रेखा शाहको पहिलो रजस्वला : सहरमै छन् आधुनिक छाउघर

रेखा शाहको पहिलो रजस्वला : सहरमै छन् आधुनिक छाउघर

एकाबिहानै शरीर अप्ठ्यारो भयो। ९ कक्षा पढ्दै थिएँ। उमेरले १५ टेकेकी। स्कुल बिदा थियो। अलि अबेर उठेकी थिएँ। सात पो बज्दै थियो कि ?
बिहानै पेट दुखेजस्तो भयो। ढाड पनि कताकता दुखेजस्तो भयो। खै के भयो के ! पेट फुलेजस्तो पनि भयो। जनेन्द्रियतिर चिसो भएको अनुभव भयो। तर, लुगा हेर्न पनि डर लाग्यो। बोल्नै गाह्रो भयो। घरभित्र गएर एक कुनामा बसेँ। हजुरआमाले खाजा बनाइदिनुभयो। दूध, मोही, मकै खाएर आमासँगै घाँस काट्न गएँ। चुपचाप केही नबोली घाँस काटिरहेकी थिएँ। शरीरले भने आफ्नो धर्म छोडेको थिएन। लुगामा देखिने गरी नै रगत लागिसकेको थियो। तैपनि आमाले देख्नुभएको थिएन। आमालाई लुगाको रगत देखाउँदै भनेँ, ‘आमा यो के भएको ? '

रगतले भिजेको कपडा आमाले भन्नुभयो, ‘मरेछ यो त। नछुने भएछ।'
झसंग ! झसंग भएँ म। नछुने भयो भनेको सुनेको त थिएँ तर थाहा थिएन के हो यो ? आमा नछुने भयो भनेर घरको पिँढीमा सुत्नुहुन्थ्यो। गाउँमा पनि नछुने भएको भन्थे। तर, कसैले पनि बताएको थिएन। अँ, असार-साउनमा खेतबारीको काममा जाँदा रगतको ढिक्का चुहेको देख्थेँ। त्यो देख्दा बडो अचम्म लाग्थ्यो। के भएको होला भनेर छक्क पर्थेँ। सोध्दा आमाहरू भन्थे- चुप लाग्। आफैंलाई परेपछि थाहा पाउँछेस्।

म पनि नछुने हुने ? त्यो त मैले कहिल्यै सोचेकी थिइनँ। हजुरआमासँग नजिक थिएँ म। उहाँले नछुने भयो भनेको त कहिल्यै सुनेकी थिइनँ। अनि म पनि कसरी नछुने हुन्थेँ त ? एकाएक आमाले नछुने भइस् भन्दा अत्तालिएँ म। के भयो भयो। खुब रुन मन लाग्यो। तर, आमाको अगाडि रुन लाज लाग्यो। पढेको केटी थिएँ नि म त। त्यति धेरै पढेकी गाउँकै एक्ली केटी म। स्कुल जाने केटी कसरी आमाको अगाडि रुनु ?
‘चुपचाप लागेर घाँस काट, घर गएपछि लुकाऊँला।' आमाले भनेपछि चुपचाप लागेँ। खुरुखुरु घाँस काट्न थालेँ।
०००

धादिङ जिल्ला साविकको धुवाँकोट-४ हो म जन्मे, हुर्केको गाउँ। ठकुरी, तामाङ र मगर बस्ती भएको। सबैको जस्तो परम्परागत थियो परिवार। पहिलो सन्तान थिएँ म। बाले सौता ल्याएपछि आमा एउटा सानो भाइसँग जोडिएकै बेग्लै घरमा बस्नुहुन्थ्यो। म भने हजुरबा-हजुरआमासँगै थिएँ। हजुरबा-हजुरआमाले नै हुर्काउनुभयो मलाई।



जबसम्म रजस्वलालाई ‘नछुने भएको' भनिरहिन्छ, ठानिन्छ तबसम्म गाउँका प्राचीनदेखि सहरका आधुनिक छाउघरहरू रहिरहनेछन्।

अहिले उमेरले नौ दशकको उकालो लाग्नुभएका हजुरबा त्यति बेला हरेक साँझ महाभारत पढ्नुहुन्थ्यो। एकदमै कडा हुनुहुन्थ्यो उहाँ। उहाँको अनुमतिबिना म त के आमा र हजुरआमा पनि कतै जान पाउनुहुन्नथ्यो। म जान्ने हुँदासम्म पनि छोरीमान्छे एक्लै हिँड्नु हुन्न भनिन्थ्यो। भाइलाई लिएर जा भनिन्थ्यो। त्यो विचरा चारपाँच वर्षको भाइको साथ लिनुपथ्र्यो मैले।

परम्परागत चिन्तन भए पनि हजुरबामा पढ्नुपर्छ भन्ने चेत थियो। उहाँकै कारण मैले पढ्न पाएँ। उहाँले नै बोकेर स्कुल पुर्‍याइदिनुभएको थियो। स्कुल गएको पहिलो दिन बिरामी परेको धमिलो सम्झना छ अझै पनि। रोचक त के भने ३० को दशकको त्यो समयमा स्कुल जाने म गाउँकै एक्ली र पहिलो केटी थिएँ। धेरै समयसम्म एक्ली नै रहेँ।

