पशुपतिप्रसादको छाँयामा धनपति

पशुपतिप्रसादको छाँयामा धनपति

राजनीति र चलचित्रका केही साझा गुण छन् । यी दुवैले समाजका अन्तर्विरोधलाई व्यक्त गर्छन् । समाजका अन्तर्विरोध राजनीतिमा संगठन, आन्दोलन र संघर्षद्वारा मुखरित हुन्छन् भने चलचित्रमा तिनै अन्तर्विरोध सौन्दर्य बिम्बका माध्यमबाट प्रकट हुन्छन् । अन्तर्विरोधको हल गर्नु राजनीति र चलचित्र दुवैको अभीष्ट हो । त्यसका लागि राजनीतिले जस्तो बल प्रयोगको विधि त चलचित्रले अपनाउँदैन तर कलात्मक पुनर्सिजनको आफ्नै मौलिक र विशिष्ट विधिद्वारा त्यसका लागि काम गर्छ । यही बिन्दुमा चलचित्र र राजनीति आपसमा जोडिएका छन् ।

Madhav-Dhungelसामान्य अवस्थामा साहित्य, संगीत वा कलाकृतिले झैं चलचित्रले पनि लुकेर राजनीति गरेको हुन्छ । तर, सामाजिक अन्तर्विरोध बढी नै मुखर भएको विशिष्ट परिस्थितिमा राजनीतिलाई नै मुख्य विषय बनाएर चलचित्र निर्माण गर्ने गरेको पनि देखिन्छ । खगेन्द्र लामिछानेको लेखन तथा अभिनय र दीपेन्द्र के. खनालको निर्देशन तथा छायांकन रहेको 'धनपति' यस्तै चलचित्र हो जसले राजनीतिलाई नै मुख्य विषयका रूपमा पेस गरेको छ ।
चलचित्र कसको ?

चलचित्रलाई निर्देशकको माध्यम मान्ने मत निकै बलियो र करिब स्थापित हो । तर, यो बहुसंख्यकले स्वीकार गरेको मत हो, सर्वस्वीकार्य भने होइन । सर्वस्वीकार्य हुन सक्दैन भन्ने एउटा सामान्य आधार 'धनपति' पनि हो । दीपेन्द्र के. खनालको निर्देशनमा बनेको भए पनि यो खगेन्द्र लामिछानेको चलचित्र हो । यसमा कथा, पटकथा, संवाद र अभिनय सबैतिर उनै छन् । खगेन्द्र अर्थात् 'टलकजंग वा टुल्के', खगेन्द्र अर्थात् 'पशुपतिप्रसाद'कै प्रभुत्व जताततै छ, निर्देशक खनाल छायामा छन् ।

चलचित्रमा जब निर्देशक नै छायामा पर्छ, त्यतिबेला यो माध्यम निर्देशकको माध्यम बन्न सक्दो रहेनछ । इटलीका एकजना पटकथाकार छन् सेसर जाभात्तिनी (सन् १९०२–१९८९) । भित्तोरियो डेसिकाद्वारा निर्देशित 'सुसाइन' (१९४६), 'बाइसाइकल थिभ्स' (१०४८), 'मिराकल इन मिलान' (१९५१), 'अम्बेर्टो डी' (१९५२) जस्ता चर्चित चलचित्रका लेखक उनै थिए । चलचित्र लेखकमात्रै होइन, त्यहाँको नवयथार्थवादी चलचित्रका प्रथम सिद्धान्तकार पनि उनी थिए । 'सम आइडियाज अन द सिनेमा' शीर्षकमा उनले दिएको अन्तर्वार्तालाई त्यहाँको नवयथार्थवादी चलचित्रको घोषणापत्र मानिन्छ । पछि जसले निर्देशन गरेको होस्, यिनले लेखेका चलचित्रहरू यिनकै नामबाट चिनिन थाले । लेखक यदि निर्देशकभन्दा प्रभावशाली भयो भने त्यो चलचित्रको परिचय लेखकसँग ज्यादा गाँसिँदो रहेछ र त्यो लेखकको चलचित्र हुन सक्ने सम्भावना हुँदो रहेछ ।

