तामेडाँडाको तामाखानी र कालो आलु
तपाईंले कालो आलु खानु भएको छ ? नझुक्किनुहोस्, मैले कालो नै भनेको हुँ ? खानु भएको छ कहिल्यै ? खानु भएको छैन भने एकपटक रामेछापको तामेडाँडा पुग्नुहोस् । तामेडाँडाको कालो आलु नेपालभरिकै विशेष स्वादको मानिन्छ । यो स्वाद चाख्नकै लागि पनि त्यहाँ जान आवश्यक ठानिन्छ । हुन त बिक्रीमा ल्याइएका त्यही आलु सहर बसीबसी खान पाइएला तर बारीबाट खन्नासाथको स्वाद अर्कै हुन्छ । । त्यो अग्र्यानिक स्वाद सहरसम्म आइपुग्न सक्दैन ।
टेलिभिजनमा संसार हेरेजस्तो मात्रै हो बजारमा किनेको आलु त । अनि तामाखानी पनि सिधै आफ्नै आँखाले हेरेर हातले छोएर अनुभूत गर्न सकिने यस ठाउँको विशेषता हो । आखिर यति रुचाइएको आलुको खेती किन गरिन्न यहाँ ? स्थानीय तामाङ दाइहरू भन्छन्- ‘काम गोर्ने मन्छे छाइना ।' हो, मोन्छेहरू पैसा टिप्न कतार दुबई भरिएका होलान् ।
अनि करिब एक मिटरको व्यासमा खनिएका गहिरा प्वालहरू छन् । प्वालको वरिपरि तामाजस्तै टल्किने ढुंगाहरू भेटिन्छन् । ती प्वालमा ढुंगा फाल्दा गाग्रीमा पैसा हाल्दाको जस्तो आवाज आउँछ । यस्ता स-साना तामाखानीका प्वालहरू थुप्रै छन् त्यहाँ । लाग्छ, कुनै समयमा जमिनभित्रबाट तामाका लाभाहरू विस्फोट भएका थिए ।
तामेडाँडा जानको लागि काठमाडौंबाट बनेपा, धुलिखेल, मंगलटार, बीपी हाइवे हुँदै सुनकोसी नदीको किनारैकिनार एक सय ३१ किलोमिटर मन्थलीसम्मको बाटो पिच गरिएको छ भने त्यसपछि चाहिँ कच्ची बाटो छ । पूरै कच्ची त नभनौ ढुंगाले छापेको बाटो हुँदै अगाडि बढ्नुपर्छ । ठाडो उकालो पनि छैन । त्यसैले जति माथि पुग्यो उति रमणीय ठाउँहरू देख्न पाइन्छ । साँच्चै भन्ने हो भने त्यहाँ पुगेपछि जीवनका ८० प्रतिशत तनावको पारो सुलुलु घट्छ र मन शान्त हुन्छ।
यो डाँडैमुनि जन्मेर सगरमाथा नाघी, सात समुद्र पार गर्न सक्ने म तामेडाँडा पुग्न जीवनका चार बीस उमेर पर्खिएछु । हजुरआमाबाट सुनेको लोरी नातिले आफू हजुरबा होइसक्दा पनि उत्तिकै मीठोगरी सम्झना गरे जसरी मैले यो तामेडाँडालाई हरेक वसन्तमा सम्झिरहेँ । विडम्बना, हिँड्ने बिहान ड्राइभरले पेट दुखेर आउन सकिन भनिदियो । मानिसमा विश्वास भन्ने कुरा हराएपछि विश्वासहीनहरूको संगतिले पनि आधा मर्नुपर्छ । एकछिन त मरेजस्तै भाउन्न भयो।
