एक टेनिस खेलाडीको प्रेमकथा
त अस्ट्रेलियन ओपनको पूर्वसन्ध्यामा सेरेनाले अमेरिकामा रहेका प्रेमी एलेक्सिस ओहानियनलाई तत्काल अस्ट्रेलिया बोलाइन् । सेरेनाले प्रेमी ओहानियनलाई हातमा एउटा ब्याग थमाइदिइन् । ब्यागमा सेरेना गर्भवती भएको ६ वटा परीक्षण नमुना थियो ।
...
अन्तर्राष्ट्रिय महिला टेनिसकी सर्वाधिक सफल अमेरिकन खेलाडी सेरेना विलियम्स पछिल्लो ६ महिनायता टेनिस कोर्टमा देखिएकी छैनन् । ग्रान्डस्लाम टेनिसको २३ उपाधि जितिसकेकी सेरेना यतिखेर आफ्नो पहिलो सन्तानको प्रतीक्षामा छिन् । इन्टरनेट व्यवसायी तथा लगानीकर्ता अमेरिकन एलेक्सिस ओहानियनसँग झन्डै पछिल्लो दुई वर्षयता प्रेमसम्बन्धमा रहेकी सेरेना अहिले ६ महिनाकी गर्भवती छिन् ।
मैदानभित्र सधैं उत्कृष्ट प्रदर्शनले चर्चामा आउने सेरेना अमेरिकी म्यागजिन ‘भानिटी फेयर'का लागि आफ्नो ठूलो पेटसहितको नग्न तस्बिर खिचाएर चर्चामा आइन् । ‘भानिटी फेयर'को अगस्ट महिनाको अंकका लागि सेरेनाले आफ्नो नग्न तस्बिरसहित एलेक्सिससँगको प्रेम कहानीसमेत खुलासा गरेकी छन् ।
पहिलो भेट
सन् २०१५ मा सेरेना ग्रान्डस्लाम टेनिस प्रतियोगिता इटालियन ओपन खेल्न इटालीको रोममा थिइन् । मे १२ तारिखमा सेरेना इटालियन ओपनको पहिलो खेल खेल्दै थिइन्, त्यही दिने एलेक्सिससँग सेरेनाका पहिलो भेट भएको थियो । एक अन्तर्राष्ट्रिय सम्मेलनका लागि रोम पुगेका एलेक्सिस संयोगले सेरेना बसेकै होटेल क्याबेलिरीमा पुगेका थिए ।
बिहान छिटो नउठ्ने र ब्रेकफास्टसमेत नलिने सेरेनालाई त्यो दिन साथीहरूले कर गरेर होटेलले तयार पारेको ‘बफेट'तर्फ लगेका थिए । यद्यपि उनीहरू पुग्नु पाँच मिनेटअगावै त्यहाँ ब्रेकफास्ट सकिइसकेको थियो । त्यसैले साथीहरूसँगै सेरेना पनि होटेलको पौडी पोखरीतर्फ लागिन् । पौडी पोखरीमा सेरेनासँगै अन्य साथीहरू ब्रेकफास्ट अर्डर गरेर कुरिरहेका थिए । त्यति नै बेला बफेटमा खाजा खान नपाएपछि एलेक्सिस पनि पौडी पोखरीतर्फ लागेका थिए । बिहानै भएकाले पौडी पोखरी शान्त थियो । सेरेनाका साथीहरू र एलेक्सिसबाहेक त्यहाँ अन्य कोही थिएनन् ।
त्यसैले पौडी पोखरीका टेबल खाली नै थिए । तर, अन्य खाली टेबल छाडेर एलेक्सिस सेरेना बसेकै टेबलमा बस्न पुगे । ब्रेकफास्ट अर्डर गरे, झोलाबाट ल्यापटप झिके, एयरफोनमार्फत केही सुन्न थाले र धमाधम आफ्नो काम गर्न थाले । अन्य खाली टेबल छाडेर आफूसँगै बस्ने, त्यसमाथि एकोहोरो ल्यापटपमा घोरिने- एलेक्सिसको यस्तो व्यवहार सेरेना र उनका साथीलाई ठीक लागेन ।
सेरेना एलेक्सिसलाई त्यहाँबाट हटाउन चाहन्थिन् । सेरेनाकी एक साथीले भने, ‘यहाँ मुसाहरू छन् ।' उनीहरूले सोचेका थिए- मुसा छ भनेर पछि एलेक्सिस त्यहाँबाट अर्कै टेबलमा सर्नेछन् । तर, नतिजा अर्कै निस्कियो ।
एलेक्सिसले लगत्तै जवाफ फर्काए, ‘मलाई मुसा मनपर्छ । म मुसा हेर्न रुचाउँछु ।' एलेक्सिसले ठाउँ नछाड्ने संकेत गरेपछि सेरेना बोलिन्, ‘हामीलाई तपाईं यहाँ बसेको मन परेन । त्यसैले मुसा छ भनेका हौं ।'
