विश्वेश्वरविरुद्व त्यो आन्दोलन
वि.सं. २०७२ वैशाखको महाविनाशकारी भुइँचालोपछि विश्वेश्वरप्रसाद कोइरालाका अनेकन राजनीतिक एवं साहित्यिक कृतिहरू पुनः अध्ययन गर्दा उनको जीवनयात्राको सम्बन्धमा नयाँ ढंगले विचार गर्नुपर्ने बोध भएको थियो, यस पंक्तिकारलाई । यसै प्रसंगमा उसलाई आफ्ना सद्गुरुदेव सत्यदेव स्वामीका यी वाणीको हठात् सम्झना भयो : ‘सबभन्दा ठूलो पुस्तक मनुष्य जीवन हो । जीवनलाई प्रष्टसँग पढ्दा तिमी ज्ञानी हुनेछौ ।' अनि नेपालको आधुनिक राजनीतिक जीवनका एक मूर्धन्य नायक विप्र कोइरालालाई वर्तमानको परिप्रेक्ष्यबाट हेर्न जरुरी लाग्यो ।
आफ्ना राजनीतिक लक्ष्य एवं गन्तव्य सुस्पष्ट हुँदाहुँदै पनि वर्तमान राजनीतिक नेतागण बदलाको राजनीति चलाउन कटिबद्ध हुँदै मुलुककै अहित हुने गरी एकअर्काप्रति शत्रुवत् व्यवहार गरिरहेकै छन् । अहिले त यस्तो स्थिति छ भने २००७ सालपछि पनि कायमै रहेको घनघोर शीतयुद्धताका अमेरिका र तत्कालीन सोभियत रुसबीचका राजनीतिक र कूटनीतिक भिडन्तहरूमा तिनका पछौटे स्थानीय राजनीतिक दलहरूले एकअर्कालाई वर्गशत्रु ठान्नुमा के आश्चर्य ?
त्यस अवस्थामा ‘सोसल डेमोक्रेसी' र ‘कम्युनिज्म'का नेपाली पात्रहरू निरंकुश राणाशासनका अवशेष उन्मूलन गर्दै नेपालको र समाज रूपान्तरण गर्न सक्ने मित्रशक्ति हुन् भन्ने सत्यको बोध कसरी हुन सक्थ्यो होला ? उनीहरू त एकअर्कालाई ‘अमेरिकी साम्राज्यवादका दलाल सोसल फासिस्ट' र ‘स्टालिन तानाशाहका पिठ्ठुहरू'को गालीगलोजको मादकतामा लठ्ठिएर सत्ता महत्ववाकांक्षी राजदरबार, प्रतिशोधकामी षड्यन्त्रकारी राणाहरू र नेपाली भूभागमा आफ्नो एकछत्र वर्चश्व स्थापित गर्न चाहने दक्षिणीय हैकमवादीहरूपट्टि बेखबर थिए ।
राजनीतिको यस्तो मादकतालाई क्रोध र भयको थप इन्धनले उक्साइरहेको थियो । नेपाल कम्युनिस्ट पार्टीको राजनीतिको एउटा धार क्रोधबाट लक्षित थियो भने नेपाली कांग्रेसको राजनीतिक धार कम्युनिस्टविरोधी भयले आक्रान्त थियो । कम्युनिस्टहरू विप्र कोइराला ‘अमेरिकी साम्राज्यवादलाई नेपालमा आफ्नो युद्ध अखडा बनाउन दिन चाहन्छन्' भन्थे । कांग्रेसहरू पुष्पलाल स्तालिनको सेना बोलाई ‘नेपालबाट प्रजातन्त्र निमिट्यान्न पार्न उद्दत छन्' भन्न चुक्दैनथे । यसर्थ २००८ सालको राजनीति बडो कहालिलाग्दो थियो । कम्यनिस्टहरूको क्रोधको सिंगो तारो विप्र कोइराला थिए भने कांग्रेसीहरूका पुष्पलाल । यत्तिकैमा २००८ सालको कात्तिक २० गते यस्तो दुर्भाग्यपूर्ण घटना भयो जसले नेपालको इतिहासमाथि नै अनिष्टकारी प्रभाव पार्यो । विप्र र पुष्पलाल दुवैले यस्तो घोर दुस्वप्नमा पनि सोचेका थिएनन् होला । तर राणाहरू र भारतीय शासकहरू त त्यस्तै मौका ढुकिरहेका थिए ।