यात्रा त गर्नै छ । रमेश भतिजलाई गाडी व्यवस्था गरिल्याउनू भनेर बाइकमा उमेशसँग यात्रा सुरु गर्यौं । बाइकमा यात्रा यस्तै हो । काका भतिज मन्थली नपुगिएला कि जस्तै भइरह्यो बाटैभरि । कोटेश्वरमा नै म झन्डै दुर्घटनामा परेँ । एकापट्टि माइक्रोले अर्कोपट्टि बसले च्याप्छ । झगडा गर्नुको कुनै तुक छैन । यहाँ त जसले बढी बोल्न सक्यो उसैले न्याय पाउँछ । गाडीमा क्यामरा भए पो गल्ती चिनिन्छ । ट्राफिकहरू सिर्फ कानका भरमा काम गर्न बाध्य छन् । अन्यायमा परेर पनि बोलिनँ, मन्थली पुग्नुछ । जोगिँदा जोगिँदै बनेपामा साइकलले धम्की जोत्यो । उसमाथि धुलिखेलको धुलोले आँखा ल्याप्पै टाल्यो ।
बाह्रबिसेमा खाएको चिया र खाजाले भने एक्सिलेटर बटार्ने बल उमार्यो । उम्रिएको बलले बाइकको गति के बढाइएको थियो खुरकोटको डाँडामा झन्डै झरियो भीरतिर । खतरा ठाउँ आउनुअघि कुनै संकेत बोर्ड राखिएको छैन, झन्डै नमरेको खुसीयालीमा बिसाइयो । सानै छँदा म कल्पना गर्थे, ‘एक दिन सगरमाथा चढ्नेछु' । पछि बुझ्दै जाँदा चढ्नुपर्ने चुचुराहरू त कत्ति रछन् कत्ति । तर सगरमाथा चढ्ने धोको भने पूरा भएन । पानीको व्यग्र प्यासमा बरफको टुक्रा चुसिहिँडेजस्तो म मेरा अतृप्त चाहनाहरू बोकिहिँड्या छु । युरोपेली साथीहरू मबाट सगरमाथा आरोहणको रोमाञ्चक कथा सुन्न चाहन्छन् । म बबुरो उल्टो कुरा बोलिदिन्छु - ‘सगरमाथा मेरो शिर हो, गोडाले टेक्न चाहन्न ।' फन्नी राइटर भनेर हाँसिदिन्छन् । आफ्नो कमजोरीहरू त आफैंलाई मात्र थाहा हुन्छ नि । ती कसैगरी पनि ढाँटिन्नन् ।
तामेडाँडाको अर्को विशेषता गुराँसको जंगल रहेछ । डाँडैभरि विभिन्न जातका गुराँस फुल्दा रहेछन् । रातो, सेतो र गुलाबी रङका गुलाफहरूले सिंगो पहाडलाई बगैंचा बनाइदिएका थिए ।
बेतालीको हलुवा गाउँमा आरनको दर्शन पाइयो । जसको सम्मानका लागि मैले एकजोर खुकुरीको अर्डर दिएँ । गाडीको स्पातद्वारा बनाइने खुकुरीलाई पाँच सय ५० मात्र रहेछ । त्यही खुकुरीलाई काठमाडौंको ठमेल या अरू कतै ३५ सयभन्दा कमीमा पाइन्न ।
करिब तीन घन्टा गाडीको यात्रा पार गरेपछि रस्नाला जेठानको घरमा पुगियो । त्यो रात त्यही बसियो । घर त मेरो पनि रस्नालु नै हो । तर आफ्नो घर त बाआमासँगै हिँडिहाले । गाउँ पुग्नासाथ मन चसक्क दुख्यो । भोलिपल्ट बिहानै तामेडाँडाबाट गौरीशंकर हिमालको शिरमा सूर्यको सुनौलो प्रकाश हेर्न बिहानै लागियो उकालो रस्नालु । बाटो कच्ची भएकोले समयमा पुग्न सकिएन । बिरौटा, खोलाखर्क, चौतरा, बासे हुँदै तामेडाँडाको फेदीमा पुगियो ।
गौरीशंकर हिमालसँग अनुहार जुध्यो । अरू हिमालहरू पनि हामीलाई हेर्न लस्करै उभिएजस्ता देखिन्थे । ‘म नेपाली' भन्ने गौरव छातीमा आएर ढक्क बस्यो । नेपाली भनेर जीवनमा अनेकौं अपमानहरू भोगियो होला । हिमाल अगाडि उभिएपछि अपमानका ती सारा चोट निमिट्यान्न भए । पूर्वतिरका डाँडापाखा पनि मज्जाले उघ्रिएको थियो । त्यहाँबाट देखिने जिरीको चर्दुङडाँडा, चरीकोट र पोकली छाँगामाथिको डाँडा पनि मज्जाले नै देखिँदोरहेछ । यहाँबाट धरहरा पनि देखिन्छ भन्ने सुनेकाले खोजिहेरेँ । भूकम्पमा ढलेको बिर्सिएको रहेछु । कामना गरेँ अब बाइसतले धरहरा बनोस् र अर्कोपटक आउँदा हेर्न पाउँ ।
