पिता-स्मृतिका धुमिल दिनहरू

 पिता-स्मृतिका धुमिल दिनहरू

एउटा गीत छ, ‘सोचे जस्तो हुन्न जीवन ।' त्यसैले यस्तो लाग्छ, सायद नसोचे जस्तो हुनु नै जीवन हो । असार २४ गते शनिबार अन्नपूर्ण पोस्ट्को अनलाइन संस्करण पढ्दै थिएँ । त्यसमा पुरानो न्युरोडलाई जोडेर बाको प्रसंगबारे लेखिएको मेरो लेख पनि प्रकाशित थियो जो ‘फुर्सद' मा छापिएको छ । ‘फुर्सद'को त्यही अंकमा लेखक शाश्वत पराजुलीले आफ्ना पिता एवं साहित्यकार कृष्णप्रसाद पराजुलीको सम्झनामा लेखिएको मर्मस्पर्शी लेख पनि छापिएको थियो । र, त्यही अनलाइनको एउटा कुनामा रङ पत्रकार सविन शाक्यले आत्महत्या गरेको समाचार पनि प्रकाशित भएको थियो ।

यी तीन सामग्री एकआपसमा कहीँ पनि सम्बन्धित होइनन् । तर, मेरा लागि यी तीन सामग्री एउटै पत्रिकाको एउटै वालमा एकैसाथ पोस्ट् हुनु भनेको जीवनको एउटा नसोचिएको घटना एकैसाथ घटित हुनुजस्तै भयो । किनभने म, शाश्वत र सविन कुनैबेला एउटै स्कुलको एउटै कक्षामा पढ्ने तीन सहपाठी थियौं । काठमाडौं धरहराछेउको गणबहालस्थित नेपाल आदर्श माध्यमिक विद्यालयमा कक्षा एकदेखि नै हामी एउटै कक्षामा पढ्थ्यौँ ।

अहिले सामुदायिक स्कुलहरूको स्तर खस्किँदै गएको भए पनि आफ्नो जमानामा नेपाल आदर्शका विद्यार्थीले एसएलसी बोर्डसमेत हानेका थिए । कक्षामा शाश्वत उचाइले फुच्चे देखिए पनि पढाइमा अत्यन्त तेज थियो । सबिन चल्तापुर्जा विद्यार्थी भए पनि पढाइमा कमजोर थियो । मैले आफूलाई चाहिँ यी दुईको तुलनामा ‘बीचवाले' विद्यार्थी भन्नुपर्ला । कक्षा चढ्दै जाँदा सबिन कहीँ छुट्टियो । शाश्वत र मैले एकै साल एसएलसी पास गर्‍यौँ ।

सबिन र म हुर्किएको टोल सँगसँगै थियो । ऊ यंगाल टोलमा बस्थ्यो, म झोछेँ ओमबहाल । सबिनको बुवा शाक्य भए पनि आमा ब्राह्मणको छोरी हुनुहुन्थ्यो । बुबा लगनमा टेलरिङ पसल चलाउनुहुन्थ्यो भने आमा जागिरे । सबिनको बुबा आफ्नो पसल बन्द गरिसकेपछि साँझ सधैं हाम्रो भट्टी पसल छिर्नुहुन्थ्यो।
भारतमा ‘शोले' फिल्म रिलिज भएको जमाना थियो त्यो । फिल्ममा धर्मेन्द्र पनि भएका कारण नेपालमा ‘शोले' लाग्ने अवस्था थिएन ।