काठमाडौंमा सुरक्षा कानुन लागू थियो । गृहमन्त्री विप्र कोइरालाको नौमहिने कार्यकालमा त्यो तेस्रो सुरक्षा कानुन थियो । मुख्यतः सुरक्षा कानुनकै विरोध गर्न भनेर ‘अखिल-नेपाल विद्यार्थी फेडरेसन'ले अघिअघिझै नेपाल छात्र संघ, संस्कृत छात्र संघ र नेपाल स्टुडेन्ट्स युनियन सम्मिलित हुने गरी ‘विद्यार्थी संघर्ष समिति' गठन गर्ने अग्रसरता लियो । नेछासं यसपटक समितिमा सम्मिलित भएन । तीन विद्यार्थी संघहरूको संघर्ष समितिले कात्तिक २० गते सहरभरि विरोध प्रदर्शन गरी भूगोलपार्कमा आमसभा गर्यो जसमा बोल्नका लागि नेछासंलाई पनि बोलाइएको थियो ।
विश्वेश्वरले आफ्नो सोसलिस्ट अवधारणालाई मूर्तरुपः दिन सोसलिस्ट कार्यकर्ता, संस्कृति र संस्कार विकसित गर्न सकेनन् । यो नेपालीको वियोगान्त पाटो हो ।
तनावपूर्ण वातावरणमा तर अनुशासित तवरले भाषण भइरहेका थिए । फेडरेसनका अध्यक्ष प्रचण्डराज सिंह, नेछासंका अध्यक्ष सुरेन्द्रराज शर्मा, नेछासंकै अर्का नेता वासु रिसाल, नेस्टुयुका अध्यक्ष गोपालचन्द्र अमात्यले भाषण सकेर संछासंका अध्यक्ष श्रीप्रसाद गौतमले बोल्दाबोल्दै पुलिसका अफिसर-जवान आई पुर्जी देखाउँदै ती पाँचै जनालाई पक्रेर लगे । पुलिसको त्यस्तो उत्तेजक व्यवहारबाट भाषण सुन्न आएका विद्यार्थी र जनसमूह आक्रोशित थिए । उक्त कार्यक्रमको सञ्चालक यस पंक्तिकारले उनीहरूलाई सम्झाइबुझाइ आफू भाषण गर्न लाग्दा साँझ पर्न थालिसकेको थियो । सरकारको यस्तो व्यवहारको विरोध गर्दै उसले पक्राउ परेका विद्यार्थी नेताहरूलाई छुटाउन जुलुस लिएर हनुमानढोका पुलिसथाना जान आह्वान गर्यो ।
विद्यार्थी मित्रहरूप्रति ऐक्यबद्धताको यो स्वाभाविक अभिव्यक्तिले कुनै अनिष्टकारी परिणाम पनि ल्याउने सजगता यस पंक्तिकारमा आएन । गद्दी बैठकबाट अघि बढेर श्वेतभैरवको मन्दिरनिर पुग्दानपुग्दै टियर ग्यास र साथै गोली पड्केको आवाज आयो । पंक्तिकारकै लाइनमा रहेका सइद्उद्दिन, निकै पछाडिपट्टि रहेका चिनियाँकाजी र राममान श्रेष्ठ गोली लागी घाइते भए ।
गम्भीररूपले घाइते भएका विश्वनिकेतन हाइस्कुलका चौध वर्षीय छात्र चिनियाँकाजीको सोही राति साढे १० बजेतिर वीर अस्पतालमा मृत्यु भयो । यसबाट अस्पतालभित्र वातावरण स्तब्ध एवं आक्रोशपूर्ण भयो । चिनियाँकाजीको शव हस्तान्तरण गर्नेबारेमा अस्पतालका अधिकारीहरू र विद्यार्थी संस्थाका कार्यकर्ताबीच चर्काचर्की हुन थाल्यो । राति १२ बजेतिर एकजना पुलिस अधिकारीले पंक्तिकारलाई वारेन्ट पुर्जी देखाई पक्रेर हनुमानढोका थाना लग्यो । यसप्रकार भोलिपल्टका जुलुस र सहिद चिनियाँकाजीको दाहसंस्कार कार्यक्रममा ऊ सम्मिलित हुन पाएन ।