'धनपति'मा नवयथार्थवादी चलचित्रको झिल्काझिल्की पाइन्छ । लोकेसन सुटिङलाई महत्व दिनु, स्टारडमलाई अस्वीकार गर्नु तथा यथार्थको आड लिएर गरिबी र दुर्भाग्यको चित्रण गर्नु जस्ता विशेषता यसमा पनि छन् । चलचित्रमा मुख्य चरित्रको भूमिकामा रहेका खगेन्द्र लामिछाने परम्परागत शैलीका वलिष्ठ नायक होइनन् र उनी आफूलाई नायक भन्न रुचाउँदैनन् पनि । उनी आफूलाई अभिनेताका रूपमा स्वीकार गर्छन् । खासगरी 'टलकजंग भर्सेस टुल्के' र 'पशुपतिप्रसाद'ले बनाइदिएको छवि नै उनको लोकप्रिय छवि हो जसको निरन्तरता 'धनपति'मा पनि छ ।

'धनपति'ले राजनीतिबिनाको समाजलाई आदर्श समाजका रूपमा परिकल्पना गरेको छ जहाँ कुनै प्रकारका ट्रेड युनियनहरूको अस्तित्व नहोओस्, जहाँ पत्नीले पतिको कमाइमा बाँच्नु परोस्, जहाँ मानिसले आफ्ना बच्चालाई महँगा निजी विद्यालयहरूमा पढाऊन्, जहाँ आन्दोलनहरू नहोऊन्, बन्द हडताल नहोऊन् र शान्ति नै शान्तिमात्रै स्थापित होस् ।

चलचित्रले दर्शकका बीच जे जति चर्चा पाएको छ, त्यसको केन्द्रमा खगेन्द्र नै छन् । दीपेन्द्र के. खनाल निर्देशक अवश्यै हुन् तर उनका मौलिक विशेषता चलचित्रमा खासै प्रभावकारी छैनन् । 'युगदेखि युगसम्म', 'धर्मा', 'चपली हाइट', 'भिजिलान्ते', 'झोले', 'पशुपतिप्रसाद', 'चपलीहाइट २', 'लभ लभ लभ' हुँदै 'धनपति'मा आउँदा निर्देशकको जुन धार निर्माण हुनुपथ्र्यो त्यो निर्देशकका कोणबाट प्रस्ट खुटिने खालको छैन । तर, निर्देशकलाई हटाएर खगेन्द्रलाई जोड्ने हो भने फेरि धार प्रस्ट छ । 'धनपति' चलचित्र पहिलेका 'टलकजंग भर्सेस टुल्के' र 'पशुपतिप्रसाद' दुवैसँग स्पष्ट देखिने गरी जोडिन्छ ।

'टलकजंग भर्सेस टुल्के'मा निश्चल बस्नेतलाई लिएर राजनीतिमाथि चलचित्र बनाउँदा खगेन्द्रको जुन दुर्दशा भयो त्यो दुःखद् थियो । 'पशुपतिप्रसाद'मा उनले दीपेन्द्र के. खनाललाई लिएर काम गर्दा हौसला मिल्यो । राजनीतिमाथि चलचित्र बनाउने उनको तिर्सना मेटिएको थिएन । त्यो काम पनि जब उनले दीपेन्द्रसँग मिलेर हुन सक्ने सम्भावना देखे, टुल्केको बिच्केको तिर्सना मेटाउन चाहे, 'धनपति' जन्मियो । निर्देशक दीपेन्द्र के. खनाल यसमा खगेन्द्र लामिछानेका सहयोगी वा प्रस्तोता भएर उभिएका छन् ।

टुल्केदेखि धनपतिसम्म

'टलकजंग भर्सेस टुल्के' प्रसिद्ध चिनियाँ साहित्यकार लु सुनको कथाकृति 'आ क्युको सत्य कथा'लाई नेपालीकरण गरी बनाउन खोजिएको कमजोर चलचित्र हो । कथाको आ क्यु पात्रबाट प्रभावित खगेन्द्र लामिछानेले सो पात्रको भूमिकामा अभिनय गर्ने उद्देश्यले एउटा नाटक लेखेका थिए । त्यसमा उनी अभिनयको पूर्वाभ्यास पनि गर्दै थिए, तर जागिरले तानेपछि उनको अभिनय गर्ने चाहनामा अवरोध आयो । उनी जागिरतिर गए । आ क्युको भूमिकामा अभिनय गर्ने तिर्सना मेटिएको थिएन तर जागिरकै क्रममा नाटक मञ्चन भयो । पछि सोही कथामा आधारित रहेर चलचित्रका लागि पटकथा लेखे । निश्चल बस्नेतको निर्देशनमा 'टलकजंग भर्सेस टुल्के' चलचित्र बन्यो । खगेन्द्रले टुल्केको भूमिका निर्वाह गरे । अभिनेताका रूपमा उनको प्रशंसा पनि भयो तर राजनीतिक विषयमाथि चलचित्र बनाएर जुन जस कमाउने उनले सोचेका थिए, टुल्केले त्यो दिएन ।

