा पराल र छ्वाली राख्ने ठाउँ सफा गर्छन्। यस दिन गथामुग बनाउन सर्वसाधारणहरु बाजागाजासहित घरघरमा गएर छ्वाली र पराल माग्न जाने गर्छन्।

यसरी माग्न आउनेलाई किसानहरुले आफूले सफा गरेको ठाउँबाट उब्रेको छ्वाली तथा पराल दिएर पठाउँछन्।यस हिसाबले गथामुगको धार्मिक र सांस्कृतिकमात्रै नभई वातावरणीय महत्वसमेत रहेको वातावरणकर्मी दीपेशराज शर्मा बताउनुहुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.