त्यसपछि भोलिपल्टको जुलुसमा नेपाल प्रजापरिषद्, नेपाल कम्युनिस्ट पार्टी, नेपाली राष्ट्रिय कांग्रेसले पनि भाग लिएका थिए तर जुलुसको अन्त्यतिर नेपाली कांग्रेसको झन्डालाई च्यातिदिई फेरि भिडन्तको परिस्थिति खडा हुँदा पंक्तिकार त्यहाँ भएको भए उसले फेरि जुलुसलाई लैनचौरनिकट विप्र निवास रंगमहल घेर्न जान निश्चय नै उत्तेजित गर्ने थियो । ऊ भाषण गर्दा शब्द होइन आगो बर्षाउने गथ्र्यो भनी धेरै मानिस भन्थे । अनि त झन् ठूलो हत्याकाण्ड हुन सक्ने थियो जुनकी भाग्यवश टर्यो । राजनीतिमा क्रोध र आक्रोशबाट धेरै अनिष्ट भएका छन् ।
त्यस रातको गोलीकाण्डबाट एक निर्दोष विद्यार्थीको हत्याले नेपालको राजनीतिमा चारवटा मुख्यमुख्य दुष्परिणाम ल्यायो । १. नेपालमा प्रजातान्त्रिक बहुदलीय राजनीतिक अभ्यास नराम्ररी बिथोलियो जुन आजसम्म पनि सुध्रिन सकेको छैन । २. नेपालको सरकारी नीति निर्माण र शासनयन्त्रमा भारतीय सरकारको हस्तक्षेपको साँधी रहेन जुन अद्यापि कायम छ ।
यहाँ स्थानाभावले एउटा पत्याइनसक्नुको घटना मात्र उल्लेख गरिन्छ । भारतीय राजदूतले नेपालको प्रधानमन्त्रीको रूपमा मातृकाप्रसाद कोइरालाको नाममा स्वीकृति दिएको भनी भुवनलाल जोशी र लिओ ई. रोजले आफ्नो साझा पुस्तकमा लेखे । (‘डेमोक्य्राटिक इनोभेसन इन नेपाल' सन् १९६६, पृष्ठ १३३) त्योभन्दा झन्डै ५० वर्षअघि सन् १९५१ नोभेम्बर १२ का दिन प्रधानमन्त्री मोहनशमशेरले संयुक्त मन्त्रिमण्डल विघटनपछि नारायणहिटी राजदरबारबाट गणेशमान सिंहसँगसँगै फर्किंदा अद्भुतलाग्दो एउटा मनको बह पोखेएका थिए : ‘के अब नेपालको प्रधानमन्त्री नेपालीले नै छान्न पाउला ? ' सिंह मूढप्रायः मोहनशमशेरको शंकालाई वास्ता नगरी बरु उनको मूर्खताप्रति मनमनै हाँसेछन् ।
सिंहलाई २५ वर्षपछि वनारसमा विप्र र आफू इन्दिरा गान्धीको कूटनीतिक थुनामा रहिरहँदा ती वाक्यको सम्झना भई ‘समाज' दैनिकका सम्पादक मणिराज उपाध्यायलाई वनारसमा भेट्दा बताएको स्मरण उपाध्यायले गरेका थिए । विशाल र सबल चीन नेपालको उत्तरी छिमेकी हुँदा पनि ‘सुरक्षा सिन्ड्रोम'ले ग्रस्त अंग्रेज शासनका उत्तराधिकारी रहेका भारतीय शासकहरूकै कारण आज नेपाल-भारत सम्बन्ध जुन भासमा जाकिएको छ त्यसबाट उठ्न दशकौं लाग्ने दूरावस्दाको लागि त्यही हस्तक्षेप जिम्मेवार छ । त्यस्तो दृश्यावली विप्र कोइरालाप्रति भारतीय राजदूतको घनघोर ‘एलर्जी' नै नेपालमा उत्पन्न भएको राजनीतिक अस्थिरताको दुष्परिणाम थियो ।
३. २००७ सालको क्रान्तिका नेता विप्र कोइराला सात वर्षसम्म सत्ताबाट बाहिरिए । ४. उपरोक्त दुर्घटनाको तीन महिना नबित्दै डा. केआई सिंह विद्रोह काण्डमा नेकपा महासचिव मनमोहन अधिकारीको दुस्साहसी निर्णयका कारण पार्टीमाथि सरकारले प्रतिबन्ध लगायो । राजा त्रिभुवनको उदारताले गर्दा मात्र कम्युनिस्टविरोधी हत्याकाण्ड हुन पाएन । तर कुनै समयमा राणा केशरशमशेरका विश्वासपात्र माप्र कोइराला र राजनीतिज्ञ विप्र कोइरालाको मूल चारित्रिक विभेद के थियो भने पहिलाचाहिँ ईष्र्यालु कर्मचारी मनोवृत्तिकै मानिस थिए र दोस्रोचाहिँ बदलाको कुनै भावना नराख्ने राजनेता । विप्रले त आफूमाथि सांघातिक हमला गर्ने गोर्खा दलका नेता भरतशमशेरलाई क्षमा गरिदिएका थिए ।
