साईटीसविपरीत महानगरको कर

साईटीसविपरीत महानगरको कर

काठमाडौं : काठमाडौं महानगरपालिकाले करको दायरा बढाउने नाममा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण ऐन र संकटापन्न वन्यजन्तु तथा वनस्पति प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साईटीस) विपरीत कर असुल्ने व्यवस्था गरेको छ । महानगरपालिकाको आर्थिक ऐन, २०७४ को अनुसूची ५ को दफा ६ मा ‘महानगरले मृत वा मारिएका जीवजन्तुको हाड, सिङ, प्वाँख, छालाजस्ता वस्तुको व्यावसायिक कारोबार गरेबापत एक पटकको २५ रुपैयाँ कर उठाउने’ उल्लेख छ ।

यो व्यवस्था राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा साईटीस महासन्धि १९७५ विरुद्धको अपराधविपरीत हो । नेपालका अन्य प्रचलित कानुन र महासन्धिविपरीत महानगरले कर उठाउन मिल्दैन । नेपालले उक्त महासन्धिमा सन् १९७३ मा हस्ताक्षर गरी सन् १९७५ देखि पक्ष राष्ट्र बनेको थियो ।

संविधानविद् डा. भीमार्जुन आचार्यले वन्यजन्तुको कर उठाउने महानगरपालिकाको क्षेत्राधिकारभित्र नपर्ने बताउनुभयो । उहाँका अनुसार महानगरपालिकाले आफ्नो क्षेत्राधिकारबाहिर गएर करको दायरा फराकिलो गर्न वा कर लगाउन पाउँदैन । महानगरले कानुनमा लेखिएभन्दा एक इन्च पनि तलमाथि गएर कर उठाउन पाउँदैन । ‘कानुनमा अमूर्त कुरा राख्न पाइँदैन,’ आचार्यले शुक्रबार अन्नपूर्णसित भन्नुभयो

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र साईटीस महासन्धिअनुसार संरक्षित वन्यजन्तु मार्ने तथा गैरकानुनी रूपमा अंग बिक्री, ओसारपसार एवं तस्करी गर्न पाइँदैन । तर, महानगरपालिकाले ऐनमा स्पष्ट खुलाएर उल्लेख नगर्दा यस्ता वस्तुको व्यावसायिक कारोबार गर्ने कारोबारीलाई सघाएको देखिन्छ । राष्ट्रिय निकुञ्ज र प्रहरीले पटक–पटक एकल र संयुक्त रूपमा वन्यजन्तुको सामग्री ओसारपसार गर्ने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ । अमूर्त रूपमा ऐनमा यस्तो व्यवस्था उल्लेख भएपछि अवैध रूपमा कारोबारी सलबलाउने प्रस्ट छ ।

महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले नेपालको कानुन र अन्तर्राष्ट्रिय कानुनले बर्जित गरेका वन्यजन्तु वा जीवजन्तु वा त्यसका अंगप्रत्यंग बाहेकको हकमा मात्रै आर्थिक ऐन लागू हुने बताउनुभयो । तर, महानगरले ल्याएको आर्थिक ऐनमा भने ती कुरा खुलाइएका छैनन् । ‘ऐनमा लेखिएको व्यवस्था अमूर्त देखिए पनि हामीले भन्न खोजेको भैंसी, बाख्रा, खसी बोकालगायत जनावरको हकमा मात्रै यो व्यवस्था लागू गर्न लागिएको हो,’ पौडेलले भन्नुभयो,‘ नेपालको कानुन र अन्तर्राष्ट्रिय कानुनविपरीत महानगरपालिका जाँदैन ।’
पौडेलले ऐनमा स्पष्ट नलेखिएको भए संशोधन गरेर भए पनि खुलस्त पार्ने बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.