त्यसपछि खगेन्द्रद्वारा गैरराजनीतिक विषयमा 'पशुपतिप्रसाद' लेखियो, निर्देशक भए दीपेन्द्र के. खनाल । चलचित्रको सर्वत्र प्रशंसा भयो, व्यापार पनि निकै भयो । खगेन्द्रको चर्चाले उचाइ लियो । यसबाट हौसिएका खगेन्द्रले तेस्रो चलचित्रका रूपमा 'धनपति' लेखे । आफ्नै कथा 'बाबुसाहेबको साइकल'लाई आधार बनाएर लेखिएको चलचित्रमा विषय फेरि पनि राजनीति नै रह्यो किनभने लेखक खगेन्द्रलाई राजनीतिक विषयमा सफल चलचित्र बनाउनु थियो । 'टलकजंग भर्सेस टुल्के'को जुन दर्दशा भयो, त्यसबाट बच्नका लागि निर्देशक छानिए 'पशुपतिप्रसाद'का 'सफल' निर्देशक दीपेन्द्र के. खनाल ।

तर, राजनीतिक विषयमा अभिरुचि भएका निर्देशक त खनाल पनि थिएनन् । उनको अनुभवको क्षेत्र 'चपली हाइट'तिर थियो भन्ने कुरा त्यसको सिक्वेल बनाउने रहरबाटै बुझिन्छ । निश्चल बस्नेतबाट हुन नसकेको काम दीपेन्द्र के. खनालबाट पनि भएन । 'धनपति'मा आइपुग्दा 'पशुपतिप्रसाद'को 'पति' र टलकजंगको 'बक्स्योस्'लाई जोड्ने काम मात्रै भयो । यी दुवै पहिचान खगेन्द्र लामिछानेसँग गाँसिएका पहिचान हुन् ।

पार्टी राजनीति

भनिन्छ, चलचित्र र फुटबलको समीक्षा गर्नुपर्दा मानिसहरू तुरुन्तै गरिहाल्छन्, त्यसका लागि ज्ञान चाहिँदैन । विश्वकप नै खेल्दै गरेका बेलामा पनि टीभी हेरेर बसेको दर्शकले यस्सो चाहिँ गर्नुपर्ने भनिहाल्छ । चलचित्रका हकमा पनि धेरैले यो काम गर्छन् । यो भएन, यसरी बनाउनुपथ्र्यो भन्ने सुझाव दिन्छन् । तर, नेपालमा चाहिँ राजनीति पनि त्यस्तो क्षेत्र भएको छ जहाँ जो पनि समीक्षा गर्न वा उपदेश दिन तम्सिहाल्छ । 'धनपति'का स्रष्टा खगेन्द्र लामिछानेमा पनि त्यो क्षमता प्रशस्त देखिन्छ ।

चलचित्रमा वामपन्थी पार्टीको राजनीतिक चरित्रलाई देखाउन खोजिएको छ । कम्युनिस्ट पार्टीहरूले प्रयोग गर्ने झन्डाबाट हथौडा हटाएर वाण चिह्न राखिएको छ । ती राजनीतिकर्मीहरू कुनै दिन भूमिगत राजनीति गर्थे, सुराकीका नाममा स्वाभिमानी समाजसेवीहरूको हत्या गर्थे, चन्दाका नाममा लुटपाट गर्थे भन्ने देखाइएको छ । नेपालका विद्यमान कुनै राजनीतिक पार्टीको नाम त चलचित्रमा लिइएको छैन, तर माओवादी हो भनी चिन्न कुनै गाह्रो पनि छैन । धनआर्जन र सत्ता प्राप्तिका लागि माओवादी आन्दोलन भएको थियो भनी बुझाउन खोजिएको छ ।

जुन कुरा बुझाउनका लागि चलचित्र बनाइएको छ, त्यो माओवादीलाई नरुचाउने अधिकांश नेता कार्यकर्ताहरूले बझ्दै र भन्दै आएको कुरा हो । नयाँ मुद्दा वा नयाँ कोण चलचित्रमा छैन । राजनीतिक व्यक्तित्वलाई भद्दा तरिकाले चित्रण गर्ने, तिनलाई नै खलपात्रका रूपमा बढाइचढाइकन प्रस्तुत गर्ने र सम्पूर्ण दुःखका स्रोत राजनीतिकर्मी नै भएको रटान दोहोर्‍याइरहने नेपाली तथा हिन्दी चलचित्रको मूलधारको परम्परालाई 'धनपति' चलचित्रले समात्ने प्रयास गरेको छ ।