अनेक इतिहासकार तथा राजनीतिक विश्लेषकहरूले त्यसको सभापछिको दुर्घटनालाई लिएर जुनजुन राज्य, शक्ति र व्यक्तिहरूको भूमिका उल्लेख गरी जे-जे लेखे तापनि तिनमा कतै पनि नउल्झेर यो पंक्तिकारले त्यस दिनको आफ्नो भूमिकाबारे आज आएर विचार गर्दा आफू क्रोधवश उत्तेजनामा आई त्यस्ता राजनीतिक दुष्परिणामहरूको निमित्त एउटा कारण बन्न पुगेको थियो कि भन्ने आभास गर्दछ । विप्र कोइरालाविरुद्ध देशी-विदेशी षड्यन्त्रकारीहरूका जे-जस्ता योजना भए तापनि पंक्तिकारले त्यस दिन जुलुस लिएर हनुमानढोका जान भीडलाई आह्वान नगरेको भए तिनीहरू आ-आफ्ना उद्देश्यहरूमा त्यति छिट्टै त्यस्तो परिणाममा पुग्न सक्ने थिएनन् ।
‘लोभ, ईष्र्या, महत्ववाकांक्षा एवं क्रोधलाई तिनीहरू जन्मिने बेलामै देख्न सक्नु सजगता हो ।' सद्गुरुदेवले पंक्तिकारलाई २०५८ सालको असोजमा यो उक्ति सुझाउनु भएको थियो । तर २०६२ सालको कात्तिकमा पंक्तिकारकै ‘१९९७ सालदेखि २०१७ साल - एक अवलोकन' प्रकाशित हुँदा पनि २००८ सालको घटनाप्रति आत्मालोचना गर्नुपर्ने सजगताको महत्वव उसको मस्तिष्कबाट ओझेलमै रह्यो ।
‘एक अवलोकन'को दोस्रो संस्करण २०६३ साल माघमा प्रकाशित हुँदा पनि आफ्नो भूलको सोच बनाउन नसकेकोमा अहिले पनि थकथक लाग्दछ । यसप्रकार पंक्तिकारलाई गुरुदेवले आज्ञा भएको सजगताको अर्थ र महत्वव आज बल्ल बुझेको लागिरहेछ ।
पंक्तिकारले आफ्नो ‘एक अवलोकन'मा पोख्रेल तथा मैनालीकै विषयहरूको अघिबाटै विवेचना गरेको थियो । त्यतिन्जेलसम्म द्वितीय विश्वयुद्धपछि सुरु भएको दुई विश्वमहाशक्तिबीचको शीतयुद्ध समाप्त भई सोभियतहरूको अस्तित्वमा छाया परेको थियो । तथापि त्यो विवेचना भावी पुस्ताको लागि रोचक भइरहनेछ ।
आज पनि हाम्रा समाजमा दुई, चार, पाँच जना होइनन् कि अधिक संख्यामा मानिसहरू विदेशपरस्त भएको चर्चा चलिरहेकै छ । तिनीहरू गोरा र ताम्रवर्णीय कूटनीतिक जासुसहरूको उठबसमा देशलाई नश्ल र जातपातको आधारमा चिराचिरा पार्न लागिपरेका छन् ।
मुलुकमा आज राष्ट्रिय स्वाभिमान भएका नेताहरूको खडेरी छ । र राज्यव्यवस्थामा ‘सडकछाप' राजनीतिक ठालूहरूको हालिमुहाली छ । सामाजिक क्षेत्रका ‘अगुवाहरू' विदेशी एजेन्डाअनुसार परिचालित छन् । यसर्थ टंकप्रसाद आचार्यपछिका मूर्धन्य राष्ट्रिय प्रतीक विप्र कोइरालाका थप उज्याला पक्षहरू जनसमक्ष आउनु परम आवश्यक छ ।
विशेषतः भारतका प्रधानमन्त्री नेहरूको विरोधका कारणबाट विप्र कोइराला त्यसरी सत्ताबाट बाहिरिएका भए पनि पहिला त राजा त्रिभुवनलाई र त्यसपछि राजा महेन्द्रलाई विप्रविरुद्ध उभ्याउनमा माप्र कोइराला र केशरशमशेरका चालहरूको पर्याप्त संकेत पंक्तिकारले आफ्नो ‘एक अवलोकन'मा गरिसकेको छ ।