त्यसैले ‘शोले' हेर्न काठमाडौंका केही युवाहरू बस चढेर रक्सौलसम्म पुगेका थिए । त्यसरी रक्सौल गएर ‘शोले' हेर्न जाने युवामध्ये एक सबिनका बुबा पनि हुनुहुन्थ्यो । सबिनका बुबाले ‘शोले' र रक्सौलका हलबारे गरेको वर्णन सुनेर पछि धर्मेन्द्र नै हिरो भएको अर्को फिल्म ‘धर्म-वीर' लाग्दा मेरा जेठा दाजु पनि भागेर रक्सौल फिल्म हेर्नै पुग्नुभएको थियो । ‘शोले'बारे आफ्ना बुबाले सुनाएको कथामा आफ्नो तर्फबाट पनि थप केही जोडेर सबिन हामीलाई सुनाउने गथ्र्यो । र, हामी केही फिल्मप्रेमीहरू सबिनसँग झुम्मिन पुग्थ्यौँ ।

 भारतमा ‘शोले' फिल्म रिलिज भएको जमाना थियो त्यो । फिल्ममा धर्मेन्द्र पनि भएका कारण नेपालमा ‘शोले' लाग्ने अवस्था थिएन । त्यसैले ‘शोले' हेर्न काठमाडौंका केही युवाहरू बस चढेर रक्सौलसम्म पुगेका थिए । त्यसरी रक्सौल गएर ‘शोले' हेर्न जाने युवामध्ये एक सबिनको बुवा पनि हुनुहुन्थ्यो ।

सबिन घरको एक्लो छोरा थियो । मेरो तुलनामा उसको परिवार सुखी नै छ जस्तो मलाई लाग्थ्यो । तर, मलाई लागेजस्तो हुन्न रहेछ जीवन ! बाहिरबाट हेर्दा सुखी जस्तो लाग्ने सबिनको परिवार अत्यन्तै डाँमाडोल थियो जुन उसको आत्महत्यापछि पनि थामिएला जस्तो लाग्दैन ।
उता शाश्वत चाहिँ भोटेबहाल बस्थ्यो । त्यस ठाउँको नाम त्यतिबेला ‘खिधः' थियो । अर्थात् काठमाडौंको भित्री सहरको मूल ढल यही टोल भएर बागमती छिर्ने गथ्र्यो । शाश्वतका पिता कृष्णप्रसाद पराजुलीले यो ठाउँको नाम बदलेर ‘सुनगाभा बस्ती' राख्नुभएको थियो । स्कुलमा ‘राम्रो रचना : मीठो नेपाली' पढ्न थालेपछि शाश्वतको पिता हाम्रो पनि ‘पिता' हुनुभयो । शाश्वतले एकाधपटक हामीलाई घर लगेर पिताजीसँग भेट पनि गराएको थियो । ती भेटमा हामी पिताजीबाट कुनै न कुनै बालपुस्तक ‘भेट' पाउने गथ्र्यौं । उहाँ हामीसँग धेरैबेर कुरा गर्नुहुन्नथ्यो तर शाश्वतले ‘ऊ पनि लेख्छ' भनेर मलाई देखाउँदा पिताजी ‘ए, हो र..ल राम्रो लेख्नु' भनेर मुस्कुराउनु हुन्थ्यो ।
...

शाश्वत, सबिन र म, हामी तिनैका पिता अहिले हुनुहुन्न । तर, आ-आफ्ना पिताका बारेमा हाम्रा अवधारणाहरू सायद फरक छन् । शाश्वतको पिता कृष्णप्रसाद पराजुलीले आफ्नो समाजलाई धेरै कुरा दिनुभएको छ । तर, मेरो पिताले समाजको त कुरै छोडौं, आफ्नै परिवारलाई समेत केही दिनुभएन । शाश्वत आफ्नो पिताको नाम लिँदा गर्वले ढक्क फुल्न सक्छ । म आफ्नो पिताको नाम कसैले लिइदेला कि भन्ने पिरले ढुकढुक भइरहेको हुन्छु । त्यसमाथि एकचोटी कस्तो काण्ड भयो भने पिताले आफ्नो नामै बदलिदिनुभयो । पाकोको मानन्धर गुठीमा हाम्रो उपनाम थियो ‘भलंद्यः' । पिताले आफ्नो पितृसँगै सम्बन्धविच्छेद गर्ने झोंकका साथ आफूलाई ‘भलंद्यः' को सट्टा ‘याकःद्यः' भन्ने उपनाम राख्न लगाउनुभयो । ‘याकःद्यः' अर्थात् एक्लो देउता । गुठीको ठ्यासफूमा उहाँको नयाँ नाम सुनेर गुठियारहरू सबै हाँस्ने गर्थे । मलाई भने यसले लाज मर्नु बनाउँथ्यो । तर, अहिले आएर लागिरहेछ- गुठीमा आफू एक्लैको त्यस्तो कित्ता बनाउनु पनि उहाँको साहस नै थियो ।

