मध्यमवर्गीय सर्पहरु

मध्यमवर्गीय सर्पहरु

बलात्कार आधा मृत्यु हो । यो योनीच्छेदन वा पाशविक प्रकारको शारीरिक हिंसामात्र होइन, व्यक्तिको चेतनाकै उच्छेदनको अवस्था हो । जीवनका रहर, योजना र ऊर्जाहरू च्यातिएको अधमरो स्थिति हो । जहाँ व्यक्ति ‘बायोलजिकल्ली अलाइभ' त देखिन्छ तर ऊभित्रका मानसिक जीवनका जराहरू भयावह तरिकाले हल्लिसकेका हुन्छन् ।

मृत्युको खरानी टक्टक्याउँदै फुरुरु उड्ने फिनिक्स चराजस्ता हुन् तिनीहरू जो बलात्कारको घनघोर अँध्यारो छिचोलेर पनि सकर्मक जीवनमा फर्किन सक्छन् । यद्यपि बलात्कारका घटना पुरुषमाथि नघट्ने होइनन् । पुरुष (बालकसमेत) माथिका यौन दुराचारका घटना बेलाबेला सुनिन्छन्, पढिन्छन् । जबर्जस्ती अप्राकृतिक मैथुन गरिएका र यौन शोषणका लागि पुरुषले पुरुषलाई नै बन्धक बनाएका प्रकरण नसुनिने होइन । तथापि बलात्कारको सामान्यीकृत अर्थ पुरुषले महिलामाथि जबर्जस्ती गर्ने यौनिक हिंसा भन्ने नै हुन्छ ।

हरेक दिनजसो अखबारका भित्री पृष्ठमा बलात्कारका बारदात समाचार बनेर आउँछन् । तर संवेदनहीनताको सामूहिक रोगले समाजको हृदय डरलाग्दो गरी बोधो बनाइसकेको छ । एकपछि अर्को गर्दै कति असामान्य घटनाहरू भइरहेका हुन्छन् तर समाज लगभग ‘सामान्य' देखिन्छ । ओठमा कसैले यमानको भोटेताल्चा लगाइदिएजस्तो कोही केही बोल्दैन ! एकादुई लेखक या स्तम्भकारको आवाज काग कराउँदै पिना सुक्दै भन्ने उखानजस्ता लाग्छन् । तिनको विवेकसम्मत स्वर लाई ‘गनगन' भनेर भित्ता लगाइदिने बौद्धिक जमातलाई देशका ‘ठूला' राजनीतिक बहस र अन्तर्राष्ट्रिय ‘इस्यु'ले मात्र आकर्षित गर्छन् ।

सर्वसाधारण मानिसहरू छन् बिल्कुलै भावहीन भइसकेका । तमासाजस्तो केही हुन्छ, जम्मा हुन्छ भीड । देखुन्जेल, सुनुन्जेल ए ! कठै ! वा चुचु...! को सहानुभूति दोहोर्‍याउने र भरे आनन्दले घुरेर निदाउने मुर्दा भीड । यस्तो भीडको उपस्थितिले पीडितको घाउमा ओखती लगाउन्न उल्टै रहेबँचेका ठाउँ कोपरेर रगताम्मे पारिदिन्छ । अझ, बलात्कारसँगै हत्या पनि जोडिएका कैयौं प्रकरण छन् । फेरि पनि मानिसहरू सामान्य छन्, प्रतिक्रियाविहीन । ‘एज युजल' ।
बलात्कार क्षणिक उत्तेजनामात्र होइन । यसमा शक्ति-संरचनाको गहिरो मनोविज्ञान जोडिएको हुन्छ । तथाकथित ‘मर्दपन'को मनोविज्ञान ।

किन कुनै महिलाले बलात्कार गरेका घटना सुनिँदैनन् ? किन बलात्कारी पुरुष मात्र (अपवाद पनि होलान् तर पंक्तिकारको जानकारीमा छैन) हुन्छन् ? अमेरिकी लेखक सुसन ब्राउनमिलर आफ्नो प्रसिद्ध कृति ‘अगेन्स्ट आवर विल : म्यान, उमन एन्ड रेप'मा लेख्छिन्, ‘प्रागैतिहासिक कालदेखि आजसम्म बलात्कारले ठूलो भूमिका खेलेको छ । यो महिलाहरूलाई भयभीत बनाएर समाजमाथि पूर्ण नियन्त्रण गर्ने षड्यन्त्र हो ।' तर मिलरको भनाइलाई खण्डन गर्नेहरू भन्छन्, पुरुषको यत्तिकै पनि लामो समयदेखि सत्ता, सम्पत्ति, समाज र महिला सबैमाथि पूर्ण अधिकार त छँदै छ । बलात्कारको प्रकोप सिर्जना गर्नुपर्ने त्यस्तो छुट्टै कारणको आवश्यकता छैन । यो त बरु विकृत र विक्षिप्त रोगी पुरुषहरूको व्यक्तिगत अपराध हो ।