आफ्नो निजी र राजनीतिक व्यवहारमा कुशल पुष्पलाल ‘आयातीत विचारधाराका नेपाली प्रवर्तक' भनी नेपाली कांग्रेस क्षेत्रबाट आलोचना गरिँदा गरिँदै पनि लोकप्रिय राजनेता हुँदै गएका तथ्यबाट विप्र कोइराला अनजान थिएनन् । आफ्नो ‘सोसलिस्ट' आवरण नेपाली जनमानसका लागि नपचेको पनि उनलाई थाहा थियो । उनले गल्तीबाट सिक्दै गए र आफूलाई २०१५ सालको आमनिर्वाचनरूपी महासंग्रामका कुशल सेनापति एवं विजेता देखाइछाडे ।
प्रधानमन्त्रीको रूपमा अब उनलाई खतरा प्रमुख प्रतिपक्ष दल गोरखा परिषद् र नेपाल कम्युनिस्ट पार्टीबाट होइन महत्ववाकांक्षी राजा महेन्द्रबाट थियो । महेन्द्रले त आफूलाई पिता राजा त्रिभुवनद्वारा डाँडो काटिनबाट बचाएको व्यक्तिमाथि नै ईष्र्याको राजनीति चलाए जसलाई विप्रले आखिरीसम्म पत्याएनन् । आफूलाई सत्ताच्युत गरे पनि संसदीय प्रजातान्त्रिक व्यवस्थामाथि नै महेन्द्रले आघात पार्ने छैनन् भन्नेमा विप्र विश्वस्त थिए ।
प्रधानमन्त्रीकालमा विप्रले देशका समस्या र विदेश नीतिबारे प्रतिपक्षका नेताहरूसँग बरोबर विचारविमर्श गर्दथे भनी कांग्रेसनिकट लेखक मदनदेव भट्टराई आफ्ना संस्मरणमा र पत्रकार जगत नेपालले ‘पहिलो संसद् : बीपी-महेन्द्र टकराव'मा उल्लेख गरेका छन् । अझ नेकपाका तत्कालीन केन्द्रीय सदस्य र वर्तमान समयमा स्वतन्त्र माक्र्सवादी चिन्तक कृष्णराज बर्मा त विप्र कोइराला र नेकपा महासचिव डा. केशरजंग रायमाझीबीच व्यक्तिगत मित्रता रही डा. माझीकहाँ बरोबर विचारविमर्श गर्न र भोज खान जाने गरेको पनि स्मरण गर्दछन् ।
उनले नेकपा उत्तरगण्डक प्रान्तीय कमिटीले ‘कालो दिवस' ठानेको फागुन ७ गतेको प्रजातन्त्र दिवस २०१६ सालमा टुँडिखेल खरिको बोटको एकै मञ्चमा बसेर प्रधानमन्त्री कोइराला र महासचिव रायमाझीले मनाएको घटना हालैमात्र यस पंक्तिकारलाई बताएका हुन् । यो नेपालको राजनीतिको दुई प्रमुख राजनीतिक विचारधाराबीच अप्रतिम सद्भावको द्योतक थियो । यस्तो सद्भावले निरन्तरता पाएन, यसलाई दुर्भाग्यपूर्ण मान्नुपर्दछ ।
विप्रले २०१५ सालको माघमा भारतको औपचारिक भ्रमण गर्दा ‘भारतको सुरक्षा सीमा हिमालसम्म फैलिएको छ' भनी भारतीय प्रधानमन्त्री नेहरूले भारतीय संसद्मा दिएको वक्तव्यको जोडदार ढंगले प्रतिवाद गर्दा नेहरूले क्षमायाचना गरेका थिए ।
चीनको औपचारिक भ्रमण गर्दा चिनियाँ समकक्षी चाउ एन लाईसँग बिहान-दिउँसो र साँझसम्मको एउटा अत्यन्त महत्ववपूर्ण बैठकमा हुने संवेदनशील विषयहरूको जानकारी भारत सरकारलाई नहोस् भन्ने हेतुले विप्र कोइरालाले प्रतिनिधिमण्डलका सदस्य रहेका गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई कुनै न कुनै बहाना पारेर वार्ताक्रमबाट हटाएका थिए (जगत नेपाल, १९३-१९८) । सोसल डेमोक््रयाट विप्र कोइरालाप्रति चिनियाँ नेतृत्वको व्यवहार समभावको रहेको तथ्य पनि विप्र र चाउ एन लाईबीच कायम व्यक्तिगत मित्रताबाट पुष्ट हुन्छ । सगरमाथाको सम्बन्धमा प्रतिनिधिसभामा प्रधानमन्त्री कोइरालाका स्पष्ट उक्ति (‘कल्पना' दैनिक, २०१७ वैशाख १८) र नेपाल-चीनबीच सम्पन्न शान्ति तथा मैत्री सन्धि उनको सफल विदेश नीति ठहर्दछ । त्यो टंकप्रसाद आचार्यको नीतिकै निरन्तरता थियो ।
