योगमाया बालबिधवा थिइनन् !

 योगमाया बालबिधवा थिइनन् !

‘मार्छन् भन्ने डर छैन केही
आखिर काल गतिले भिरेको छ देही ...'
यो कवितांश पढेको निकै भएको थियो । लेख्ने कवि को होला भन्ने कौतुहलमा खोज्दै जाँदा थाहा लाग्यो ‘योगमाया' रहिछन् । हो उनी रचयिता भएता पनि स्वयं योगमायाले नै लिपिबद्ध गरेकी भने होइन रहेछ । योगमाया साधारण लेखपढ गर्न समेत नसक्ने हुँदा आमाबाट सुनेका वाणी उनकै छोरी नैनाकलाले कण्ठस्थ सुनाएर १९८८ सालमा लेखेका रहेछन् योगमायाकै एक अनुयायी पण्डित प्रेमनारायण भण्डारीले । उनले नै नाम दिएका रहेछन्- ‘सर्वार्थ योगवाणी' । २३४ श्लोक रहेको ‘सर्वार्थ योगवाणी'सम्म पुगेपछि झन् योगमायाबारे जान्न उत्सुक भए । अध्ययनको लागि सामग्री खोज्दा विभिन्न विद्वानहरूले योगमायाबारे लेखेका केही लेख हात परे । ती पढेर थाहा लाग्यो -

- भोजपुरको नेपाले डाँडाको सिम्लेगाउँमा नेउपाने परिवारमा जन्मिएकी योगमायाको सात वर्षको उमेरमा भोजपुरकै धोद्ले भन्ने ठाउँका कोइराला ब्राह्मणसँग विवाह भएको थियो र नौ वर्षको उमेरमा बालविधवा भएकी थिइन् ।

- बालविधवा भएपछि घर खान निकै कठिन भएको हुँदा घरबाट भागेर जंगलमा बास बस्दै तीन दिनमा माइती सिम्ले पुगेकी थिइन् । घर छाडी हिँडेकी, तीन दिन बाटो हराएकी भनी योगमायालाई घरकाले स्वीकार गरेनन् । माइतीले पनि हेलाँ गरे ।

- अनि एकजना कँडेल थरको युवकसँग भागेर भारतको आसाम गइन् । कँडेलबाट एक छोरी जन्मेपछि उनको पनि मृत्यु भएकाले अर्को डोटेल थरकी व्यक्तिसँग विवाह गरिन् । उनीसँगबाट अर्की छोरी जन्मिइन् ।

- त्यसपछि योगमायाको जीवनमा वैराग्य बढेकाले नेपाल फर्केर मझुवाबेसीमा कठिन तपस्या गरिन् । गर्मीमा पंचागी ताप्ने, जाडोमा नदीमा डुबेर रहने, महिना दिन एक अमला र पानीमात्र खाएर तपस्या गर्ने जस्ता कठोर साधनाकै कारण उनका दिनानुदिन भक्तहरू बढ्दै गए ।

- समाज सुधारको लागि कुरीति, अन्धविश्वासको विरोध गर्दै गाउँमा जागरणको कदम चाल्दा धर्म भिक्षाको लागि तत्कालीन श्री ३ सँग पटकपटक आफ्ना अनुयायी पठाइन् । आफ्ना अनुयायी प्रेमनारायणमार्फत श्री ३ बाट धर्मभिक्षाको आश्वासन पाएको भएता पनि त्यसप्रति सरकार उदासीन रहेको हँदा अन्त्यमा स्वयं काठमाडौं पुगेर श्री ३ जुद्धशमशेरसँग भेट गरी धर्म भिक्षा मागिन् ।

- जुद्धशमशेरबाट धर्म भिक्षाको वचन पनि पाएको तर वचनअनुसार राणाहरूले कुनै काम नगरेकाले र झुक्याउने काम गरेकाले श्री ३ लाई चुनौती दिँदै आफ्ना २४० भक्तहरूका साथ अरुण नदीछेउ अग्निदाह गर्ने घोषणा गरिन् ।