एकछिनलाई मानौं, बलात्कार अपराध व्यक्तिगत नै हो । तर, त्यसका कानुनी व्याख्या र व्यावहारिक पाटा हेर्ने हो भने यसको सार शक्तिमाथिको एकाधिकार र सत्तासंरचनामै केन्द्रित हुन्छ । कारण, यस्तो अपराध गरेर पनि शक्तिका सूत्रहरूको प्रयोगले पुरुषले उन्मुक्ति पाउँछ तर महिला जीवनभर त्यसैले बनाएका चोट बोकेर बाँच्न बाध्य बनाइन्छन् । मानौं, व्यभिचार पुरुषको निर्बन्ध ‘लाइसेन्स' हो र बाटो दोबाटो उसले गराउने दुर्घटनाको भुक्तानचाहिँ उसैबाट पीडित महिलाले गर्नुपर्छ । चाहे त्यो सानी बालिका होस् कि वृद्धा, बहिनी, भान्जी, छोरी नै किन नहोस् । जीवनभर प्रश्नको घेराभित्र महिला नै उभिनुपर्छ । न्यायशास्त्र भन्छ, न्यायमा विलम्ब भनेको न्याय नै नहुनु बराबर हो । तर, जब शरीर र आत्मा दुवै ठाउँमा लागेका चोटसहित अर्काले आफूमाथि गरेको अपराधको समेत भारी बोकेर हिँड्नुपर्छ, तब न्याय के ? अन्याय के ? त्यहाँ के शीघ्र ? के विलम्ब ?


हामीकहाँको न्यायको भाषा जता बटारे पनि बटारिने अचम्मको ‘लचकदार' लाग्छ । पीडित बालिका घटना भएको डेढ महिना बितिसक्दा पनि ‘नर्मल' हुन सकेकी छैनन् भने पीडकहरू ‘नाबालक' भएकै कारण उन्मुक्त भई सामान्य जीवनमा फर्किसकेका छन् । के राज्यले पीडकलाई उसले गरेको दुष्कर्मको अपराधबोधसम्म पनि गराउनु पर्दैन ?

यहीँनेर आउँछ सामूहिक संवेदनाको भूमिका । चाहिन्छ, पुरुषलाई बलात्कारी भइरहन पाउने लाइसेन्स प्रदायक सत्तासंरचना खारेज गर्ने हिम्मत । देखिने हिंसा त सबैले देख्छन्, नदेखिने अपराध र नभनिने तथ्यभित्र समेत पस्नसक्ने इच्छाशक्ति । र, त्यहाँभित्रबाट ल हेर दुनियाँ कति घिनलाग्दो छ ! जजसलाई समाजको माया छ यसलाई सफा पार्न आऊ भन्ने आह्वान ।



‘एक्सक्लुसिभ' मध्यमवर्गीय हरेउँ

पछिल्ला केही मुद्दामा ठोक्किएपछि सामाजिक राजनीतिका अरू पक्षजस्तै अपराधका ‘काण्ड' पनि भिजिबल र इनभिजिबल हुने आधार मूल रूपमा वर्गीय र त्यसपछि जातीय हुँदो रहेछ भन्ने ‘थाहा' पाइँदैछ । अपराधीलाई ‘अपराधी' भनिन पीडकको वर्गले महत्ववपूर्ण भूमिका खेल्दो रहेछ । उच्च जाति वा वर्गको भएका कारण अपराधीका सारा अपराध पाखण्डको कार्पेटमुनि लुक्दा (लुकाइँदा) रहेछन् । कैयौं मुद्दा कहिल्यै प्रहरी कार्यालयको ढोका नै नदेखी दपेटिन्छन् । अदालतको रेकर्डमा देखिने मुद्दामा त्यस्ता पात्र अधिक छन् जो सामाजिक राजनीतिमा कमजोर छन् ।