यहाँ विप्रले भारतीय राजनीतिज्ञहरूको दोहोरो चरित्रको टिप्पणी गरेको पनि सम्झना हुन्छ । उनी भन्दछन्ः ‘धेरै दिनको दासताले हिन्दुस्तानीहरूको हृदय नै संकुचित भएको छ र दृष्टिमा दोष आएको छ । दासप्रवृत्ति ठाउँठाउँमा र समय-समयमा झल्किरहन्छ । अलि हात माथि पर्यो भने फुरफुराउन थाल्छन्, तल पर्यो भने दासलाई ‘नसुहाउने' दाँत किच्च देखाउँछन् ।' (जेल जर्नल, पृष्ठ १५०)
पञ्चायती निरंकुश शासनतन्त्रको सिंगो तारो विप्र कोइराला नै थिए । जेलमा छँदा विप्रलाई राजा महेन्द्रसँग कसैगरी सम्झौता गराउन नेकाभित्रका विभिन्न गुटका नेताहरू र भारतका सोसलिस्ट नेता जयप्रकाश नारायणलगायत युगोस्लाभियाका राष्ट्रपति टिटोका सल्लाहकारले कोसिस गर्दा पनि उनी आफ्नो अडानबाट नडगेको प्रसंग ‘जेल जर्नल'मा धेरै ठाउँमा पाइन्छन् ।
२०२५ सालमा जेलबाट छुटेर देशभित्रै पञ्चायतविरुद्ध सशक्त राजनीतिक आन्दोलन संगठन गर्ने धारणा बनाई उनले विराटनगरमा तत्कालीन ‘समाज' दैनिकका सम्पादक मणिराज उपाध्यायलाई अन्तर्वार्ता दिए । अन्तर्वार्ता ‘समाज'मा छापियो । आफ्नै दलभित्रका र पञ्चायत पक्षका षड्यन्त्रकारीहरूका चालबाजीले गर्दा विप्र प्रवासमा बसेर दोस्रो सशस्त्र संघर्ष चलाउने निष्कर्षमा पुगे जुन कि पहिला सुवर्णशमशेरको नेतृत्वमा २०१८-१९ सालमा भएको सशस्त्र संघर्ष जस्तै घातक र निरर्थक साबित भयो ।
विप्र विदेश प्रवासमा रहँदासम्म देशमा प्रजातन्त्रको पुनस्र्थापना आन्दोलन असम्भव देखेर आचार्यले उनलाई नेपाल फर्केर आन्दोलनको नेतृत्व लिने आग्रह गरे । यस्तो आग्रहलाई नेकाका नेताहरू खण्डन गर्छन् तापनि विप्र आफूप्रति भारतीय प्रधानमन्त्री गान्धीको कूटनीतिक यातनालाई चुनौती दिँदै र आफूलाई नेपालमा भारतीय राजनीतिक स्वार्थको बाहक बनाउने चेष्टालाई लत्याउँदै राष्ट्रिय मेलमिलापको नारामा २०३३ साल पुस १६ गते नेपाल फर्के ।
तत्काल नै नेपालको राजनीतिले नयाँ मोड लियो । अनेक खतराहरूले भरिएको यो साहसिक राजनीतिक जोखिम थियो । त्यसलाई झेल्न पनि विप्र सफल भए । विप्रलाई पञ्चायतविरोधी गतिविधिको केन्द्रीय पात्र तथा मार्गदर्शक बन्न धेरै समय लागेन । यसै प्रसंगमा चाबहिलस्थित भाइको घरबाट चल्ने विप्र राजनीति दुई घटनाबाट पनि उल्लेखनीय छ । यसलाई खण्डन गर्न पनि नेकावृत्त चुक्ने छैनन् होला ।
