पहिरोले महाकाली राजमार्ग अवरुद्ध, ३० परिवार जोखिममा
बैतडी : गएराति परेको पानीले सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतवाझदेखि–गोकुलेश्वर सडकखण्ड अन्र्तगत पर्ने डिलाशैन–६ बांगाबगरमा शनिबार बिहान ५ बजे पहिरो जाँदा सडक अबरुद्ध भएको स्थानीयबासी सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।
बांगाबगरमा माथिबाट आएको पहिरोका कारण सडक अबरुद्ध हुँदा यातायातका साधन बीचबाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कमलबहादुर बिष्टले जानकारी दिनुभयो । सडक खुलाउन प्रहरीको टोली बांगाबगरमा पुगेको उहाँले बताउनुभयो । अबरुद्ध सडक खुलाउन जेसिवी लगाईएको र दिउँसोसम्म सडक पुन सञ्चालनमा आउने प्रहरी निरीक्षक बिष्टले बताउनुभयो । सडक अवरुद्ध हुँदा दार्चुलाबाट विभिन्न ठाउँका लागि छुटेका र दार्चुलातर्फ जाने गाडीहरु बीचबाटोमै रोकिएका छन् । प्रहरी निरीक्षक बिष्टले भन्नुभयो ‘शुक्रबार राति परेको पानीले बांगाबगरमा पहिरो खसेको छ । पहिरोले सडक अवरुद्ध भएको छ । पहिरो पन्छ्याउन नेपाल प्रहरीको टोली बाँंगाबगरमा पुगिसकेको छ ।’
वि स २०६० सालमा आएको बांगाबगर पहिरो प्रत्येक बर्ष खस्ने गर्दछ । पहिरोका कारण बर्षातको समयमा बेलाबेलामा सडक अवरुद्ध हुने गरेको छ । पहिरोका कारण स्थानीयबासिन्दा समेत त्रसित बनेका छन् । २०६० सालदेखि प्रत्येक बर्ष पहिरोले घरखेत बगाउन थालेपछि स्थानीयबासी त्रसित बनेका हुन् ।
२०६० सालमा ६ परिवार पहिरोका कारण पूर्ण रुपमा विस्थापित भएका थिए भने पछिल्लो समयमा थप ७ परिवार पनि पहिरोका कारण विस्थापित भएका छन् । पहिरोले हालसम्म ५० रोपनी जमिनलाई बगरमा परिणत गरिसकेको छ । बर्षातसंगै पहिरो खस्न थालेपछि बांगाबगरबासीलाई चिन्तित बनाएको स्थानीय धनीराम सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो ‘यो पहिरोले त हाम्रो थातबास नै उडाएको छ । अहिले टहरामा समेत जाग्राम बस्नुपर्छ । कतिखेर पहिरो आएर बगाउँछ थाहा छैन् ।’
पहिरोको छेउमै टहरा हालेर बसेका दलित समुदायका ७ परिवारलाई अहिले निकै चिन्तित भएको डिलाशैनी ६ बांगाबागर महेश सार्कीले बताउनुभयो । ओत लाग्नका लागि आफूहरुसंग जमिन नभएकाले पहिरोको छेउमै टहरामा बस्न बाध्य भएको उहाँले बताउनुभयो ।
दुवैतर्फ गरेर अहिले ३० भन्दा बढी परिवार पहिरोको जोखिममा रहेका स्थानीयबासी तेजबहादुर साउँदले बताउनुभयो । ‘बीच भागबाट गएको पहिरो कतिखेर कतातर्फ आउने हो केही थाहा हुँदैन् । हामीलाई बर्षातको समयमा निकै डर लाग्ने गरेको छ ।’