जीवन : आदिमता र वर्तमानको ‘फ्युजन'

 जीवन : आदिमता र वर्तमानको ‘फ्युजन'

मलाई बारम्बार सम्झना आउँछ- भीमसेनको धरहरा र मेरा ८४ वर्षीय हजुरबुवा... । ६० वर्षपहिले नौ दिनको यात्रा तय गरेर नेपाल (काठमाडौं) आएका मेरा हजुरबुवा ६० वर्षपछि ६ घन्टामा ओर्लिएका थिए उही नेपाल । किशोरवयमा अनेकौं डाँडाकाँडा छिचोल्दै हेर्दै, जहान-परिवारलाई लत्ताकपडा किनिदिने सोच बोकेर नेपाल आइपुगेका त्यति बेलाका हजुरबुवा आज छ दशकपछि दुवै आँखाको दृष्टि गुमनाम गरेर आइपुगेका थिए । हिजो घ्यू बेच्न आइपुगेको नेपालसँग हजुरबुवाको एउटै पुकार थियो- मलाई मेरो नेपाल हेर्नसक्ने बनाइदेऊ...!

काठमाडौंको वर्तमान अवस्था र भीमसेनकृत धरहरा हेर्ने सपनाको साक्ष्य अर्थात् हजुरबुवाको बीपीकोइराला लायन्स नेत्र अध्ययन केन्द्र महाराजगन्जमा शल्यक्रिया हुँदै थियो । यसैबीच मैले शल्यक्रियामा संलग्न चिकित्सकसँग हजुरबुवाको धरहराबाट काठमाडौं हेर्ने सपना सुनाइसकेको थिएँ । यस मानेमा पनि शल्यक्रियाको भोलिपल्ट मैले उनको आँखाको पट्टी धरहरामै पुगेर खोलेँ । हजुरबुवाले काठमाडौंलाई दोस्रोपटक निकै गहिरोसँग हेरे । हजुरबुवाको अनुहार पढिरहेको मलाई यस्तो लाग्यो कि जसरी कुनै व्यक्तिले पहिलोपटक भेटेको बच्चालाई एकैपटक प्रौढावस्थामा पुगेपछि भेटेको छ ।

निकै बेर आँखालाई काठमाडौंभरि पोखेर हजुरबुवाले मतिर फर्केर एकै सासमा भने, ‘उपचार गर्न ल्याउने मेरो नाति र उपचार गर्ने ती डाक्टर बाबुलाई कहिल्यै कुनै रोग नलागोस्... ।'

म निःशब्द बनेँ । सयपत्री फूलझै पत्रैपत्र बनेका हजुरबुवाको निधार र गालामा उर्लेको आश्चर्यमि िश्रत खुसीले उनलाई किशोरवयमा फर्काइरहेझै लाग्थ्यो ।
उपर्युक्त घटनाको साक्ष्य पात्र मैले धेरै समयपछि थाहा पाएँ कि मेरो हजुरबुवाको मोतियाबिन्दु भएको आँखाको सफल शल्यक्रिया सम्पन्न गर्ने डाक्टरका डाक्टर रहेछन् आँखाबा उर्फ प्रा.डा. रामप्रसाद पोखरेल । हजुरबुवाबाट प्रेरित भएको नातिको ‘आदर्श चरित्र' डाक्टर पोखरेललाई भेट्ने र उनका जीवनका केही ऊहापोहलाई खोतल्ने योजना धेरै वर्षपछि अन्ततः यी हरफसम्म आइपुग्यो ।
...
बिरामीको उपचार गर्न पाउनु अहोभाग्य हो भन्ने कविराज आयुर्वेदाचार्य पिता नरपति पोखरेलको स्कुलिङबाट सुरु भएको डाक्टर पोखरेलको शिक्षादीक्षा विश्वको प्रथम मानिएको राष्ट्र बेलायत, अमेरिकासम्म पुगेर फैलियो । वैद्य परम्पराबाट सुरु भए पनि उनको शिक्षा मेडिकल साइन्समा केन्द्रित बन्यो । यसले उनलाई आँखाको विशेषज्ञ बनायो । उनले बेलायतबाटै औपचारिक कार्य सुरु गरे । नौ वर्षसम्म बेलायतको प्रतिष्ठित कलेजमा पढे । प्रतिष्ठित अस्पतालको उच्च पदीय जागिरे भए । यद्यपि उनलाई विदेशी मोहले छोएन ।