तामेडाँडाको अर्को विशेषता गुराँसको जंगल रहेछ । डाँडैभरि विभिन्न जातका गुराँस फुल्दा रहेछन् । रातो, सेतो र गुलाबी रङका गुलाफहरूले सिँगो पहाडलाई बगैंचा बनाइदिएका थिए । पारिपारि हाँवा, होसिंगे, फुलपिङ र तलपट्टि झरेनी र बिरौटा नामका गाउँका देखिन्थे । मैदानी बस्ती नभए पनि दमसाइलो परेको यी गाउँ प्रकृतिको क्यानभासमा कोरिएका चित्रकारका चित्र जस्ता देखिन्थे । अचेल त भुँजी डाँडामा चिया रोपेर हरियो भएको रहेछ । कसैले अलैंची पनि रोपेछन् । अलिक लेकमा फल्ने कालो आलु यस ठाउँको मुख्य आकर्षण हो । यसपछि कालो माटोमा फलेको पहेँलो मकै अर्को आकर्षण हो । यो मकैबाट बनेको जाँडदेखि ढिँडोसम्म अब्बल दर्जाकै मानिन्छ ।
फेरि अलिक तलतिर झर्यो भने आलु रातो पाइन्छ । यसबाहेक प्याज, धान प्रशस्त उत्पादन हुनाले खानको लागि गाउँलेले कुनै चिन्ता गर्नु पर्दैन ।
डाँडाको टुप्पोमा चाँइदेवी थानको थपना गरिएको रहेछ । डाँडामा जाने पर्यटकहरूले चढाएको पैसा थानको परिसर वरिपरि हावाले उडाइरहेको थियो । यसै गाउँका लोकप्रिय गायक राजु लामालाई भेटेर यस स्थानको लागि सानो मन्दिर बनाउने सल्लाह गरांै भन्दा फोनमा सम्पर्क हुन सकेन । तर बुर्केका खड्क सुनुवारलाई भने भेटियो । तामेडाडाँलाई जतिसक्दो चाँडो पर्यटकीयस्थल बनाउनेबारे उहाँ र रस्नालुवासी अनि अरू गन्यमान्यसँग छलफल भयो ।
त्यसो त स्थानीयवासीले आफ्नो जन्मभूमिप्रति बेवास्ता गरेको भन्न मिल्दैन । विदेशमा कमाएको धन उनीहरूले मज्जैले घर बनाउनमा खर्च गरेको देखिन्छ । सहरमा पनि त्यतिका पक्की घरहरू सायदै होलान् । तर सामाजिक विकासको नाममा भने मन्दिरमा एउटा दानपेटिका पनि भेटिन्न । त्यहाँ वैशाख १ गते र साउन २ गते मेला लाग्ने पुरानै चलन छ । पिकनिकका लागि पनि विभिन्न स्थानबाट मानिसहरू आउँदा रहेछन् । दक्षिणतिर अति भिरालो भएकाले वनभोज या मेला भर्न आउने मानिसहरू वर्षैपिच्छे यहाँबाट कोही न कोही खस्ने गर्दछन् ।
हाम्रा आधा टिम माथि कालो चौतारामा नै आराम गर्दै खाजा तयार बनाएर बसेका थिए । कालै ढुंगा र कालै माटोले बनेको हुनाले यसको नाम कालो चौतारो हुन गएको रहेछ । २०६४ सालमा सडकले भत्काएपछि मान्छेको दिमागमा मात्रै रहेछ कालो चौतारा । सडकसँगै होटेल व्यापार फष्टाउँदै गयो । गाउँ झन् धनी भयो । भन्छन्- कालो चौतारामा सेतो छ्याङ खान जाऊँ च्याङ्बा !