- अग्निदाह गर्ने भनी तोकिएको ठीक अघिल्लो दिन धनकुटा र भोजपुरका बडाहाकिमहरू पाँच सय जति सैनिक लिएर मझुवाबेसी पुगी योगमाया र उनका अनुयायीलाई बन्दी बनाए । पुरुष अनुयायीलाई धनकुटा झ्यालखानमा थुने

- तीन वर्षभित्र सबै बन्दी थुनामुक्त भएपछि योगमायासहित ६८ जनाले विसं. १९९८ असार महिना हरिशयनी एकादशीका दिन अरुण नदीमा जल समाधि लिए।
यतिसम्मको जानकारीबाट योगमायालाई ‘भक्ति मार्गबाट समाज सुधारक क्रान्तिकारी नारी'को रूपमा बुझे । उनीप्रतिको जिज्ञासा र अध्ययनको एक पाटो त्यतिबेला त्यहीसम्म रोकिएको थियो ।

धेरैपछि एकदिन एक साहित्यिक कार्यक्रमको समापनपछि चियाखाजाको समयमा सञ्चार र साहित्यका मेरा गुरु दाहाल यज्ञनिधिले आफ्नै शैलीमा भन्नु भो ‘नीलमले मजाले अध्ययन गरी योगमायाबारे उपन्यास लेख्नु न ।'
मैले भने- ‘कोसिस गर्छु है सर ।'

‘खुब खोज अनुसन्धान गरेर लेख्नु । जातपात/छुवाछूत भेदभावको विरोधमा जमेर कलम चलाउनू', उहाँले भन्नुभएको थियो ।
घर आएपछिको त्यो रातमात्र होइन बाँकी दुईचार रात निद्रा परेन । कोसिस गर्छु त भनेँ तर योगमायाबारे मसँग भएको जानकारी अति नै सीमित थियो । पहिलो काम मैले योगमायाबारे थप अध्ययन गर्नु थियो ।

सांग्रिला प्रकाशनका मणि शर्मालाई यसबारे चर्चा गरेँ । उहाँले भन्नुभो ‘तपाईं भोजपुर जानुपर्छ । समय कसरी मिलाउनु हुन्छ ? '
त्यतिबेला नेपालको त्यस पटकको बसाइ सकिएर अमेरिका फर्किने समय नजिकिइसकेको थियो । फेरि कुनै ठाउँमा अनुसन्धानको लागि हिँडी हाल्नु विविध कारणले पुरुषलाई जति नारीलाई सहज हुँदैन । अनेक तारतम्य मिलाउनुपर्छ । त्यतिबेला त्यत्तिकै फर्किएँ । तर, जानुअघि योगमायाबारे भेटेसम्मका लिखित सामग्री भने जम्मा पार्न भ्याएँ ।

‘समाज सुधारक योगमाया' पुस्तक पढेपछि त्यसका लेखक डा. गोविन्दमानसिंह कार्कीलाई टेलिफोन सम्पर्क गरेँ । थप सामग्रीका लागि उहाँले राम्रो सहयोग गर्नुभयो । त्यस्तै योगमायाबारे अनुसन्धानात्मक लेख रचना र पुस्तक पनि प्रकाशित गरिसक्नु भएका डा. मातृका तिमिल्सिना, बार्बरा निम्री अजिज, लेखनाथ भण्डारी, डा.दिपेश न्यौपानेलगायतलाई पनि टेलिफोन सम्पर्क गरेँ । उहाँहरूबाट पनि थप जानकारी प्राप्त हुँदै गयो ।