उनका थुर्पै साथी ग्रिनकार्ड पाएर अमेरिकामा सेटल भएको समाचारले उनलाई बारम्बार पिरोलिरह्यो । उनलाई पनि अमेरिका जाऊँजाऊँ लाग्यो । मन बहकियो । बेलायतको काम छाडेर अमेरिका जाने सोच पनि बनाए । तर, मनको दोबाटोमा उनी नराम्ररी अल्झिए । उनका सामुन्ने तीन विकल्प एकसाथ खडा भयो- ग्रिन कार्डका लागि अमेरिका जाने, उच्च पदमा जागिरे भई बेलायतमै बस्ने अथवा मातृभूमिको ऋण तिर्न नेपाल फर्कने । ­अन्ततः उनले जीवनका तीन विकल्पमध्ये तेस्रोलाई छाने र मातृभूमिको अटुट सेवा गर्ने दृढसंकल्प बोकेर सन् १९७१ को जुलाईमा काठमाडौं फर्किए ।

बेलायतबाट काठमाडौं फर्कंदा उनीसँग शैक्षिक ज्ञान र भविष्यका योजनाबाहेक केही थिएन । न बस्ने घर थियो न त कुनै व्यवसाय । विवाह नगरेको भर्खरको खाइलाग्दो युवक त्यसमाथि पनि बेलायतबाट उच्च शिक्षा हासिल गरी फर्केको । उनलाई पाएर तत्कालीन सरकार बडो खुसी भयो । तत्काल स्वास्थ्य सेवा विभागले घुम्ती आँखा शिविरमा जान प्रेरित गर्‍यो । उनले ठाने वीर अस्पतालको कोठाभित्र सीमित भएर गुम्सनुभन्दा मोफसलमा पुगेर जनमत बटुल्नु र तिनका समस्याको अध्ययन गर्नु उचित हुनेछ । यही निर्णयले उनलाई आँखाको बादशाह बनाइदियो । यसरी उनी जनताको आँखाबा बन्न पुगे ।
...

कठोर परि श्रम, समर्पण, प्रतिबद्धता र पारदर्शिता मान्छेको मन जित्ने महत्ववपूर्ण औजार हुन् । यस्तै अनुभवका जीवित साक्ष्य पोखरेललाई आजको स्थितिसम्म ल्याइपुर्‍याउने महत्ववपूर्ण साध्य नै अन्धोपन निवारण, रोकथाम र आँखा अस्पतालको स्थापनामा उनले पुर्‍याएको खास योगदान हो । नेपाल आएपछि उनले सुरुमा वीर अस्पतालमा बसेर आँखासम्बन्धी तथ्यांक केलाए । अनि निष्कर्ष निकाले- मेरो जीवन आँखाकै निम्ति बनेको हो ।

नेपाल आएपछि उनले सुरुमा वीर अस्पतालमा बसेर आँखासम्बन्धी तथ्यांक केलाए । अनि निष्कर्ष निकाले- मेरो जीवन आँखाकै निम्ति बनेको हो ।

प्रारम्भिक दिनहरूमा आँखाका बिरामीका लागि ठूलो समस्या थियो । वीर अस्पतालमा १६ वटा शय्या र दुईवटा आँखा विशेषज्ञ थिए । हप्तामा जम्माजम्मी तीन घन्टा शल्यक्रियाका निम्ति समय उपलब्ध हुन्थ्यो । ती शय्या आँखा पाकेर पिपले भरिएको अवस्थाका रोगको लागि बढी प्रयोग गरिन्थ्यो । दुवै आँखामा मोतीबिन्दु भएका बिरामीका लागि अपरेसन गराउन वर्ष दिनभन्दा बढी कुर्नुपथ्र्यो । पैसा हुनेहरू भारत गएर शल्यक्रिया गराउँथे, पालो पाएकाहरू उपचार गरेर फर्कन्थे । यी दुवैको पहुँच बाहिरका व्यक्तिहरू आँखाको ज्योति गुमाएर बस्न विवश हुन्थे । यही बेचैनीले उनलाई नेपाल आँखा अस्पताल खोल्ने बनायो ।