परिवारमा पिता र हाम्रो सम्बन्ध सामान्य खालको थिएन । त्यो एक हिसाबले अपारिवारिक थियो । पिताप्रति हामी कसैको पनि सोच सकारात्मक थिएन । किनभने उहाँले हामी अर्थात् परिवारको हितमा कहिल्यै पनि कुनै सकारात्मक काम गर्नुभएन । अहिले पनि सोच्दा म दंग पर्छु, दुनियाँमा आफ्नो परिवारबारे रत्तिभर पनि ख्याल नगर्ने मेरोजस्तो पिता पनि हुन सक्दा रहेछन् । स्कुलका साथीलाई उनीहरूका पिताले गर्ने व्यवहार देख्दा म छक्क पर्थेँ । सोच्थें- पिताहरू आफ्ना छोराछोरीसँग ख्यालठट्टा पनि गर्दा रहेछन् ! हाम्रोमा घरमा त्यस्तो पटक्कै हुँदैनथ्यो । हामीहरू पूरै आमामाथि निर्भर थियौँ । पिताकै व्यवहारका कारण मेरा दाजुहरू गलत संगतमा लागे, गलत कामहरू गर्न थाले ।

बुद्धिसागरको ‘कर्नाली ब्लुज' पढेपछि भने मलाई लाग्न थाल्यो- पितासँगको सम्बन्ध केवल पिताजस्तो मात्र नहुँदो रहेछ । पितासँगको सम्बन्ध बहुआयामिक हुन्छ । हुन त आमासँगको सम्बन्धका धेरै आयाम हुन्छन् । तर, आमाले हामीलाई जन्म दिनुको सम्बन्ध यति कडा छ कि त्यसका अगाडि अरू सबै सम्बन्धका आयाम फिक्का हुन पुग्छन् । पितासँगको सम्बन्धमा भने यति कडा आयाम कुनैमा पनि छैन । अतः सबै आयाम बराबर हैसियतका छन् । पिता हाम्रा पिता पनि हुन्, पितामह पनि हुन् । मित्र पनि हुन्, कहिलेकाहीँ शत्रु पनि हुन् । शिक्षक पनि हुन्, विद्यार्थी पनि हुन् । र, कसैकसैका लागि पिता कोही पनि होइनन् ।

कुनै पुरुष कसैको वीर्यदाता हुँदैमा उसको पिता पनि हुनैपर्छ भन्ने छैन । पिता यदि हाम्रो कोही पनि होइन भने त्यो ‘कोही नहुनु' पनि पितासँगको सम्बन्धको एउटा आयाम हो । पिता हुन् तर कोही होइनन् ! पितासँग कसै कसैको यस्तो सम्बन्ध पनि हुन सक्ने रहेछ । हाम्रो पनि पितासँगको सम्बन्ध ठ्याक्कै यस्तो त होइन तर यसैको नजिक पर्ने खालको थियो । पिता हाम्रो परिवारमा ‘पिता' भन्दा पनि एउटा ‘पात्र' हुनुहुन्थ्यो । मात्र एउटा पात्र ! यस्तो पात्र जसले हामी सबैको जीवनलाई निरन्तर प्रभावित बनाइरह्यो ।