यो हिसाबले हजुरबालाई गाउँकै चेतनशील मान्नुपर्छ। तर, गाउँको परम्परागत चिन्तनको प्रभाव त थियो नै। आखिर कन्स्ट्रक्टेड हुनुहुन्थ्यो उहाँ पनि। त्यसो त हजुरबालाई आफ्नै शिक्षाको अनुभवले पनि प्रभाव पारेको हुनुपर्छ।

हजुरबा निरक्षर हुनुहुन्थ्यो रे। एकपटक उहाँ मेलामा जाँदा श्लोक भनिरहेको सुन्नुभयो रे। ‘मलाई पनि श्लोक भन न' भन्दा आफैं पढेर आफैं भन् भन्ने जवाफ लगाएछन्। त्यही ईखले घरमै शिक्षक राखेर पढ्नुभएको थियो रे। सायद त्यसैको प्रभाव हो, स्कुल जाने गाउँकै पहिलो केटी भएँ म।
प्राथमिक स्कुलपछि भने अलि टाढा जानुपथ्र्यो, दुई घन्टा हिँडेर। गर्मीको बेला बिहान ६ बजे नै कक्षा हुन्थ्यो। बिहान चारै बजे घरबाट निस्कनुपथ्र्यो। आधा बाटोसम्म हजुरबा हजुरआमाले पुर्‍याइदिनुहुन्थ्यो।

स्कुल गए पनि कहिल्यै रजस्वला प्रक्रियाबारे पढाउने कोही भएन। गाउँमा नछुने हुने भनिन्थ्यो। के हो, कसरी गर्नुपर्छ, के गर्नुपर्छ कसैले बताउँदैनथ्यो।
मान्यताहरू थिए रजस्वलासँग जोडिएका। ससाना नानीहरूलाई देखाएर ‘फलानाकी छोरी त बिहे गर्ने भइसकी, नछुने भइसक्यो' भन्थे। कसैले भन्थे, ‘फलानाकी छोरी अठार पुगिसकी अझै नछुने भइसकेकी छैन।'

हुर्किंदै गएँ। शरीरको आकारप्रकार फेरिँदै गयो। बेग्लै बस्ने आमा पनि सगोलमै आइसक्नुभएको थियो। तैपनि हजुरआमासँगै बढी नजिक थिएँ। उहाँको मेनोपज (रजनोवृत्ति) भइसकेको थियो। सायद त्यसैले हो, मलाई रजस्वलाबारे केही थाहा थिएन। थाहा थिएनमात्र होइन, मेरो पनि रजस्वला हुन्छ भन्ने कहिल्यै लागेन। त्यसैले त आकासै खसेजस्तो भयो, जब आमाले भन्नुभयो, ‘मरेछ यो त। नछुने भएछ।'
०००

घाँस काटिसकेपछि आमा अघिअघि घर जानुभयो। हतारहतार भाइहरूलाई लुकाउनुभयो। नुहाउन पठाउनुभयो। पहिले आमा बस्ने गरेको घर रित्तो थियो। त्यसैको माथिल्लो तलामा बस्नुपर्ने भयो म। सात दिन घाम नहेरी। सात दिन भाइहरूलाई नहेरी। सात दिन एक्लै। सुन्दै कहाली लागेर आयो।
माथिल्लो तलामा गएपछि अघिदेखि गाँठो परेको मुटु फुकाएँ। भक्कानिएँ। खुब रोएँ। एक्लै।

रजस्वलाका शारीरिक, मानसिक प्रक्रियाबारे केही थाहा थिएन। आमाले सबथोक सिकाउनुभयो। स्यानिटरी प्याड आइसकेको थिएन। पुराना लुगाफाटा विशेषतः सुती साडीका टुक्राहरू नै स्यानिटरी प्याड बने।

आखिर थाहा नै कसलाई के थियो र ? पढेको भन्ने मै थिएँ। साथीहरू आउँथे। विचरा उनीहरूलाई के नै थाहा थियो र ? ‘कत्तिको रगत भनेर सोध्थे' उनीहरू। बस्, एउटा प्राकृतिक विपत्तिसरह थियो भोग्नैपर्ने। यस्तै धारणा बसिसकेको रहेछ मनमा।

सात दिन सात वर्ष होइन सात युगजस्तो लाग्यो। बाहिर निस्कन मन लाग्थ्यो तर मनाही थियो। कान्छो भाइ दुईतीन वर्षको थियो। खुब खेलाउन मन लाग्थ्यो। काखमा लिन मन लाग्थ्यो। ऊ बोलेको पनि सुन्थेँ तर मनाही थियो। एक दिन साथीहरूले बोलाए। म भित्रैबाट बोलेँ। भाइले सुनिहालेछ। मलाई खोज्दै आयो। भाइलाई भर्‍याङ चढ्दै गरेको देखेँ। हजुरबारले तानेर लानुभयो। त्यो दिन झन् बेसी रोएँ।