त्रिपुरेश्वरको गेस्ट हाउसमा बसेर उनले अहोरात्र बिरामीको सेवा गरे । सन् १९७४ देखि १९७८ सम्मको अवधिमा आँखा अस्पतालको स्थापना र विकासमा गर्न सकिने कार्यहरूको योजना बनाए । सन् १९७८ मा भारतको नयाँदिल्लीमा विश्व स्वास्थ्य संगठनले आयोजना गरेको ‘निवारण गर्न सकिने अन्धोपन' विषयक सम्मेलनमा भाग लिन स्वास्थ्य मन्त्रालयले उनलाई मनोनयन गर्‍यो । जहाँ पुगेर उनले आफू एक्लै अन्धोपन निवारणमा लागेको र आफूलाई सहयोगी व्यक्ति तथा संस्थाको खाँचो भएको कुरा सुनाए ।

उनका कुरा सबैका लागि उत्प्रेरणाको विषय मात्र रहेन, सु श्री निकोल ग्रासेट नाम गरेकी सहभागीले आएर डाक्टर पोखरलेलाई सहयोग गर्न आफू आतुर रहेको कुरा व्यक्त गरिन् । छलफल भएको केही हप्तापछि निकोल नेपाल आइन् र नेपालको विद्यमान आँखा उपचारको स्थिति र अन्धोरोगको विकराल समस्याको अध्ययन गरेपछि युरोप फर्किन् । अन्ततः उनै निकोल डाक्टर पोखरेलको अन्धोरोग निवारणको महत्ववपूर्ण अंग बनिन् । उनले युरोपका विभिन्न मुलुकबाट आर्थिक संकलन गर्नुका साथै विश्व स्वास्थ्य संगठनसँग मिलेर डाक्टर पोखरेलको ‘अन्धोपन निवारण र रोकथाम' अभियानलाई मूर्त रूप दिलाइन् ।

विश्व स्वास्थ्य संगठनले तयार गरेको ‘दृष्टि २०२०'मा अन्तर्निहित भावनाअनुसार दृष्टिको अधिकारलाई सन् १९९९ को सार्क सम्मेलनपश्चात् नेपालले अनुमोदन गर्‍यो । यसपछि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले आँखासम्बन्धी रोग निवारणार्थ सम्बद्ध सबै पक्षलाई समावेश गराएर उच्चस्तरीय समिति बनायो । यसले नीतिगत विषयमा निर्णय गर्ने अधिकार राख्छ । काठमाडौं उपत्यकाबाहिरका सबै खाले आँखा सेवा नेपाल नेत्रज्योति संघको अधीनमा कार्यरत छन् । नेत्रज्योति संघका संस्थापक तथा अध्यक्ष पोखरेलको एकल प्रयासबाट सुरु भएको आँखाको अन्धोरोग निवारण सामूहिकतामा बदलियो । पोखरेलको भागिरथी यत्न ३२ वर्षपछि काठमाडौं उपत्यकामा रहेको नेपाल आँखा अस्पतालसँगै देशभर १६ वटा आँखा अस्पताको स्थापना र विकासमा गति लियो ।
...

डाक्टर पोखरेलको जीवनमा तीन नारी पात्रहरू निकै महत्ववपूर्ण ठहरिए । स्वर्गीय बडामहारानी ऐश्वर्य जसले उनलाई सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को तत्कालीन अध्यक्षको हिसाबले खुलेर सहयोग गरिन् । दोस्रो व्यक्ति निकोल ग्रासेल, जसले ठूलो आर्थिक सहयोग गरिन्, आँखा रोग उपचार र तत्सम्बन्धी अस्पताल खोल्न महत्ववपूर्ण योगदान दिइन् र तेस्रो उनकी जीवन सारथि शोभाना पोखरेल । यिनै तीनको महान् त्याग-तपस्या र सहयोगमा रामप्रसाद पोखरेल ‘ड्रिम प्रजेक्ट-अन्धोपन निवारण र रोकथाम' सफल तुल्याउने डीआर पोखरेल बने ।