प्रजातन्त्रवादी साहित्यकार विप्र कोइरालाको कम्यनिस्ट कवि भूपिसित भेट्ने मन । अर्को, टंकप्रसाद आचार्यले देशको राजनीतिक संरक्षकत्व लिनुपर्नेबारे । एउटा मानवीय सम्बन्धको अप्रतिम अभिव्यक्ति र भेटघाट । अर्कोचाहिँ विप्रको राजनीतिक सुझबुझ र दूरदृष्टि । पहिलाको परिचय लोकनृत्यसर्जक भैरवबहादुर थापाको कलमबाट र अर्को मणिराज उपाध्यायको कलमबाट हुन्छ । दुवै मार्मिक र भावुकतापूर्ण छन् । यी संस्मरणहरूको मर्म बुझ्न दुवै लेख पूरै पढ्नु पर्दछ।
स्थानाभावको कारण यति नै भन्नु पर्याप्त होला, विपक्षी दलहरूप्रति सद्भाव राख्ने समदर्शी प्रधानमन्त्रीका रूपमा, राजनीतिक सुझबुझ र दूर भविष्यसम्म दृष्टि राख्ने अर्थात् आजको भागबन्डाको राजनीतिलाई दशकौं अगाडि देख्न सक्ने र ‘राजाको निरंशुकताको विरोध गर्दा दलहरूको मिलेमतोको निरंकुशताको बीजारोपण हुने' खतरा देख्ने मेधावी राजनीतिज्ञका रूपमा (‘टंकप्रसाद आचार्य र आजको नेपाल' जन्मशताब्दी स्मारिका, ‘पञ्चायत र बहुदलबीच भएको जनमत', २०६९, पृष्ठ ११६-१२३) र भैरवबहादुर थापाकृत ‘समर्पण' (२०६७, पृष्ठ ९१-९५) मा विप्रका उच्च मानवीय गुणहरूको परिचय पाइन्छ । बर्मा, उपाध्याय र थापा नाम चलेका व्यक्ति हुन् जसमध्ये पहिला र तेस्रा आज पनि हाम्रो माझमै छन् ।
विप्र कोइराला सारनाथमा र पुष्पलाल वनारसमा निर्वासित जीवन बिताउँदा मुलुकमा पञ्चायतको अन्त्य गर्न नेका र नेकपाबीच कुनै प्रकारको संयुक्त कार्यका लागि पुष्पलालको बारम्बारको प्रस्तावप्रति विप्रको प्रतिक्रिया सधैं नकारात्मक रह्यो । तर त्यसो भयो भन्दैमा पुष्पलालले विप्रको राजनीतिक महत्तालाई इन्कार गरेनन् । उनी त आफूकहाँ भेट गर्न आउने प्रत्येक व्यक्तिलाई सारनाथ गएर विप्रसँग भेटघाट गर्न लगाउन चुक्दैनथे । केही वर्षपछि यो सत्प्रयास गणेशमानसिंह तथा कृष्णप्रसाद भट्टराईको राजनीतिक सुझबुझबाट सुसम्पन्न भयो भन्दा पञ्चायतविरोधी संघर्षमा विप्रको प्रधान भूमिकाको अवमूल्यन हुन सक्दैन ।
मामिलालाई अर्को पक्षबाट हेरुँ । आफ्ना पिता कृष्णप्रसाद कोइरालाले आफ्नै बन्दव्यापार र खेतीपातीबाट सुसमृद्ध जीवनयापन गर्दा विप्र यो संसारमा आएका थिएनन् । उनले चरम अभाव र निर्धनताको जिन्दगी झेल्दै आठ वर्षको उमेरमा नांगो खुट्टा र एकसरो खद्दरको पहिरनमा काशीमा पढ्न बसेको वर्णन ‘आफ्नो कथा'मा पाइन्छ । नेपालको कुनै अर्को राजनीतिक नेताले यस्तो संघर्षपूर्ण र अभावग्रस्त बाल्यकाल बिताएका थिएनन् ।
भारतीय स्वाधीनता आन्दोलनको लहरबाट उनमा राजनीतिक जागृति आउँदछ । अनि १५ वर्ष पुग्दा नपुग्दै महात्मा गान्धीले जस्तै आफ्नो देश नेपालमा आन्दोलन संगठन गर्ने विचारलाई समाजवादी सैद्धान्तिक अवधारणाले पुष्ट गर्न थाल्दछन् । यो साँचो हो, त्यतिन्जेलसम्म र त्यसपछिका वर्षहरूमा उनी नेपाल र भारतबीच राजनीतिक, सांस्कृतिक, सामाजिक मात्र नभई भौगोलिकरूपले पनि अभिन्नता रहेको धारणा राख्दै प्रवासी राजनीतिक आन्दोलनमा सक्रिय थिए । यो पनि साँचो हो, ती युवकमा राणाशासन-विरोधी भावना टंकप्रसाद आचार्य र गणेशमान सिंहको जस्तो देशीय परिवेशको थिएन ।