जसको वर्गीय वा जातीय (वा एकैसाथ दुवै) स्टाटस माथि छ, तिनको अपराध नगण्य रूपमा मात्र सार्वजनिक हुने देखिन्छ । पीडित आजीवन मुख नखोली बाँच्ने अवस्थामा समाजको त कुरै छोडौं, परिवारभित्र समेत न्याय ‘आकाशको फल' तुल्य रहेछ । न्याय किनिने समाजमा निम्न वर्गको पीडक आर्थिक अक्षमताकै कारण उम्कन सक्दैन र मात्र सजायको भागिदार बन्छ । पैसा र शक्तिको आडमा डर धम्की र आतंकले पीडितलाई प्रभावित गर्नसक्ने ‘अपराधी'हरू हाम्रै छेउछाउमा हुन सक्छन् । तिनले घटाएका असंख्य प्रकरण ‘मुद्दा'नै बन्दैनन् । तिनलाई कहिल्यै, कसैले सजाय दिँदैन । पीडक बिल्कुलै नजिकको मानिस हुन सक्छ । काका या मामा अथवा तीभन्दा पनि नजिकको हजुरबाउ, दाजु (भाइसमेत) वा बाउ ! यस्तो अवस्थामा पीडितको मानसिक दुर्दशा कुन तहको हुँदो हो ? कसैले कल्पना गरेको छ ?

यस्ता केही तथ्यहरू पेस गर्छु—
आफ्नै बाबुबाट विगत चार वर्षदेखि बलात्कृत हुँदै आएकी सुषमा (नाम परिवर्तन) सँग त्यसरी भेट होला भन्ने मेरो कल्पनामै थिएन । ‘वेल म्यानेज्ड' परिवारकी एकमात्र छोरी । बाबु सरकारी जागिरे । आमा ‘स्वरोजगार' । ९ कक्षामा पढ्ने एउटा भाइ । हजुरबा, हजुरआमा सहितको ‘अच्छाभला' संयुक्त परिवार । बाहिरबाट हेर्दा त्यस परिवारमा यस्तो जघन्य अपराधको कल्पना नै असम्भव लाग्छ । मेडिकल साइन्स पढ्ने सुषमाका दुर्दान्त बयान सुन्दा मेरो चेतनामा कति रेक्टर स्केलको भुइँचालो आयो, गयो । हेक्का राख्ने मनस्थिति थिएन । के छोरीप्रति आफ्नै पिता यति नृशंस हुन सक्छ ? सनन्न भएँ । यस्ता प्रकृतिका घटनाबारे मैले सुनेको त थिएँ तर स्वयं ‘भिक्टिम' सँग साक्षात्कार भएको थिएन ।

उनको आवाजले, उनकै आँखा र अनुहारले लखेटिँदा हफ्तौं निदाउन सकिनँ । आत्मा पोल्छ । के गरौं, कसो गरौं हुन्छ । अधिकार आन्दोलनमा समर्पित साथीहरू, मेडिकल र वकालतको क्षेत्रमा काम गर्ने परिचितहरू यस्ता मामिलामा अभ्यस्त भइसकेको बताउँछन् । पीडितसँगै बसेर गरिएका कुरा अविश्वसनीय रूपले सत्य थिए । मैले यी कुरा नपत्याई धर थिएन । सत्र, अठार वर्षकी मेडिकल स्टुडेन्ट केकस्ता कुरा आफ्ना पक्षमा प्रमाण हुन्छन् भन्नेबारे जानकार नहुने कुरै भएन । रेकर्ड गरेर सार्वजनिक गरिदिने शंकाले फोनसमेत कोठामा राख्न नदिने बाउको नाममात्र लिँदा बत्तीसै दन्त कट्कटाउने ती नानीलाई मैले भनेँ, ‘तिमीले चाह्यौ भने साथ दिने हात छन् । नडराऊ, मन दह्रो पार ।'

मैले केही साथीलाई यो समस्या बताएँ । सहयोग र सुझाव मागेँ । सबैको राय एउटै थियो, पीडितको इच्छा र निर्णयबेगर अगाडि नबढ्नू । कतिपयले त बेकारमा फँसिने डर पनि देखाए । तर उनको पीडालाई ‘पर्सनल' भनेर छोड्ने स्थिति थिएन । मानौं आफ्नो कहानी भन्नमात्र उनी मसित भेटिएकी थिइन् ! के भयो, खै किन ? त्यसपछि अनेक कोसिसका बाबजुद पनि उनी सम्पर्कमा आइनन् । परिवारको तथाकथित इज्जत जाने भयले, आफ्नो भविष्य असुरक्षित हुने, समाजमा बदनाम हुने आतंकले । अथवा अरु नै केही कारणले ? मेरो छटपटी अर्थहीन भयो ।