अंग्रेजीमा एउटा भनाइ छ- ‘लभ विइङ्स विथ टमी' अर्थात् माया पेटबाट सुरु हुँदो रहेछ । शोभाना पोखरेलले पकाएको खानेकुरा खाएपछि विस्तारै उनीप्रति पोखरेलको दृष्टि गहिरो बन्दै गयो । धर्म, संस्कृति, ज्ञानविज्ञान सबैतिरको ‘नलेज' राख्ने शोभाना उनको जीवनको एउटा महत्ववपूर्ण पात्र बन्न थालिन् । पोखरेल कटट्टर ब्राह्मणको छोरा शोभाना गुरुङकी छोरी । शोभाना ‘प्योर साइन्स'को विद्यार्थी पोखरेल ‘मेडिकल साइन्स'को । लन्डनबाट सुरु भएको उनीहरू प्रेमको मुना नेपाल आएपछि फूल बन्यो ।

डाक्टर पोखरेललाई शोभानाले कहिल्यै कुनै व्यक्तिगत प्रलोभनमा फसाइनन् । उनले ढिपि गरेको भए उनी बेलायत अथवा अमेरिकामा नै बस्थे होला । शोभाना उनलाई बारम्बार घोचिरहिन्- डाक्टर पोखरेल, मातृभूमिको ऋण तिर्नू । विदेशी मोहमा कहिल्यै नफस्नू ।

पोखरेल दम्पतीको आजसम्मको यात्रा नियाल्दा लाग्छ- शोभाना, पोखरेलको जीवन यात्राकी कमान्डर हुन् । उनले शतप्रतिशत गुन लगाएकी छन् श्रीमान्लाई । जीवनको एउटा आँखा बनेकी छन् । जति पोखरेलले अन्धोपन निवारणमा काम गरेका छन्, त्योभन्दा बढ्ता उनले गरेकी छन् । पोखरेलले नटेकेको नेपाली भूमि छैन । त्योभन्दा बढ्ता टेकेकी छन्- शोभानाले । उकाली-ओराली, घाम-पानी केही भनिनन् । छोरी सोनीलाई पनि उत्तिकै माया-संस्कार दिइन् । उनी जहाँजहाँ पुगे उनको साथ-सहयोग सशरीर त्यहीँ-त्यहीँ पुगिरह्यो । वास्तवमा जीवन भन्नु सुखदुःखको संयोग रहेछ । त्यसमाथि पनि पुरुष होस् या महिला, असल जीवनसाथीको उपस्थिति सदैव पाउन सक्यो भने मृत्युलाई पनि जित्दो रहेछ । यो पोखरेल दम्पतीबाट प्राप्त जीवन सहयात्राको निष्कर्ष हो । दाम्पत्य निष्कर्ष ।
...

आँखामा मात्र होइन । साहित्यमा पनि उत्तिकै रुचि राख्छन् डाक्टर पोखरेल । उनीसँग लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा तथा बीपी कोइरालाका किस्साहरू रहेछन्- गज्जब-गज्जबका ।
लक्ष्मीप्रसाद देवकोटाको ‘कवि हुने धुनमा' स्वयंको निबन्धसंग्रह ‘दाडिमको रुखनेर'मा पढेको थिएँ । पोखरेलसँग कुरा गर्दै जाँदा अचानक देवकोटाको किस्सा जन्मियो र पहिलोपटक पत्ता लाग्यो- देवकोटाको ‘कवि हुने धुनमा' निबन्धको रचना गर्भ । पोखरेलकै शब्दमा...

‘लक्ष्मीप्रसाद देवकोटा मलाई असाध्यै मन पर्ने कवि । उनीसँगको भेटको रमाइलो किस्सा छ । सात सालको कुरा हो । कविजीलाई भेट्ने रहर बोकेर भरतराज जोशी र म दुई डिब्बा पूmलमार चुरोटका साथ कविजीको घर मैतीदेवी पुग्यौं । कालो मोटो घुङ्रिएको केश, धोती र गन्जी लगाएका, ओछ्यानलाई बैठक बनाई तकियालाई लेख्ने टेबुल बनाएर बसिरहेका कविजी यस्तै हुलियामा थिए । रुघाले असाध्यै सताइएको बेला हामी पुगेका थियौं ।

नाकबाट सिँगान बगिरहेको । रुमालको अभाव देखिन्थ्यो । आफूले लेखेका अमूल्य कविताका पाना च्यात्दै सिँ-सिँ गर्दै थिए । हामीले हाम्रो परिचय र भेटको प्रयोजन बतायौं । अनि सुरु भयो देवकोटाजीसँगको भलाकुसारी । ‘तपाईं कसरी कवि बन्नुभयो ? कहाँबाट प्रेरणा पाउनुभयो ? ' कविजी केही बोलेनन् । कापीमा धुइँधुइँती लेखिरहे । केही समयमै ६÷७ पृष्ठको एउटा लेख तयार गरेर हामीलाई दिए । शीर्षक थियो ‘कवि हुने धुनमा' । साना कमिलाका दानाजस्ता प्रस्ट बुझिने अक्षर तर डिका नहालेको ...!'