शाश्वतका पिता नेपाली वाङ्मयको इतिहासका पात्र हुनुहुन्छ । तर, मेरा पिता पनि त्यो स्तरको इतिहासमै उल्लेख गर्न मिल्ने पात्र चाहिँ हुनुहुन्न । तथापि उहाँले आफ्नो जीवनमा जति पनि क्रियाकलाप गर्नुभयो त्यसका आधारमा भने उहाँ इतिहासको नभए पनि उपन्यासको पात्र चाहिँ अवश्य हुनुहुन्थ्यो कि भन्ने मलाई लाग्छ । इतिहासका पात्र आफैं बन्छन् । उपन्यासका पात्र हामी बनाउँछौं । मेरा पिताले दुनियाँलाई सुनाउनलायक केही काम गर्नु भएको छैन । तर, मलाई लाग्छ- मेरा पितामार्फत दुनियाँलाई सुनाउनलायक धेरै कुरा हामी भन्न सक्छौं ।

समाजले सकारात्मक पात्रबाट मात्र होइन नकारात्मक पात्रबाट पनि धेरै कुरा सिकिरहेका हुन्छन् । मेरा पिता समाजलाई त्यसरी नै सकारात्मक शिक्षा दिइरहने एक नकारात्मक पात्र हुनुहुन्छ । नेपालकै मुटु मानिने न्युरोडमा घर भएको एउटा रैथाने ‘साहु' कसरी आफ्नै जीवनको चक्रव्यूहमा फस्दै गएर अन्ततः एउटा बस्ने कोठासमेत नभएको फकिरको स्थितिमा पुग्न सक्छ भन्ने ठूलो शिक्षा मेरा पिताजीबाट ग्रहण गर्न सकिन्छ । समाजलाई यस्तो शिक्षा दिन सक्ने एउटा प्रतिनिधि पात्र मेरा पिता हुनुहुन्छ । उहाँसँगको मेरो सबैभन्दा प्रगाढ सम्बन्ध सायद यही नै हो कि जस्तो मलाई लाग्छ ।

लक्ष्मीप्रसाद देवकोटाले गरिबलाई आफ्नो कोटै फुकालेर दिनुभएका कुरा हामी पढ्छौं । लक्ष्मीप्रसाद देवकोटासँग मेरा पिता रामप्रसाद मानन्धरको रत्तिभरको सम्बन्ध छैन । तर, माघ महिनाको एक दिन रक्सी खाएको सुरमा मेरा पिताले पनि बाटोमा मागिरहेका भिखारीलाई आफ्नो कोट दिएर आउनुभएको थियो । पिताजी हेटौंडाको व्यवसायमा टाट पल्टेपछि काठमाडौं फर्किनुभयो ।

पाँच जनाको आफ्नो परिवारलाई झोछेँको ससुरालीमा छोडेर उहाँ महिनौंसम्म बाहिरै बस्नुभयो । कहाँ बस्नुभयो, कसरी बस्नुभयो कसैलाई थाहा भएन । सायद विभिन्न साथीहरूको घर चहार्दै बस्नुभयो । एकदिन उहाँ कुनै पनि साथीको घरमा जान पाउनुभएन । डिल्लीबजारको सुनसान रातमा उहाँ एक्लै हिँडिरहनुभएको थियो । एक्कासि बेस्कन पानी पर्न थालेपछि चारखाल चोकको कुनामा राखिएको एउटा काठको प्रहरी बुथभित्र उहाँले पूरै रात उभिएर काट्नुभएको थियो ।

मेरा पिता यस्ता अनेक कथा र किस्साहरूका पोका हुनुहुन्छ । र, हामी त्यसका पात्र । हाम्रो सम्बन्ध पिता र पुत्रको भन्दा पनि कथा र पात्रको जस्तो रहेछ । पिता पनि एक मानिस नै हुन् । मानिसहरू खराब हुन सक्छन् । तर, खराब मानिसबाट खराबै कुरा मात्र सिक्नु जरुरी छैन । खराब मानिसबाट असल कुरा पनि सिक्न सकिन्छ । जस्तो मैले आफ्नो पिताजीबाट सिकेँ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.