भेला पारेका सामग्री पढ्दै जाने क्रममा कतिपय तथ्यहरू एकआपसमा मेल नखाने खालका थिए । विशेष तिथिमितिमा थिए ती भिन्नताहरू । योगमायाकै जन्म सालको विषयमा फरकफरक मिति लेखिएको पाइयो । कसैले लेख्नुभएको रहेछ १९१७ साल, कसैले १९२४, कसैले १९२५ अनि कसैले १९३१ साल पनि लेख्नु भएको भेटेँ । योगमायाको मृत्यु अर्थात् जल समाधिकको मिति पनि त्यस्तै फरक-फरक लेखिएको पाइयो । कसैले १९९८ असार ३१ गते, कसैले २२, कसैले २१ लेख्नुभएको पाएँ । तर, हरिशयनी एकादशीका दिन जलसमाधि लिएको भन्नेमा भने सबैको एकमत पाइयो । त्यस्तै विवाहबारे पनि फरकफरक धारणा पाइयो । कसैले पाँच वर्षको उमेरमा, कसैले सात वर्षको उमेरमा त कसैले नौ वर्षको उमेरमा भएको उल्लेख गर्नुभएको पाइयो । एकै व्यक्तिले लेख्नुभएको आलेख र पुस्तकमा पनि तिथिमिति फरक परेको पाइयो ।

 स्थलगत अध्ययनबाट खुलेको तथ्य हो- योगमाया बालविधवा थिइनन् र उनको विवाह भोजपुर धोद्लेका ईश्वरपाध्य कोइरालासँग भएको थियो । यसअघि विभिन्न लेखकले विभिन्न कृतिमा लेखेजस्तो न त उनको कुनै मनोरथ कोइरालानामक व्यक्तिसँग विवाह भएको थियो न त उनी बालविधवा नै थिइन् ।

यी तिथिमितिमा नअल्झी योगमायाका कर्ममा केन्द्रित हुन्छु भनी लागिपरेको बेला २०७० सालमा प्रकाशित डा. मातृका तिमिल्सिनाको ‘नेपालि सन्त परम्परा योगमाया र सर्वार्थ योग वाणी' भन्ने पुस्तक हात पर्‍यो । उक्त पुस्तकमा डा. तिमिल्सिनाकै पूर्वप्रकाशित लेखमा भन्दा पृथक् तथ्य पाएँ । सात वर्षको उमेरमा योगमायाको विवाह ईश्वरपाध्य कोइरालासँग भएको र घरमा निकै कष्ट भएकाले भागेर माइतीमा गएको, उनी बालविधवा नभएको उल्लेख गर्नुभएको छ उहाँले ।
मेरिकाको भर्जिनिया रहनु हुने लेखनाथ भण्डारीबाट नम्बर लिएर डा. तिमिल्सिनालाई तत्काल टेलिफोन सम्पर्क गरेँ ।

उहाँ आफैंले पहिला बालविधवा र पतिको नाम मनोरथ कोइराला भनी लेख्नुभएको भन्दा एकदमै फरक तथ्य पुस्तकमा आएकोबारे जिज्ञासा राख्दा डा. तिमिल्सिनाले अति स्पष्ट पार्नुभयो, ‘अहिले रिसर्चबाट नयाँ तथ्य खुल्दै आयो । रिसर्च भनेकै यही यो नयाँ तथ्य आउँदै गर्दा पुराना सच्याउँदै जानुपर्छ । पहिला योगमायाबारे खोज अनुसन्धान गर्छु भन्दा समेत नकारात्मक टिप्पणी हुने गथ्र्यो । त्यस्तो अवस्थामा केही कुरा अति भावुक भएर पनि लेखियो ।'

डा. गोविन्दमान सिंहकार्की सरलाई यो नयाँ तथ्य टेलिफोनबाटै जानकारी गराएँ । उहाँ पनि अनभिज्ञ हुनुहुन्थ्यो । यसै सन्दर्भमा मणि शर्माजीसँग कुराकानी भयो । मैले योगमायामा आधरित रहेर ‘ठूली हजुर' नामक उपन्यास लेख्ने र त्यसका लागि अनुसन्धान गर्ने निधोमा पुगियो । अनुसन्धानका लागि भोजपुग्ने र स्थलगत अध्ययनबाट सबै तथ्य भेला पार्ने योजना बनाइयो ।

नौ वर्षदेखि अमेरिकामा छु । नेपाल आउन छोराहरूको स्कुल बिदा पर्खनुपर्छ । मध्य असार नहुँदै बिदा हुँदैन । मध्य असारमा पहाडी भेगमा खोज अनुसन्धानको लागि कठिन हुन्छ भन्ने थियो । छोराहरूको स्कुल बिदा हुनु एकसाता अघि नै काठमाडौं आएँ । आएको पर्सिपल्ट नै मणि शर्मा, डा.गोविन्दमानसिंह कार्की र म भोजपुरतिर जाने तयारी गर्‍र्यौं ।