देवकोटाको जवाफ पढेपछि त्यो पाण्डुलिपि पोखरेलले सँगै गएका भरतराज जोशीलाई दिए । मैले डाक्टर पोखरेललाई सुनाएँ- तपाईंको प्रश्नको उत्तर त ‘दाडिमको रूखनेर' शीर्षकमा छापियो उहिल्यै, निबन्ध बनेर । शीर्षकचैँ जस्ताको तस्तै- ‘कवि हुने धुनमा' ।
पोखरेल मुसुक्क मुस्कुराए मात्र । केही बोलेनन् ।
...

डाक्टर पोखरेललाई अरू केही चिन्ता छैन । ठान्छन् उनी, ‘मैले जे गरेको छु- ठीक गरेको छु । मलाई सम्पूर्ण सेवाग्राही जनताले सम्झिदिए भने पनि धन्य हुनेछ ।' सुरुमा उनले आँखारोग उपचारका लागि दक्ष जनशक्ति निर्माण गर्नका लागि ठूलो तपस्या गरे । थुप्रै विद्यार्थीलाई सम्बन्धित विषयको विज्ञ बनाउन, तिनीहरूको गाँस-बास-कपासको ग्यारेन्टी गर्न उनले अहोरात्र आफूलाई समर्पित गराए । उनले सिकाएका, पढाएका र केही बन्न प्रेरणा दिएका विद्यार्थी विश्वमा चिनिएका छन्, आज । नाम र दाम दुवै कमाएका छन् ।

थुप्रै चेलाचेलीका गुरु हुनुको गौरवलाई एउटै वाक्यमा यसरी प्रस्तुत गर्छन् पोखरेल, ‘गुरु वास्तवमा महान् चरित्र रहेछ । माझीजस्तो । अरूलाई तारिदिने र आफूचैं सधैं तैरिरहने ।'

आज पनि हप्ताको तीनचार दिन बानेश्वरको एभरेस्ट अस्पताल जाने गर्छन् र आँखाका बिरामीको उपचार गर्छन् । उमेरले चार बीस कटिसके तर पनि जोश उस्तै छ । शारीरिक व्यायाम, सन्तुलित भोजन र प्रिय गृहिणीसँगको सहकार्य, उनलाई जीवन्त तुल्याउने केही आधार हुन् । योभन्दा बढ्ता पाएका छन्-हजारौं÷लाखौं सेवाग्राहीको माया-आशीर्वाद । वैज्ञानिक पद्धतिमात्र होइन । उनीगाउँगाउँमा पुगेर परम्परागत विधि-विधानका साथै धामीझाँक्रीको विश्वासमा बसेका जनतालाई समेत भेटेर चेतना दिने काममा उत्तिकै क्रियाशील छन् । कैयनपटक धामीझाँक्रीलाई सेमिनारमा बोलाएर परम्परागत उपचार विधिमा आधुनिकताको समेत मि श्रण गर्न उनले सुझाइसकेका छन् । पोखरेल ठान्छन्, ‘जीवन आदिमता र वर्तमानको ‘फ्युजन' हो ।' परम्परालाई ध्वस्त बनाउँदैमा नयाँ निर्माण नहुने उनको तर्क छ ।

अन्तिम प्रश्न गरेँ, ‘अबको योजना ? ' ‘मलाई एउटै चिन्ता छ । आँखारोग उपचारमा भित्रिएका प्रविधि र दक्ष जनशक्तिले सबै नेपालीको दीर्घकालीन सेवा गर्न सकोस्÷सकून् । दलीय भागबन्डामा स्वास्थ्य क्षेत्रलाई नपारियोस् । मलाई सम्झियून् या बिर्सियून तर आँखाको अन्धोपन भएर कोही बाँच्न नपरोस् । गर्न धेरै बाँकी छ..।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.