छोरी भएकैले लाग्ने मनाहीका बारहरू त यसरी सुरु हुँदा रहेछन्। के थाहा ? एउटा सानो प्राकृतिक प्रक्रियाले ममा फरक ल्याइसकेको थियो। अब देखिने, नदेखिने अदृश्य पर्खालहरू बनेका थिए। ‘नछुने नहुँदै कन्यादान गर्नुपर्छ' भन्ने मान्यता थियो गाउँमा। ‘नछुने' नै भएपछि बिहेका प्रस्तावहरू त आउन थालिहाले। तर, हजुरबाको चेतनाले काम गर्‍यो। नातिनीलाई नपढाएसम्म नअन्मनाउने उहाँको अडानले मेरो बिहे भएन।
पहिलोपटक सात दिन अँध्यारो कोठामा बन्दीसरह बिताएपछि सुरु भयो हरेक महिना चार दिन पिँढीमा बस्ने क्रम। हरेक महिना रजस्वला हुँदा पिँढीमा सुत्नुपथ्र्यो।
०००

काठमाडौं आएँ। गीत गाएँ। चर्चामा आएँ। तैपनि मेरो धारणा फेरिइसकेको थिएन। बढीजसो ब्राह्मणको घरमै डेरा गरेर बसेँ। उनीहरूले चुल्हो छुनु हुँदैन भन्थे। पूजाकोठा छुन दिँदैनथे। कलेज जान थालेपछि मेरो धारणा फेरिन थाल्यो। बिस्तारै यो प्राकृतिक प्रक्रिया हो, यसले केही हानि गर्दैन भन्नेमा अडिग हुनथालेँ। अनि भान्सामा जान थालेँ। पकाउन थालेँ। तर पनि पूजाकोठामा जान डर लाग्थ्यो। त्यो सानैदेखि बसालिदिएको डर थियो। त्यो डर यत्तिकै रहेनछ। ठूलो हिम्मत र शक्ति चाहिँदो रहेछ। जेन्डर स्टडिज् पढेपछि भने धेरै विषय बुझ्न थालेँ।

महिलालाई कसरी दमित बनाइएको रहेछ। समाजको संरचना कसरी निर्माण गरिएको रहेछ। सबै थोक बुझ्न थालेँ। पछिल्लो वर्ष भने मैले रजस्वला भएकै समयमा सबै पूजापाठ गरेँ। खोइ धर्ती हल्लिने, आकाश खस्ने भएन त ?

‘जेन्डर स्टडिज'को अध्ययनले मेरो चिन्तन फराकिलो बनाइदिएको छ। अब म कसरी समाजमा लैंगिक धारणाहरू निर्माण गरिएका छन् भन्ने बुझ्न थाल्ने भएकी छु। रजस्वलाजस्तो प्राकृतिक प्रक्रियालाई लैंगिक मान्यताको लेपनले विभेदको अस्त्र बनाइएको छ।

अझै पनि नछुने भएको भनिन्छ। समाचारमा छाउगोठमा छोरीमान्छे बस्न बाध्य भएको, त्यहीँ मृत्यु भएको पढ्नु वा सुन्नुपर्दा दुःखी हुन्छु। तर, विडम्बना ! सहरको पनि अवस्था त्यस्तै छ। मध्य वा सुदूरपश्चिममा भएको छाउपडी राजधानीमै पनि छ, त्यो पनि शिक्षितहरूकै घरमा। सुन्दा अनौठो लाग्नसक्छ।
म पहिला भाडामा बसेको एक घरमा महिनामा चार दिन सुत्नकै लागि कोठा छुट्ट्याइएको थियो। जब कि घरबेटीका छोरा नै डाक्टर थिए। हो, घरभित्रकै कोठा थियो। तर, ‘नछुने' भएकाले त्यहीँ बस्नैपथ्र्यो। अरु छुन पाइँदनथ्यो। के यो छाउघर होइन ?। यो आधुनिक छाउघर हो। गाउँको छाउघरमा भन्दा फरक के छ भने सुरक्षित छ। बाथरुम नजिक छ।

रजस्वला शारीरिक प्रक्रिया त हो नै, यो स्त्री हुनुको सबैभन्दा ठूलो विशेषता पनि हो। रजस्वला रजसँग जोडिएको छ। रज सृष्टिको बिज हो। सृष्टिको मुहान हो। रज नभई सृष्टि हुँदैन। तर, त्यही रजस्वला हुँदा महिलाहरूले देखिने र नदेखिने विभेद सहिरहनुपर्छ। जबसम्म रजस्वलालाई ‘नछुने भएको' भनिरहिन्छ, ठानिन्छ तबसम्म गाउँका प्राचीनदेखि सहरका आधुनिक छाउघरहरू रहिरहनेछन्।

रजस्वलाबारेको मेरो धारणा फेरिइसकेको छ। मेरोनिम्ति यो अब गर्व र गर्भको आधार हो। पहिलोपटक रजस्वला हुँदा दुःखी भएँ तर रजनोवृत्ति हुँदा पक्कै पनि खुसी हुनेछैन। किनकि, रजस्वला मेरो महिला हुनुको शक्ति हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.