मनोवैज्ञानिक बल दिएकोमा धन्यवाद दिँदै पछि खबर पठाइन्, ‘अब हिम्मत आएको छ, आफ्नो तरिकाले प्रतिकार गर्छु । तर, मेरो नामको गोपनीयता सुरक्षित राखिदिनुहोला ।' उनका क्लासमेटहरूमार्फत ज्ञात भएको यो तथ्य कति गोप्य रहला ? मलाई थाहा छैन । म जान्दिनँ, ती साँच्चै प्रतिकारको प्रयास गर्दै होलिन् या अझै पनि बाबुको पाशविक पन्जाको सिकार हँदै ? (यस प्रकरणमा सबभन्दा डरलाग्दो लाग्यो पीडितकी आमाको मौनता । यिनी लोग्नेले छोरीमाथि वर्षौंदेखि गर्दै आएको कुकृत्यको मूकदर्शक हुन् । आश्चर्य लाग्छ, कुन कुराले ती आमालाई यस्तो कठोर र निष्क्रिय बनाएको होला ? सुषमाकी आमा भन्छिन् रे, पर्खी तेरो बिहेपछि सब ठीक हुन्छ ।) यस प्रकरणमा जोडिएका अनेक विष्मयकारी प्रसंग छन् । परिवारका हरेक पात्र अनौठा र अजिब खाले लाग्छन् । भद्रताको आवरणभित्र अपराधका कैयौं तथ्य लुकाएर बसेका यस्ता परिवार कति होलान् समाजमा ?

यो एउटामात्र र अन्तिम घटना होइन । यस्ता प्रकरण अरू पनि छन् । जिल्ला प्रहरी कार्यालय, चितवनमा हालसालै दर्ता भएको एक उजुरीमा भरतपुरको साविक जगतपुरबाट वर्ष ३३ का व्यक्ति आफ्नी आठ वर्षीया छोरीलाई पटकपटक जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । यो मुद्दा असार २५ गते दर्ता भएको हो । यस्ता प्रकृतिका मुद्दा सामान्यतया प्रहरीकहाँ आइपुग्दैनन् । कारण, पीडक घरैभित्रैको हुनु हो । परिवारमा, त्यो पनि रक्षक र पालक भनिएको पिताबाटै यौन शोषणमा पर्नु सामान्य हँदै होइन । यो मानवीय मर्यादा र गरिमाको विपरीत त हँदै हो, कानुनका नजरमा पनि दण्डनीय दुर्लभ अपराध हो । पीडक निम्न वर्गको भएकाले बलात्कार ‘काण्ड'का रूपमा भिजिबल हुने स्थितिको प्रमाण हो यो ।चितवनकी एक अधिकारकर्मीले आफ्नो सम्पर्कमा आएका यस्तै खाले अरू दुईवटा प्रकरण सुनाइन् ।

भरतपुर महानगरपालिकाभित्रैको एउटा व्यवस्थित र ‘भद्र' परिवारमा केही दिनअघि एउटा लामो समयचक्रको कुकृत्य बाहिर आयो । तर, यो मामिला प्रहरीकहाँ पुगेको छैन । तीनवटी छोरीमाथि बलात्कार गर्ने बाबुको कहानी सुन्दा अतिरञ्जनाजस्तो लाग्छ । तर हो सत्य । कठोर सत्य ! पहिले जेठी छोरीलाई लगातार यौनप्यासको सिकार बनाएको बाबुले जेठी छोरीको बिहेपछि माइली छोरीमाथि त्यही क्रम दोहोर्‍यायो । माइली छोरीको पनि बिहे भएर गएपछि कान्छी छोरीलाई जबर्जस्ती गर्न खोज्दा भएको प्रतिरोधका क्रममा यो घटना अधिकारकर्मीसमक्ष आइपुगेको हो । यो प्रकरण ‘मुद्दा' बन्ला वा नबन्ला, अहिले केही भन्न सकिने अवस्था छैन ।