बिहान साढे ६ बजेको हवाईजहाज चढ्न एयरपोर्ट पुग्यौं तर साढे आठ बजेसम्म पनि उडान हुने, नहुने कुनै निधो थिएन । उता एयरपोर्टमा हामीलाई पर्खिरहनुभएका मित्रको खबर आयो, ‘यहाँ मौसम खराब छ तपाईंहरू आउनु सक्नुहुन्न होला ।' बल्लतल्ल मिलाएको समय, बल्लतल्ल पाएको टिकट जान मिलेन भने यो पटकलाई पनि योगमायाबारे अध्ययन यत्तिकै हुने भो भन्ने चिन्तामा झोक्रिएको बेला सुरिलो आवाजमा उद्घोष भयो- बोडिंगको निम्ति । कम्ता खुसी लागेन । हामी हुत्तिएर लाइनमा उभियौं ।

हामीलाई सहयोग गर्नको निम्ति भोजपुर एयरपोर्टमा तयार हुनुहुन्थ्यो त्यहाँको भूगोलबारे जानकार हरि गौतमजी । उहाँले औंलाले संकेत गर्दै भन्नुभयो ‘लक्की हुनुहुँदो रैछ एक मिनेट ढिला भाको भए जहाज उतै फर्किने थियो ।' पछाडि फर्किएर हेर्दा हरियो डाँडा हुस्सुले छोपेको थियो । हामी झरेपछि चढ्न लाइन बसेका यात्रु फर्किंदै थिएँ । साँच्चिकै सौभाग्यशाली लाग्यो आफूलाई ।

साढे नौ बजे टक्सार पुगेका हामी भोजपुर बजार गएर खाना खाने अनि धोद्ले खानीतिर लाग्ने प्रस्ताव अघि सार्नुभयो हरिजीले । खाना पाक्दै थियो सिमसिम पानी पर्न लाग्यो । आफ्नो मन भने भुटिन लाग्यो । त्यहीबेला स्थानीय समाजसेवीले हामो यात्रा योजनाबारे थाहा पाएर भन्नु भो ‘कच्ची बाटो रातो माटो, आज नजानू,...कसैको इतिहास लेख्न आफ्नो ज्यान जोखिममा हाल्नु त भएन नि हाऊ । आफू बाँचिए पो त्यस्ता इतिहास अरू पनि लेखिएला ।' उहाँसँगैका अर्का व्यक्तिले थप्नु भो ‘यस्ता बाटा तपाईंहरूको हातखुट्टा सग्लै आउन सक्ला नसक्ला !' शुभचिन्तकका सुझाव सुनियो । मनमा डर नलागेको पनि होइन तर दुई मोटरसाइकलमा चिप्लो बाटो पिखुरातिर ओरालो झरियो ।

ठाउँठाउँमा मोटरसाइकल चढ्ने कम हिँड्ने बढी हुने गथ्र्यो । ‘ऊ त्यो डाँडा...अनि त्यो डाँडा । त्यो डाँडा त्यसको पनि पछाडि हो धोद्ले । पिखुवा झरेर उकालो लाग्ने हो ।' हरिजीले माथिबाटै देखाएर भन्नु भएको थियो । पहिलो काम तल झर्नुथ्यो त्यसपछि ती डाँडाहरू उक्लनु । मनमनै सोचे आज कसैगरी पुगिँदैन होला । योगमायाको झैं जंगलकै बास हुने भो ।

हरिजीको मोटरसाइकल नयाँ थियो तर मणि शर्माजीको भागको मोटरसाइकल देख्नासाथ मनमा शंका जाग्यो, यो गुड्न त गुड्छ ? गुडिहाले पनि त्यति टाढा पुगेर आउँछ त ? नभन्दै तीन ठाउँमा त्यो मोटरसाइकलको स्टार्ट आफैं बन्द भयो । आफू त बरु हिँडौंला तर मोटरसाइकल पो बाटा बितरा पर्ने भो भन्ने हुन्थ्यो । मोटरसाइकलको उपचार गर्दौगर्दै झमक्क साँझ हँदा ६ घन्टा लाएर धोद्ले खानी पुगियो । कटुन्जे माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल थापाको घरमा बास बस्ने तय भो ।