मैदानभित्र सधैं उत्कृष्ट प्रदर्शनले चर्चामा आउने सेरेना अमेरिकी म्यागजिन ‘भानिटी फेयर'का लागि आफ्नो ठूलो पेटसहितको नग्न तस्बिर खिचाएर चर्चामा आएकी छिन् । ‘भानिटी फेयर'को अगस्ट महिनाको अंकका लागि सेरेनाले आफ्नो नग्न तस्बिरसहित एलेक्सिससँगको प्रेम कहानीसमेत खुलासा गरेकी छिन् ।
एलेक्सिससँग सेरेना बोलेको त्यो पहिलोपटक थियो । एलेक्सिसले ठाउँ छोडेनन्, बरु सेरेनासँग गफिन थाले । त्यसैक्रममा एलेक्सिसले सेरेनाको व्यक्तिगत ‘वेबसाइट' बारे केही सुझाव दिए । उनीहरूले एकअर्काको नम्बर आदानप्रदान पनि गरे ।
फुटबलका समर्थक एलेक्सिसले त्यसअघि सेरेनालाई नदेखेको बताएका छन् । तर, त्यही दिनबाट उनीहरूको भेट सामान्य साथी हुँदै अघि बढ्यो । उनीहरू नियमित रूपमा भेटिरहने र लामो समय विभिन्न ठाउँमा घुमेर बिताउने गर्न थाले ।
डिसेम्बर २०१६
सेरेनाले भारतमा एक प्रदर्शनी खेलमा सहभागिता जनाउने कार्यक्रम तय भएको थियो । तर, सेरेनाकी एक साथीले इटाली जाने र एक रात त्यहाँ बसेर प्रदर्शनी खेलका लागि भारत पुग्ने प्रस्ताव राखिन् । इटाली जानुपर्ने कुनैै कारण थिएन । तर, सेरेनाकी ती साथी निक्कै कर गर्न थालिन् ।
सरेनाकी ती साथीसँग एलेक्सिसले सुनाएको विशेष योजना थियो । एलेक्सिसले रोम पुर्याएर सेरेनालाई प्रेमप्रस्ताव राख्ने योजना बनाएका थिए । त्यसैले ती साथीमार्फत एलेक्सिसले सेरेनालाई रोम जान कर गरिरहेका थिए । साथीको ढिपीअघि सेरेनाको केही लागेन । सेरेना साथीहरूसँगै इटालीतर्फ लागिन् ।
रोममा एलेक्सिसले आफ्नो पूर्वयोजनाअनुसार, दुई वर्षअघि सेरेनासँग पहिलोपटक भेट भएको होटेल क्याबेलिरी नै रोजेका थिए । उनले होटेलसँगै दुई वर्षअघि सेरेना र उनले सँगै बिताएको त्यही ‘रुम' बुकिङ गराएका थिए । अनि पौडीपोखरी र त्यस वरपरको स्थान पनि बुक गरिसकेका थिए ।
होटेल पुगेपछि एलेक्सिसले साँझको समयमा सेरेनालाई पौडी पोखरीतर्फ डोहोर्याए । शान्त पौडी पोखरी अनि खाली टेबल । पहिलोपटक सँगै ब्रेकफास्ट लिएको स्थानमा पुगेपछि इन्गेजमेन्ट रिङसहित घुँडाले भुँइमा टेकर एलेक्सिसले सेरेनासामु प्रेम प्रस्ताव राखे, ‘विल यु म्यारी मी ? ' त्यसपछि पो सेरेनाले थाहा पाइन्, साथीले इटाली जान कर गर्नुको खास कारण । त्यहीबेला हो, एलेक्सिसले सेरेनासँग सन्तानबारे इच्छा व्यक्त गरेको । रोमको कार्यक्रम विशेष भएपछि भारतमा तय भएका प्रदर्शनी खेल पनि रद्द भयो ।
जनवरी २०१७
सेरेना अस्ट्रेलियन ओपन ग्रान्ड स्लामका लागि अस्टे«लियातर्फ लागिन् । पहिलो खेल राम्रो भएन, तैपनि जितिन् । पहिलो खेलमा सोचेजस्तो प्रदर्शन गर्न नसकेपछि उनी थप अभ्यासका लागि निस्किइन् । अभ्यास क्रममा उनलाई शारीरिक रूपमा कमजोर महसुस भयो । आफ्नो स्तन बढेजस्तो असहज महसुस भयो । उनले सोचिन्- हर्मोनको कारण यस्तो भएको होला । तर, सँगै रहेकी उनकी साथी जेसिका स्टेनइनडोर्फले सेरेनालाई फरक सुझाव थिइन् ।