अर्को यस्तै प्रकृतिकी पीडित छिन् । यौनपिपासु बाबुको पन्जाबाट उम्केर अधिकारकर्मीका सम्पर्कमा आएकी । यिनी छिमेकी जिल्ला नवलपरासीकी हुन् । अरू कुनै उपायले फुत्किन नसकेपछि हात भाँच्चिएको बहाना बनाएर उपचार गर्न चितवनको एक प्राइभेट हस्पिटलमा आइपुगेकी किशोरीको बयान मैले भेटेकी सुषमाको भन्दा कम कहालीलाग्दो छैन । ‘हाडजोर्नी विशेषज्ञ डा. अर्जुन श्रेष्ठसमक्ष आफ्नो वास्तविक समस्या बताएपछि उनै डाक्टरको सहयोगले पीडितबारे जानकारी पाइयो', अधिकारकर्मी बताउँछिन् ।

मध्यम वर्ग पाखण्ड र आडम्बरको पुञ्ज हो । उच्च र निम्न वर्गका तुलनामा यो तथाकथित इज्जत र प्रतिष्ठा सुरक्षित राख्ने मामलामा बढी नै सतर्क रहन्छ । समाजको सबैभन्दा ठूलो समूह यही तप्कामा छ । वर्गीय राजनीति गर्नेदेखि आमसञ्चारका माध्यममा बोल्ने, लेख्नेको ध्यान कि उच्च वर्गतिर लक्षित हुन्छ कि गरिब सर्वहारातिर । अधिकांश राजनीतिक, सामाजिक व्यक्तित्वको वर्ग स्रोत यही भएर पनि होला, आफ्नो समुदायतिर फर्केर हेर्ने इच्छा खासै देखिन्न । यो वर्गमा व्यक्ति ‘सोसल' भइदिए पुग्छ । समाजप्रति ‘सहयोगी' भावको भए पुग्छ ।

सर्वहारावर्गको ‘एड्भोकेसी' गर्ने वाममार्गी चेतनामा त यौनपिपासु भनेका कुलीन सामन्तहरू मात्र हुन्छन् भन्ने मान्यता जाम परेर बसेको छ । त्यसकारण पनि मध्यम वर्ग अपराधी मानसिकताको ‘सेफ जोन' बनिरहेको अनुमान गर्न सकिन्छ । सुषमाको कथनमा यही सत्य थियो, ‘मेरो ड्याडीको इमेज यस्तो सोसल र हेल्पफुल छ । कसैले पत्याउन्न उसले यस्तो गर्छ भनेर !'

मध्यम वर्ग एउटा हराभरा जंगल त हो । तर यही जंगलमा केही मानिस बडो चलाखीपूर्वक आफूलाई लुकाएर राख्न समर्थ भएका छन् । जसरी हरिया पातहरूको बीचमा बिखालु हर्‍यौ (एक प्रकारको हरियो सर्प) लुकेर बस्छ । यिनीहरू त्यस्तै ‘हिडन क्रिमिनल' हुन् । यिनलाई चिन्ने र नांगेझार पार्ने स्वयं मध्यम वर्गले हो ।

न्यायको भाषा

गत जेठ २० गते चितवनको माडी, रामराज्यपुरमा सोच्दै नसोचेको घटना भयो । शनिबारको दिन नजिकैको जंगल छेउमा पिकनिक खान भनेर बिहान ९ बजे साथीहरूसित गएका ९ र १० वर्षीया नानीहरू दिउँसो १ बजे पोखरीमा मृत भेटिए । सुरुमा भवितव्य ठानिएको यो प्रकरणका तथ्यहरू पछि गएर बलात्कारपछि हत्या भएको आशंकातिर मोडिए । स्थानीय जनता, प्रहरी, प्रशासन र राजनीतिक दलका महिला प्रतिनिधिहरूको सहभागितामा स्थलगत अध्ययन भयो । प्रहरीले आफ्नो अनुसन्धान थालनी गर्‍यो । स्थलगत बयान र साक्ष्यहरूका आधारमा आरोपको सुई गाउँकै दुई ‘नाबालक' र तीन युवकतिर सोझियो ।