मलाई भने योगमाया बेहुली बनिआएको घर हेर्न आत्तुरी थियो । गाउँका अरू पनि भेला हुनुभएको थियो । गोपाल थापा र अंगबहादुर जर्गामगरलगायत अन्य केही छिमेकीहरू र ईश्वरपाध्याय कोइरालाका छोरा नन्दलालका नाति नीरबहादुर कोइराला खत्री लगायतसँग कुराकानी गर्दा योगमायाको पतिको नाम ईश्वरपाध्याय कोइराला नै भएको र उहाँको मृत्यु योगमायाको जल समाधिभन्दा एक महिना अघिमात्र भएको तथ्य खुल्यो । कुराकानीअनुसार यस्तो तथ्य जम्मा पारियो-
रत्नमणि खतिवडा कि छोरी सुकन्यासँग काशीनाथ कोइरालाको विवाह भयो । विवाहपश्चात् ससुरालीबाट बिर्ता पाएर काशीनाथ धोद्ले बस्न आए । ६ भाइ छोरा जन्माएपछि सुकन्याको मृत्यु भयो । त्यसपछि सुकन्याकै भदिनी सुशीला खतिवडासँग काशीनाथको दोस्रो विवाह भयो । सुशीलाबाट छोरा ईश्वर र दुई बहिनी छोरीको जन्म भयो । तिनै ईश्वरपाध्याय कोइरालासँग नै योगमायाको विवाह भएको थियो ।

योगमायाले घर छोडेर हिँडेपछि ईश्वरपाध्यायले दलगाउँकी सुवेदीकी छोरी शुभकन्यासँग दोस्रो विवाह गरे । उनले तेस्रो विवाह पनि गरेछन् मन्सराम भुल्के भन्ने ठाउँकी खड्काकी छोरी दिलशोभासँग ।

दोस्रो र तेस्रो पत्नीहरू दुवैबाट सन्तान जन्मिए पनि अहिले दोस्रो पत्नीपट्टिका सन्तान धोद्ले खानीमा रहेनछन् । तेस्रो पत्नीबाट जन्मिएका छोराहरू नन्दलाल र कविलालका सन्तान-दरसन्तानहरू अहिले पनि धोद्ले खानीमै रहेछन् ।

कुराकानीपछि हामीले योगमायाको पानी पँधेरो, उनले घाँस दाउरा गर्ने जंगल, खेतबारीको अवलोकन गर्‍यौं । धोद्लेखानी पछि हामीलाई पुग्नुथियो - नेपाले डाँडा, १९९५ मा उनलाई थुनी राखेको भोजपुरको राधाकृष्ण मन्दिरको पाटी, आसामबाट १९७३ मा नेपाल फर्की आएपछि तपस्या गरेको, बस्ने गरेको मझुवा बेसी, गौडैनी र १९९८ मा जल समाधि लिएको अरुणकिनारसम्म । जेहोस्, सानातिना बाधा व्यवधान पन्छाएर गन्तव्यतिर लागियो ।

योगमाया बालविधवा थिइन् कि थिइनन् वा उनका पति कोइराला पछिसम्म जीवितै थिए थिएनन् भन्नेबारे जानकार अरू व्यक्ति पनि सोधखोज गर्‍यौं । त्यसै क्रममा योगमायाका अनुयायीमध्ये एक महानन्द भण्डारीका छोरा हिरण्यप्रसाद भण्डारीसँग पनि भेट भयो । उहाँले योगमायालाई देख्नु पनि भएको रहेछ । उहाँले आफूलाई बुवा र बुवाका समवयीहरूले योगमाया बालविधवा नभई घर खान निकै कठिन भएर घर त्यागी हिँड्नु परेको बताउने गरेको सम्झनुभयो । त्यस्तै योगमायासँग जलसमाधिमा जानुभएकी नन्दकुमारी न्यौपानेका साइँला छोरा लीलाकान्त न्यौपानेसँग पनि भेट भयो । उहाँले पनि योगमाया बालविधवा नभएको उल्लेख गर्नुभयो ।