विप्रले आफ्नो सोसलिस्ट अवधारणालाई मूर्तरूपः दिन सोसलिस्ट कार्यकर्ता, संस्कृति र संस्कार विकसित गर्न सकेनन् । यो नेपाली इतिहासको वियोगान्त पाटो हो । उनी संस्कृतिको क्षेत्रमा मनोवैज्ञानिक सिगमण्ड फ्रायडबाट धेरै प्रभावित थिए । उनले स्वामी विवेकानन्दको अवधारणाले आफूलाई आकर्षण नगरेको बताएका छन् ‘आफ्नो कथा'मा । उनले कदाचित दार्शनिक एवं आध्यात्मिक चिन्तक जे. कृष्णमूर्तिको सत्संग पाएका भए नेपालको आध्यात्मिक सम्पदा धेरै नै सुसमृद्ध हुन सक्थ्यो होला ।
कुनै बेला अनावश्यक ढंगले श्री पशुपतिनाथको महत्ववमाथि प्रश्न गर्ने विप्र २०३३ सालपछिका राजनीतिक गतिविधि प्रारम्भ गर्नुअघि शुभआशीर्वाद लिन टंकप्रसाद पत्नी रेवन्तकुमारीकहाँ पुग्थे भनी मणिराज उपाध्याय स्मरण गर्दछन् । यसलाई पनि अध्यात्मवादीप्रति अनिश्वरवादीको सम्मान मान्नु जाती होला । तर नेपाली माटोमा जन्मेको, हुर्केको र बढेको नहुँदा नहुँदै पनि त्यो व्यक्ति राणाशासन-विरोधी संघर्षको महानायक कसरी बन्यो र बन्न सक्यो ? यो राजनीतिक रहस्यको समुचित भेदन गर्न सक्ने को होला ?
यसैकारण विप्र एक अद्भुत व्यक्ति (फिनोमेना) हुन् । जसले उनीबारे लेखेका छन् ती आजसम्म अपूर्ण, एकसरो वा व्यक्तिपूजक छन् । आफ्ना नायकका कतिपय गल्तीहरूप्रति औंला ठड्याउन सक्ने प्रतिभाशाली प्रदीप गिरीले के यो रहस्य भेदन गर्न सक्लान् ? गणेशराज शर्मा पनि सामथ्र्यवान् हुन् तर उनी त बितिहाले । विप्र कोइरालाको प्रकाशमा आउन नसकेका विभूति र उत्तरदान अनावृत्त गर्न कांग्रेसइतरकै कोही सचेष्ट हुन्छ भने त्यो नेपालको इतिहासप्रति ठूलो योगदान ठहर्ने छ ।
अन्त्यमा, २०३९ सालमा आफ्नो देहावसानको केही दिनअघि मात्र विप्रले राष्ट्र र राष्ट्रियताबारे आफ्ना विचारहरू टेपमा रेकर्ड गराएका थिए । उक्त टेपको सम्पादन गरी गणेशराज शर्माले ‘राष्ट्र, राष्ट्रियता र राजनीति' शीर्षकमा पुस्तक प्रकाशित गरेका थिए । त्यसमा विप्रले नेपालको राष्ट्रियता एवं राष्ट्रिय हितमा आघात गर्नेगरी कालान्तरमा हाम्रो दक्षिणी छिमेकी मुलुकका निहित स्वार्थी तत्वहरूले हाम्रो देशको विखण्डनको चेष्टा गर्ने गराउने तर नेपालीहरूको अर्थात् समस्त जाती र जातीयताका नेपालीहरूको देशप्रेम तथा सौर्यबाट त्यस्तो दुष्चेष्टा विफल भइछाड्ने विश्वास व्यक्त गरेका छन् । यही राजनीतिक इच्छापत्रद्वारा विश्वेश्वरप्रसाद कोइराला आधुनिक नेपाली राजनीतिका एक मूर्धन्य व्यक्तित्व सिद्ध हुन्छन् । अतः यिनी टंकप्रसाद आचार्य र पुष्पलालसँगसँगै प्रत्येक देशभक्त एवं स्वाभिमानी नेपालीले सधैं सम्झिरहनुपर्ने नाम हुन् ।