मृतकमध्ये एकको योनी च्यातिएको (कुमारी झिल्ली च्यातिएको) अवस्था र स्थलगत रिपोर्टका आधारमा बलात्कारपछि हत्या नै हो कि भन्ने देखिए पनि प्रहरीको रिपोर्टमा पोखरीमा रहेको ‘खबटे कीराले टोकेर' योनीमा रक्तस्राव भएको भन्ने पीडित पक्षले मान्न तयार भएन । शव पोस्टमार्टमको मागसहित दलका महिला प्रतिनिधिहरूको संयुक्त संघर्ष समितिले अस्पतालअगाडि धर्ना दियो । प्रहरी प्रशासनमा दबाब दियो । त्यही दिन दुई ‘नाबालक'सहित पाँचजनामाथि पीडित पक्षको किटानी जाहेरी दर्ता भयो ।

त्यसपछि विकसित घटनाक्रममा माडीस्थित राजनीतिक दलका प्रतिनिधिको ‘अनुसन्धान'ले मृतकहरूको भवितव्य मृत्यु ठहर गरी आरोपीहरूलाई उन्मुक्ति दिनुपर्ने जिकिर गरेको छ (यहाँ, प्रहरीद्वारा अनुसन्धान हुँदै गरेको मुद्दामा राजनीतिक दलका प्रतिनिधिले गरेको ‘ठहर'ले अनुसन्धानलाई प्रभावित गर्न सक्छ कि सक्दैन ? भन्ने प्रश्न ज्वलन्त रूपमा उभिएको छ) भने तत्तत् पार्टीकै महिला प्रतिनिधि सम्मिलित संयुक्त संघर्ष समिति भने प्रहरी प्रशासनको अनुसन्धानको गतिप्रति असन्तुष्ट छ ।

अहिले दुईजना ‘नाबालक' मुक्त भइसकेका छन् र तीनजनालाई पूर्पक्षका लागि थुनामा राखिएको छ । दलका प्रतिनिधि अब केस ‘सल्भ' भइसकेको र आरोपीहरू निर्दोष भएको भाषा बोल्छन् । जब कि सरकारी वकिलको कार्यालय, चितवनबाट प्रकाशित जिल्ला अदालतको तथ्यांकअनुसार (आव२०७३ र ०७४ महिला तथा बालबालिका पीडित रहेका मुद्दाहरूको तथ्यांक) यो चालू मुद्दाकै रूपमा रहेको छ । यो मुद्दा झन् पछि झन् रहस्यमय बन्दै जानु र न्यायको भाषामा ‘खबटे कीरा' पस्नुको संयोग मृतक दुवैजना दलित र गरिब परिवारका छोरी हुनु त होइन ? यो शंकाको निवारण कसले गर्ने ?

चितवन जिल्ला अदालतमा आव २०७३ र ०७४ मा महिला र बालबालिका पीडित रहेका कुल ६० वटा मुद्दामध्ये १८ वटा मुद्दा १६ वर्षभन्दा मुनिका बालिकामाथि जबर्जस्ती करणी र आशय करणीसँग जोडिएका छन् । तीमध्ये एउटा मुद्दाको प्रकृति अरूभन्दा बिल्कुलै भिन्न र अनौठो छ । आठ वर्षकी बालिकालाई चारजनाले गरेको सामूहिक बलात्कार ! कानुनले नाबालक ठहर्‍याएको उमेरका किशोरहरूबाट । १२, १३ र १५ वर्षका उनीहरूलाई करणी उद्योगमा सहयोग गर्ने १४ वर्षीया किशोरी छिन् । सामूहिक बलात्कारको सिकार भएकी बालिका शारीरिकमात्र होइन मानसिक रूपले समेत विक्षिप्तावस्थामा उपचाररत छिन् ।

तिनलाई चिचवनस्थित मेडिकल कलेजको सघन उपचार कक्षबाट हाल कान्ति बाल अस्पतालमा सारिएको छ । अदालतले पीडकमध्ये एक जना (त्यो पनि मतियारका रूपमा रहेकी किशोरी मात्र)लाई बालबालिकासम्बन्धी ऐनबमोजिम बाल सुधारगृहमा राख्न सिफारिस गरेको छ । तर बलात्कारी साबित भएका किशोरहरू मुक्त भइसकेका छन् । पीडकहरूमा ग्लानि वा अपराधबोधको भाव त परै जाओस्, कानुन नलागेर उन्मुक्ति पाएको भन्दै पीडित पक्षलाई तिनका अभिभावकले दिएको मानसिक यातनाले अर्को अपराधको रूप लिएको छ । अचम्म त के भने सार्वजनिक अपराधको कसुरमा पीडकका आमाहरूलाई मुद्दा चलाइएको छ ।