यसै क्रममा थप अध्ययन गर्दा योगमायाकै अर्का अनुयायी गन्जबहादुर बस्नेतका माहिला छोरा डम्बरबहादुर बस्नेतले लेख्नुभएको ‘भक्ति योगमायाको जीवनी' फेला पर्‍यो । डम्बरबहादुर आफू पनि योगमायाको अनुयायी हुनुहँदोरहेछ र १९९५ सालमा अग्निसमाधिमा जान तयार २४० मध्ये एक हुनुहुँदोरहेछ । त्यतिबेला गिरफ्तार भई उहाँ धनकुटा झ्यालखानमा थुनिनु भएको रहेछ । उहाँले उक्त पुस्तकको परिचय खण्डमा यस्तो लेख्नुभएको छ - ‘...भोजपुर जिल्ला भुल्के धोद्ले भन्ने गाउँमा कोइराला ब्राह्मणसित योगमायाजीको विवाह भयो । बेहुली माइती पुराएको तीन/चार वर्ष पछाडि मैतालुको रूपमा घर पठाएछन् । दुई/तीन वर्ष घरमा बसेपछि सारै दुखी ठाउँ हुँदा बहुतै दुःख भोग्नुपर्दा त्यस ठाउँलाई छाडेर राति उठी भागेर माइती जाने मन गर्नु भएछ र हिँड्नु भएछ ।'

जलसमाधिको बेला ३० वर्षीय डम्बरबहादुर, प्रेमनारायणसहित श्री ३ लाई भेट्ने एवं भिक्षापत्र लेख्ने काममा पनि सहभागी हुनुहँदोरहेछ । उहाँले लेख्नुभएको पुस्तकमा योगमाया बालविधवा भएकोबारे कतै पनि उल्लेख गर्नुभएको छैन । यसअघि प्रकाशित धेरै रचनामा योगमायाको विवाह भोजपुरको धोद्लेमा मनोरथ कोइरालासँग भएको उल्लेख छ । तर, डा. तिमिल्सनाले पतिको नाम मनोरथ कोइराला नभई ईश्वरपाध्य कोइराला थियो भन्ने तथ्य अघि सर्नु भएको छ ।

धोद्लेमा मनोरथ कोइराला भन्ने व्यक्ति हुनुहुन्थ्यो कि भनी सोधखोज गरियो । थाहा लाग्यो, धोद्लेमा दुई कोइराला परिवारमात्र बसोबास गर्थे । तीमध्ये एक थियो लक्ष्मीनाथ कोइरालाको परिवार जो भोजपुरको पोखरे हुँदै धोद्ले पुगेको थियो । अर्को काशीनाथ कोइरालाको परिवार माथि उल्लेख गरिएको छ जो ससुराली खतिवडाबाट बिर्ता पाएर धोद्ले बस्न पुगेका थिए । मनोरथ कोइरालानामक व्यक्ति ती दुई परिवारमै नभएको तथ्य खुल्न आयो । योगमायाको पतिको नाम ईश्वरपाध्य नै भएको र आजसम्म यही नाममा श्राद्धमा तर्पण दिँदै आएको परिवार र आफन्तबाट थाहा लाग्यो ।

निष्कर्षमा, स्थलगत अध्ययनबाट खुलेको तथ्य हो- योगमाया बालविधवा थिइनन् र उनको विवाह भोजपुर धोद्लेका ईश्वरपाध्य कोइरालासँग भएको थियो । यसअघि विभिन्न लेखकले विभिन्न कृतिमा लेखेजस्तो न त उनको कुनै मनोरथ कोइरालानामक व्यक्तिसँग विवाह भएको थियो न त उनी बालविधवा नै थिइन् । यसबाहेक उनको वास्तविक जन्ममिति, विवाह भएको उमेर आदिबारे थप अनुसन्धानको आवश्यकता देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.