घुम्टोभित्र खुलेका ‘च्याम्पियन्स'

घुम्टोभित्र खुलेका ‘च्याम्पियन्स'

 बारा : हातमा प्रथम लेखिएको ट्रफी, अनुहारमा बेग्लै चमक । घुम्टोले छोप्न नसकेको खुसी र उत्साहले यतिबेला जितपुरसिमरा उपमहानगरपालिका १० नितनपुर रामटोलकी कुन्तीदवी पटेलको परिचय बेग्लै बनेको छ । तीन सन्तानकी आमा कुन्तीदेवी यतिबेला गाउँमा ‘महिला च्याम्पियन' का रूपले चिनिन थाल्नुभएको छ ।

उहाँको परिचय फेरिने कारण भने खासै ठूलो छैन । महिला सशक्तीकरणको अभियान चलाएका गाउँका किशोरकिशोरीले खेलाएको ‘म्युजिकल चेयर' खेलमा तीन सय महिलालाई उछिनेलगत्तै ३० वर्षीया कुन्तीदेवीको चर्चा चुलिएको हो । च्याम्पियन भएर ट्रफी उचालेपछिको सम्मानले कुन्तीदेवीलाई अहिले निकै उत्साहित बनाएको छ ।

‘एउटा सामान्य खेलले यति चर्चा दिन्छ भन्ने सोचेको थिइनँ । गाउँका किशोरीले राखेको प्रस्ताव स्वीकार गरेर खेलमा भाग लिएको थिएँ', कुन्तीदेवीले भन्नुभयो, ‘तर यहाँ खेल जितेपछि ठूलै कुरा जितेजस्तो महसुस भएको छ । गाउँमा नसोचेको सम्मान पाउँदा अत्यन्तै खुसी छु । सानै कुराले पनि खुसी दिने रहेछ ।'
तीन दशकको उमेरसम्म कहिल्यै नदेखेको खेलमा सहभागिता जनाउन कुन्तीदेवीलाई रहर थिएन । तर खेलको माध्यमबाट गाउँका महिलालाई एकजुट बनाउने र सामाजिक गतिविधिमा अघि बढ्न सक्रिय गराउने किशोरकिशोरीको उदेश्यबाट उत्साहित हँदै कुन्तीदेवी खेलमा सहभागी हुनुभएको थियो । सहभागीतासँगै हात परेको उपलब्धिले आफूलाई जिम्मेवारी थपेको महसुस गर्न थालेको कुन्तीदेवीले बताउनुभयो ।

‘खेल जितेर ट्रफी र सम्मान पाएँ तर यो सम्मानले जिम्मेवारी पनि थपिएको छ', हातमा रहेको ट्रफी देखाउँदै कुन्तीदेवीले भन्नुभयो, ‘महिला सशक्तीकरणको अभियानमा अझ सशक्त भएर लाग्न यो ट्रफी मेरा लागि प्रेरणा बनेको छ । घर र खेतको कामसँगै किशोरीको अभियानमा सक्रियताका साथ लाग्न थालेकी छु।'

दलित जनजाति उत्थान केन्द्र बाराले सञ्चालन गरेको सबल संवाद सञ्जालका किशोरकिशोरीले महिला सशक्तीकरण र सामाजिक विकृतिविरुद्ध अभियान थाल्दै आएका छन् । अभियानले गाउँका केही महिलाको साथ पाउँदा केही महिला भने घर र खेतको काममा व्यस्त थिए । सबैलाई एकजुट बनाउने उदेश्यका साथ खेल खेलाइएपछि निकै परिवर्तन आएको १७ वर्षीया किशोरी रमिता साहले बताउनुभयो ।

‘एक वर्ष सञ्चालन भएको संवाद केन्द्रको माध्यमबाट गाउँका किशोरी एकजुट भयौं । अब हामीले संवाद फोरम र सञ्जालका माध्यमबाट गाउँका महिला एकजुट हुनुपर्छ र सामाजिक अभियानमा हिँड्नुपर्छ भनेर लागिपरेका छौं', रमिताले भन्नुभयो, ‘पहिलेको तुलनामा हामी सफल पनि भइरहेका छांै । अहिले धेरै मेहनतले सबै महिलालाई एकै ठाउँमा उभ्याएपछिको परिवर्तनले भने हामीलाई उत्साहित बनाएको छ ।'

खेलमा ट्रफी जित्ने मात्रै होइनन् अन्य सहभागी महिलामा पनि उत्तिकै उत्साह देख्न पाउँदा खुसी लागेको रमिताले बताउनुभयो । रमिताका अनुसार बालविवाह, छुवाछुत, महिला हिंसाजस्ता सामाजिक विकृतिविरुद्ध आवाज उठाउन थालेका महिलाले गाउँको सरसफाइ, स्वास्थ्य र शिक्षाका लागि अभियान चलाउन थालेका छन् । गाउँका महिलाले बालविवाह नगर्ने सामूहिक प्रतिबद्धता जनाइसकेका छन् । जातीय विभेदविरुद्ध सामूहिक भोजको आयोजना गरेका महिलाले केही समयअघि गाउँमा विद्यालय भर्ना अभियान सञ्चालन गरेको रमिताको भनाइ छ ।

‘पहिला हामी किशोरकिशोरी मात्रै यस्तो अभियानमा थियौं । गाउँका केही महिलाबाहेक अन्यले व्यस्तताको कारण समय दिने गरेका थिएनन्', रमिताले भन्नुभयो, ‘सुधार भन्ने कुरा आउँदो रहेछ । पहिलाको तुलनामा अहिले धेरै राम्रो भएको छ । बालबालिकालाई पढाउनुपर्छ भन्दै महिला आफैं अभियानमा अग्रसर देखिनुहुन्छ । हामी उहाँहरूलाई सहयोग गरिरहेका छौं ।'