यो मुद्दाले ‘टिनएजर' बलात्कारीलाई गर्ने कारबाहीको प्रभावकारी ऐन र त्यसको कार्यान्वयनतर्फ संकेत गरेको छ । ‘नाबालक'हरूलाई अपराधकर्मतिर डोर्‍याउने तत्ववहरू के के हुन् ? यसको ठीकठीक अध्ययन हुनु पनि उत्तिकै जरुरी देखिन्छ । घटनाको पीठिकामा सुकुमबासी बस्ती छ । त्यहाँ आर्थिक, मनोसामाजिक र अन्य कारणहरू पनि होलान् जसले यस्ता घटना यसअघि पनि घटिरहने अवस्थाको सिर्जना गरिरहेको होला ? यसरी समाजको भुइँसम्म पुगेर ‘माइक्रो' अध्ययन गर्ने कुन निकाय छ राज्यमा ? यस्ता कुरालाई स्थानिय तहको मातहतमा राखेर हेर्ने हो कि प्रदेश वा राज्यले ?

हामीकहाँको न्यायको भाषा जता बटारे पनि बटारिने अचम्मको ‘लचकदार' लाग्छ । माथिको मुद्दामा गम्भीर भएर सोच्ने हो भने पीडित बालिका घटना भएको डेढ महिना बितिसक्दा पनि ‘नर्मल' हुन सकेकी छैनन् भने पीडकहरू ‘नाबालक' भएकै कारण उन्मुक्त भई सामान्य जीवनमा फर्किसकेका छन् । पीडितलाई झन् पीडित बनाउने गरी पीडकलाई उन्मुक्ति दिने परिपाटीको ‘न्यायिक भाषा'माथि उठ्ने प्रश्न अस्वाभाविक लाग्दैन । के राज्यले पीडकलाई उसले गरेको दुष्कर्मको अपराधबोधसम्म पनि गराउनु पर्दैन ? ‘जबर्जस्ती करणी' बन्ने सम्पूर्ण आधार तयार भएर यत्रो ‘अपराध' गर्नेलाई नाबालक भनेर यत्तिकै उन्मुक्ति दिनु उसलाई जे गरे पनि हुने रहेछ भनेर छुट दिने काम होइन ? यसपछि उसले गर्नसक्ने यस्तै प्रकृतिको घटनाको जिम्मेवार को हुने ?

अपराधको मनोविज्ञान समाजभित्रै मौलाउँछ । समाज राजनीतिक रूपले जतिसुकै सचेत होस् आर्थिक र सामाजिक संरचनामा प्रगतिशील परिवर्तन नआएसम्म अपराधको न्यूनीकरण हँदैन । अपराधीका अनुहार र पुस्तामात्र फेरिन्छन्, अपराधको स्वरूप फेरिँदैन । सुसन ब्राउनमिलरकै शब्द पैंचो लिएर भन्ने हो भने बलात्कारजस्ता जघन्य अपराधका जरा लैंगिक शक्ति संरचनामा जोडिन्छन् । मनोविज्ञानीहरूका मतसँग यो मत बाझिन सक्छ तर मूल रूपमा पुरुष मनोग्रन्थीलाई पाशविकतातिर आकर्षित गर्ने तत्वव ऊभित्रको भाले अहंकार नै हो ।

योमात्र क्षणिक वासनाको तृप्ति र उत्तेजना शमनको व्यक्तिगत समस्यामात्र होइन । पितृसत्ताद्वारा महिलामाथि नियन्त्रण जमाउन ऐतिहासिक रूपले रचित ‘भयको सत्ता' बाँकी रहँदासम्म पाठ्यक्रममा राखिने नैतिक शिक्षा र मूल्यहरूका कुरा सतहकै साबित हुनेछन् । ‘भयको सत्ता' केवल महिलाका लागि मात्र होइन समावेशी र प्रगतिशील समाज रचनाको समग्र सपनाकै लागि समेत एउटा चुनौती हो । यो चुनौती परिवार, समाज हुँदै राज्यसम्म फैलिएको छ । यसलाई भत्काउने तपाईंहामी सचेत वर्गले नै हो । राज्य र उसका अंगहरूको समेत प्रयोग नगरी ‘भय'को यो राज्य भत्कन्न । हामीभित्र यसलाई भत्काउने आत्मिक ऊर्जा नजागेसम्म संवेदनाहीन सहानुभूति र प्रतिक्रियाहरूको कुनै अर्थ छैन । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.