'धनपति' बन्ने बेलासम्म आइपुग्दा नेपाली चलचित्र क्षेत्रमा राजनीतिमाथि 'कालोपोथी' तथा 'सेतो सूर्य'जस्ता गम्भीर चलचित्र बनिसकेका थिए । राजनीतिमाथि नै चलचित्र बनाउन खोज्ने खगेन्द्रका लागि उनीहरूको अनुभव उपलब्ध थियो । तर, सफलताको स्वादमा रमाएका खगेन्द्रका लागि ती अनुभव हितकर लागेनन् । उनले आफ्नै ज्ञान र अनुभवमाथि भरोसा गरे । फलतः 'धनपति' तिनका तुलनामा असाध्यै निम्छरो चलचित्र बन्न पुग्यो । राजनीतिजस्तो जटिल र बहुआयामिक विषयमाथि चलचित्र बनाउन खोज्दा एउटा स्रष्टा जति गम्भीर हुन सक्नुपथ्र्यो, लामिछानेलाई त्यो आवश्यक लागेन ।

ट्रेड युनियन

मजदुरहरू संगठित हुने वा ट्रेड युनियन स्थापना गर्ने ? यस प्रश्नको विरोध गरिएको 'धनपति'मा मालिकको सेवालाई परम कर्तव्य बनाई पेस गरिएको छ । रेस्टुराँमा काम गर्दा प्राप्त हुने मासिक १५ हजार रुपैयाँले काठमाडौंको महँगीमा जीविका गर्न कठिन भएको र एउटी छोरीलाई समेत मन परेको विद्यालयमा पढाउन नसकेको देखाइएको छ । मुख्य चरित्रलाई आर्थिक संकट त छ, तर ट्रेड युनियन वा मजदुरले आफ्नो सुविधा बढाउनका लागि गर्ने संघर्षलाई ऊ गलत भन्छ । नुनको सोझो गर्नुपर्ने बफादारीको शिक्षा छ ।

शिक्षा प्रणाली

'धनपति'मा शिक्षाको निजीकरणको वकालत गरिएको छ । सरकारी विद्यालयको शिक्षाप्रति अविश्वास छ । चलचित्रको मुख्य चरित्र निजी विद्यालयमा दिइने महँगो शिक्षाका लागि निरन्तर बफादार श्रम गरिरहेको छ । पछिसम्म पनि उसको बुझाइमा कुनै परिवर्तन आउँदैन । बच्चालाई बोर्डिङ स्कुलमै पढाउनुपर्छ भन्ने आफ्नो मतमा खगेन्द्र प्रस्ट र अविचल छन् । शिक्षा, स्वास्थ्यजस्ता आधारभूत कुराको जिम्मेवारी राज्यले लिनुपर्छ, व्यापारीहरूलाई दिनुहुँदैन भन्ने जुन धारणा समाजका केही व्यक्तिहरूमा छ, चलचित्र त्यसको विरोधमा छ ।

लैंगिकता

चलचित्रमा पितृसत्ताको जोडदार समर्थन छ । मुख्य चरित्र आफ्नी श्रीमतीले आयआर्जनको काम गर्नु हुँदैन भन्ने पक्षमा छ । पत्नीलाई लाउन–खान दिएर घरैमा पाल्नु पतिको धर्म हो । पतिले त्यो सकेन भने उसले प्रतिष्ठा गुमेको महसुस गर्छ । पत्नी कामका लागि घरबाहिर निस्कनुलाई उसले पतिको अपमान ठान्छ । चलचित्रमा पितृसत्ताको रक्षा गर्ने प्रयास कहाँसम्म गरिएको छ भने पत्नीले कामका लागि लुकिलुकी बाहिर निस्कनु परेको छ अनि जुन दिन पत्नीले काम गरेर कमाएको पैसा देख्छ, पति उसैका हातबाट पैसा जलाउन लगाउँछ । पत्नी पनि मान्छे हो, ऊ घरभन्दा बाहिर गएर श्रम गर्न सक्छे भन्ने कुरामा चलचित्र सहमत छैन ।