बालविवाह, छुवाछुत, महिला हिंसाजस्ता सामाजिक विकृतिविरुद्ध आवाज उठाउन थालेका महिलाले गाउँको सरसफाइ, स्वास्थ्य र शिक्षाका लागि अभियान चलाउन थालेका छन् ।

नितनपुर र बेहरामा दलित जनजाति उत्थान केन्द्रले किशोरकिशोरी सशक्तीकरणका लागि संवाद केन्द्र सञ्चालन गर्नुअघि बालविवाह, दाइजोप्रथा, छुवाछुतलगायत सामाजिक विकृतिले लामो समयदेखि जरो गाडेको थियो । गाउँका दलितसहित अन्य समुदायका किशोरकिशोरीलाई सहभागी गराई एक बर्से चेतनामूलक संवाद अभियान सुरु गरेपछि १३ देखि १९ वर्षसम्मका किशोरकिशोरी एकजुट भएका थिए । संवाद केन्द्रमा सहभागी भएपछि सामाजिक विकृतिविरुद्धका साथै शिक्षा, स्वास्थ्य र सरसफाइका लागि अभियान थालेका किशोरकिशोरीले अहिले महिला सशक्तीकरणको अभियान थालेका हुन् ।

‘महिलालाई एकजुट गराएर हाम्रो अभियानमा ल्याउन सजिलो थिएन । हामीले सिकेका कुरा अभिभावकलाई सिकाउन थाल्यौं र बिस्तारै गाउँका अन्य महिलाले कुरा बुझ्न थालेपछि सहज हुँदै गयो', अर्की किशोरी आरती यादवले भन्नुभयो, ‘अहिले गाउँका पुरुष काममा जाँदा महिला भने फुर्सदको समयमा चेतनामूलक कार्यक्रममा व्यस्त हुने गरेका छन् । यो नै हाम्रो सफलता हो ।'

खेलमा दोस्रो भएपछि ३२ वर्षीया रवितादेवीका परिवारले गाउँमा मिठाई बाँडे । तीन सन्तानकी आमा रवितादेवीले महिलालाई एकजुट गराउने र सामाजिक चेतना बढाउने किशोरीको अभियानले आफू निकै खुसी भएको बताउनुभयो । खेलमा हारजित हुने भए पनि विशुद्ध सामाजिक उद्देश्य बोकेको अभियानलालाई सफल बनाउन लाग्नुपर्ने उहाँको भनाइ छ । ‘पहिलाको स्थिति र अहिलेको अवस्था धेरै फरक छ, कल्पना पनि गरेका थिएनौं यस्तो परिवर्तन हुन्छ भनेर', रवितादेवीले भन्नुभयो, ‘धेरै परिवर्तन आइसकेको छ । गाउँका महिला र किशोरी हातेमालो गरेरसँगै अगाडि बढेकाले राम्रो गाउँ बनाउने अभियान सफल हँदै जान थालेको छ ।'

पढ्न नपाएकै कारण लामो समय अन्धकारमा बस्नुपरेको भन्दै तेस्रो ट्रफी जित्ने ३५ वर्षीया लालमतीदेवी पटेललाई भने अब पढ्ने इच्छा जागेको छ । खेलको माध्यमबाट गाउँमा चिनिने मौका पाएको भन्दै लालमतीले किशोरकिशोरीसँग सामान्य लेख्न र पढ्न सिक्न थालेको बताउनुभयो । ‘हामीलाई हाम्रा अभिभावकले पढाएनन्, त्यतिबेला पढाइदिएको भए यो समस्या हुने थिएन', लालमतीले भन्नुभयो, ‘अहिले हामी हाम्रा सन्तानलाई पढाइरहेका छौं, अब उनीहरूबाटै पढ्ने र लेख्न सिकिरहेका छौं ।' केही सयमअघिसम्म ल्याप्चेको सहारा लिने गरेका गाउँका महिला अहिले हस्ताक्षर गर्न सक्ने भएको लालमतीले बताउनुभयो । अर्की महिला महिला गीतादेवी मण्डलले आफूले ट्रफी जित्न नसके पनि गाउँमै पहिलोपटक आयोजना गरिएको खेलले ऊर्जा थपेको बताउनुभयो ।

गाउँमा सञ्चालनमा रहेको सम्झना किशोरी संवाद फोरम, सृष्टी किशोरी संवाद फोरम, सपना किशोरी संवाद फोरम, बाल सहमत किशोर संवाद फोरमका किशोरकिशोरीले भने महिलालाई सामान्य शिक्षा दिने तयारी आफूहरूले गरिरहेको बताए । उनीहरूले अभियान प्रभावकारी बनाउन सबल संवाद सञ्जाल गठन गरेका छन् । १६ वर्षीया रिंकु पटेलले संवाद फोरम र सञ्जालमार्फत घरदैलो गरेर महिलालाई सामान्य लेख्न र पढ्न सक्ने बनाउने अभियान सुरु गरेको बताउनुभयो । ‘अबको केही महिनामा गाउँका अधिकांश महिलालाई सामान्य साक्षर बनाउने हाम्रो उदेश्य छ, आशा छ गाउँमा देखिएको परिवर्तनले यो पनि सफल हुनेछ', उहाँले भन्नुभयो ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.