कार्यकक्षमै कुटिएपछि स्वास्थकर्मी आन्दोनलमा
इलाम : आमालाई उपचार गराउन प्राथामीक स्वास्थ केन्द्र फिक्कल पुगेका दुई युवाले त्यहाँ कार्यरत हेल्थ असिस्टेन खाजुङ भोटेलाई कार्यकक्षमै कुटपिट गरेपछि स्वास्थकर्मीहरु आन्दोलित भएका छन् । बिहीबार साँझ उच्च रक्तचापकी विरामी आमालाई लिएर प्राथमिक स्वास्थकेन्द्र फिक्कल पुगेका सुर्योदय नगरपालिका–१० का सञ्जीव राई र भानुभक्त राईले भोटेलाई मुख र छातीमा मुक्का बजारेको केन्द्रका प्रमुख डाक्टर कुशल वस्तीले जानकारी दिनुभयो । । उनीहरुले अहेव तारा श्रेष्ठमाथि पनि दुव्र्यवहार गरेको डा. बस्तीले जानकारी दिनुभयो । उनीहरुले अस्पतालको इमरजेन्सी कक्षको ढोकापनि तोडफोड गरेको स्वास्थ केन्द्र प्रशासनले जनाएको छ ।
घटना लगतै प्रहरीले दुबै युवालाई नियन्त्रणमा लिएको प्राथामिक स्वास्थकेन्द्र व्यवस्थापन समितिका अध्यक्ष रोशन थापाले जानकारी दिनुभयो । घटनापछि शुक्रबार ओपीडी कक्षा बन्द गरिएको थियो । कानुनी कारवाही नभए आइतबार चार बजेदेखि ओपीडी बन्द गर्ने डा वस्तीले जानकारी दिनुभयो ।
आक्रमणमा परेका भोटेको छातीमा समस्या देखिएको डा. वस्तीले जानकारी दिनुभयो । इसिजीको रिर्पोट हेर्न ढिलो गरेको भन्दै ती युवाले आक्रमण गरेको पीडितको आरोप छ । घटनालाई राजनीतिकरण गर्ने र दोषीलाई छुटाउने प्रयास भएको भन्दै दोषीलाई कानुनी कारवाही नभए आइतबार दिउसोदेखि काम रोक्ने डा. वस्तीले बताउनुभयो ।
इलामको प्याङ, मंगलबारे, पशुपतीनगर र फिक्कलमा रहेको प्राथमिक स्वास्थकेन्द्र मध्ये फिक्कलले मात्रै इसिजी र एक्सरे सेवा प्रदान गर्दै आएको छ । २४ सै घन्टा इमरजेन्सी सेवा दिँदै आएको स्वास्थ केन्द्रमा बिहीबारको घटनापछि डाक्टर र महिला कर्मचारीमा त्रास बढेको डा वस्तीले बताउनुभयो । उहाँका अनुसार यसअघि पनि कर्मचारीलाई गालीगलौज गर्ने, धम्क्याउने क्रम रहेको भएपनि स्वास्थ केन्द्र प्रशासनले कतै उजुरी गरेको थिएन । डा वस्तीले अस्पताल हातामै प्रहरी विट राख्न वा शुरक्षाको राम्रो प्रवन्ध गर्न माग गर्नु भएको छ । घटनालाई सहमतिमा मिलाउन दवाव आउन थालेको उहाँले बताउनु भयो ।