विश्वदृष्टि

चलचित्रलाई समकालीन समाजसँग संवाद गर्ने महत्वपूर्ण माध्यम मानिन्छ । साहित्यले शिक्षितसँग मात्रै संवाद गर्ने हैसियत राख्छ, संगीतले श्रवण क्षमता भएकासँग मात्रै संवाद गर्न सक्छ, चित्र आदिले दृश्य–क्षमता भएकासँग मात्रै संवाद गर्न सक्छ । तर, चलचित्रमा यी सबै विशेषता मिसिन्छन् । यसले सबैखाले व्यक्तिसँग कुनै न कुनै स्तरमा संवाद गर्ने सामथ्र्य राख्छ । त्यही भएर स्रष्टाहरू समाज र संसारप्रतिको आफ्नो बुझाइ वा दृष्टिकोणलाई बढी प्रभावकारी रूपमा प्रस्तुत गर्नका लागि चलचित्र माध्यम रोज्छन् । 'धनपति'ले समाजसँग संवाद गर्न चाहेका मुख्य क्षेत्रहरू पार्टी राजनीति, लैंगिकता, शिक्षा प्रणाली र मजदुर समस्या नै हुन् ।

चलचित्रले राजनीतिलाई पार्टी राजनीतिका रूपमा र माओवादीका रूपमा अथ्र्याएको छ । माओवादी पार्टी र त्यसले गरेका आन्दोलनको विरोध गर्छ तर माओवादीका मुद्दाहरूमाथि बोल्नै चाहँदैन । चलचित्रले आफ्ना दर्शकसँग राजनीतिमा नलाग्न (खासमा माओवादी राजनीतिमा नलाग्न) अपिल गरेको छ । त्यसका लागि चलचित्रले राजनीतिको विदू्रपीकरण गरेको छ र हत्या, षड्यन्त्र तथा कपटी कर्मका रूपमा राजनीतिलाई निन्दनीय कर्म भनी अथ्र्याएको छ । चलचित्रमा समानुपातिक प्रतिनिधित्वको व्यवस्थामाथि व्यंग्य गरिएको छ ।

लैंगिकताका बारेमा चलचित्रले पितृसत्ताको समर्थन गर्छ । महिलाहरूको श्रम गर्ने अधिकार, आयआर्जन गरेर आर्थिक स्वतन्त्रता प्राप्त गर्ने चाहना र निर्णय गर्ने अधिकारलाई संकुचित गर्नुपर्छ भनेको छ । महिलाले कमाएको पैसा जलाउनका लागि योग्य छ भनी देखाइएको छ । आजका सन्दर्भमा जोडेर हेर्दा महिला अधिकार वा लैंगिक मुक्तिको आवाज उठाउनेहरू नै समाजका समस्या हुन् भन्नु चलचित्रको खास अभीष्ट रहेको देखिन्छ ।

चलचित्रले एकातिर सामन्तवादी विश्वदृष्टिको पक्षपोषण गर्छ भने अर्कातिर शिक्षा क्षेत्रमा निजीकरणको माग गर्छ । ट्रेड युनियनको औचित्यमाथि प्रश्न उठाएर मजदुरलाई अधिकारविहीन बनाउने राय दिन्छ । सारमा भन्नु पर्दा, सामन्तवाद र पुँजीवाद दुबै मूल्यप्रणालीका सबैभन्दा अमानवीय र क्रूर चरित्रलाई नै सांस्कृतिक मूल्यका रूपमा पुनस्र्थापित गर्नु 'धनपति'को उद्देश्य हो । त्यसैले सिंगो राजनीतिलाई बन्द र तोडफोडमा आधारित अराजक गतिविधिका रूपमा अथ्र्याएको छ । 'धनपति' राजनीतिको भित्री तहमा छिरेको छैन, त्यसको आवश्यकतामाथि विचार गरेको छैन बरु त्यसका विकृति मात्रैलाई समग्र राजनीतिका रूपमा प्रस्तुत गरेर दर्शकमा राजनीतिप्रति वितृष्णा जगाउने काम गरेको छ ।

चलचित्रले राजनीतिबिनाको समाजलाई आदर्श समाजका रूपमा परिकल्पना गरेको छ जहाँ कुनै प्रकारका ट्रेड युनियनहरूको अस्तित्व नहोओस्, जहाँ पत्नीले पतिको कमाइमा बाँच्नु परोस्, जहाँ मानिसले आफ्ना बच्चालाई महँगा निजी विद्यालयहरूमा पढाऊन्, जहाँ आन्दोलनहरू नहोऊन्, बन्द हडताल नहोऊन् र शान्ति नै शान्तिमात्रै स्थापित होस् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.