जेसिकाले सेरेनालाई ‘प्रेगनेन्सी' परीक्षण गर्न सुझाएकी थिइन् । सेरेनाले इन्कार गरिन् । जेसिका आफैंले मेडिकलबाट ‘प्रेगनेन्सी' परीक्षणका सामग्री किनेर ल्याइदिइन् । त्यसदिन सेरेना आफूलाई प्रायोजन गरिरहेको कम्पनी बर्लीले उत्पादन गरेको ‘स्पोटर्स ब्रा' सार्वजनिक कार्यक्रममा सहभागी हुनु थियो । त्यहाँ सेरेनाले ‘स्पोर्ट्स ब्रा'को विषयमा बोल्नुपर्ने थियो ।
सेरेना कार्यक्रम तयारीमा लागिन् । मेकअप गर्न व्यस्त भइन् । जेसिका उनलाई डिस्टर्भ गर्न आइपुगिन् । हातमा प्रेग्नेन्सी किट्ससहित आएकी जेसिकाले सेरेनालाई परीक्षण गर्न कर गरिन् । साथीले ढिपी गरेपछि सेरेना बाथरुम छिरिन् । टेस्ट राखिन् तर नहेरी फर्किएर फेरि मेकअप गर्न व्यस्त भइन् । कपडा लगाइन् ।
कार्यक्रमका लागि तयार हुने क्रममा उनले बाथरुममा राखेको ‘प्रेगनेन्सी' परीक्षण नै हेर्न बिर्सिइन् । त्यसपछि जेसीका आफैंले परीक्षण हेरिन् । जेसिकाले खुसीको खबर सुनाइन्- सेरेना तिमी गर्भवती भएकी छौ । तर, सेरेनालाई पटक्कै विश्वास लागेन । त्यसपछि सेरेनाले लगातार ६ वटा परीक्षण गरिन् । सबै परीक्षणले सेरेना गर्भवती रहेको नतिजा देखायो ।
आफ्ना प्रेमी एलेक्सिसलाई सेरेनाले फोन गरिन् तर त्यसबारे केही बताइनन् । बरु अस्ट्रेलियन ओपनको अन्त्यतिर अस्ट्रेलिया आउने योजनामा रहेका एलेक्सिसलाई तत्काल अस्ट्रेलिया आउन भनिन् । जब एलेक्सिस अस्ट्रेलिया पुगे, सेरेनाले कुनै शब्द बोल्नुअघि नै एउटा ब्याग एलेक्सिसको हातमा थमाइदिइन्, जसमा आफूले गरेको ६ वटा गर्भवती परीक्षणसहितको नतिजा थियो । एलेक्सिस निकै खुसी देखिए ।
तर, उनीहरू सामु अर्काे समस्या आईपर्यो । सेरेनाले अस्ट्रेलियन ओपनको पहिलो खेल जितिसकेकी थिइन् । उनलाई बाँकी खेल खेल्नुथियो । तर, गर्भ बोकेर प्रतियोगिता खेल्न सम्भव होला कि नहोला ? उनीहरू तत्कालै चिकित्सको सल्लाहका लागि दौडिए । चिकित्सकले कुनै समस्या नहुने बताइदिए ।
यद्यपि शारीरिक रूपमा कमजोर भएकाले कोर्टमा लामो समय टिक्ने उनको अवस्था थिएन । कुनै पनि प्रतिस्पर्धा तेस्रो सेटमा पुगेको अवस्थामा उनलाई जित्न मुस्किल हुन्थ्यो । सेरेनाले सोचिन्, प्रत्येक खेल दुई सेटमै जित्नुपर्छ । प्रतियोगिता उनले सोचेजस्तै भयो । सबै खेल सोझो सेटमा जित्दै उनले अस्ट्रेलियन ओपनको महिला एकलतर्फको उपाधि नै जितिन् । उनका लागि एकैपटक दोस्रो खुसी मिल्यो ।
प्रतियोगिता समाप्त हुने बेलासम्म उनी, प्रेमी एलेक्सिस, साथी जेसिका र चिकित्सकबाहेक अन्य कसैलाई पनि उनी गर्भवती रहेको कुरा थाहा थिएन । सेरेनाले आफू गर्भवती रहेको कुरा आफ्ना प्रशिक्षकलाई समेत थाहा दिएकी थिइनन् । अस्ट्रेलियन ओपनबाट फर्किएदेखि सेरेनाले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी छैनन् । उनी र प्रेमी एलेक्सिस अहिले पूर्ण रूपमा आफ्नो पहिलो सन्तानको पर्खाइमा छन् ।
अनुवाद : दीपेन्द्र गुरुङ, एजेन्सी