सञ्चार उद्यमी धिताल हत्याकाण्ड : ‘अनुसन्धानमै बिते सात वर्ष'
तुलसीपुर : दाङका सञ्चार उद्यमी देविप्रसाद धिताल(हेमराज)को हत्या भएको सात वर्षसम्म पनि प्रहरीले सत्य तथ्य सार्वजनिक गर्न सकेको छैन । राप्ती सञ्चार सेवा तथा रेडियो तुलसीपुर दाङका तत्कालीन अध्यक्ष धितालको २०६७ सात साउन ६ गते दाङको उरहरीमा गोलीहानी हत्या गरिएको थियो । हत्या भएका धितालको अनुसन्न्धान सकिएको भनेर सार्वजनिक गरेको प्रहरीले अहिलेसम्म पनि फाइल अनुसन्धानमै राखेको छ ।
दाङका प्रतिष्ठित व्यवसायी र सञ्चार उद्यमीकोरुपमा रहेका धितालको फुलवारी गाविसबाट काम सकेर तुलसीपुरमा रहेको घर फर्कदै गर्दा उरहरी ६ हेमनगरमा अज्ञात समूहले लखेटी लखेटी गोली हानेर हत्या गरेको थियो । धितालको हत्या भए लगतै नेपाल प्रहरीको जिल्ला तथा केन्द्रले छुट्टाछुटै समिति बनाएर अनुसन्धान गरेका थिए ।
अनुसन्धानकै क्रममा तथ्य फेला परेको भन्दै केही व्यक्तिलाई नियन्त्रणमा लिएको भए पनि घटनाको यथार्थता अझै बाहिर आउन सकेको छैन । त्यसपछिका जिल्लामा भएको केही घटनामा भने प्रहरी अनुसन्धानमा सफल देखिएको भए पनि सञ्चार उद्यमी धिताल हत्या बारेमा प्रहरी अनुसन्धानमा मात्रै सिमित देखिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत डिएसपी लक्ष्मण गिरीको संयोजकत्वमा गठन भएको अनुसन्धान समितिले १८ पेजको प्रतिवेदन समेत जिल्ला प्रहरीलाई बुझाएको थियो । अनुसन्धान समितिले प्रतिवेदन बुझाएको भए पनि प्रहरीले त्यो अहिले सम्म सार्बजनिक गर्न सकेको छैन् । दाङ प्रहरीका निमित्त प्रमुख भुवनेश्वर तिवारीले धिताल हत्याको विषयमा प्रहरी निरन्तर अनुसन्धानमा रहेको बताउनु भयो । उहाँले अनुसन्धान जारी भएकाले यती प्रगती भयो भन्न नसकिने भन्दै अपराधी ढिलोचाँडो कानुनी दायरामा आउने बताउनु भयो ।
विभिन्न समयमा अनुसन्धान समिति नै गठन गरेर अनुसन्धान थालिएको छ, उहाँले भन्नु भयो, निश्कर्षमा पुगेका छैनौ, निश्कर्षमा पुगेपछि सत्य तथ्य बाहिर आउँछ ।' राप्ती अञ्चल प्रहरी प्रमुख ज्ञानविक्रम शाहले अनुसन्धानको काम जिल्लाले हेरिरहेको बताउनु भयो । जिल्लामा आउने हरेक प्रहरी प्रमुखले हत्याको फाइल अनुसन्धानमै रहेको भन्दै आएका छन् ।
सात÷सात वर्ष सम्म हत्याको वास्तविकता सार्वजनिक नभए पछि परिवारमा समेत आक्रोश देखिएको छ । धितालकी धर्मपत्नी मञ्चु धितालले श्रीमानको हत्यामा संलग्नलाई सार्वजनिक गर्न र कानुनी कारवाही गरि परिवारलाई न्याय दिन आग्रह गर्नुभयो । धितालले प्रहरीको अनुसन्धान अहिलेसम्म सार्वजनिक नहुनुले पीडामा पीडा थपिएको बताउनु भयो ।
रेडियो तुलसीपुरमा महासचिव महेन्द्र लामिछानेले सत्य तथ्य सार्वजनिक गरेर दोषीलाई कारवाही गर्न माग गर्नुभयो । अकोर्यापका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले सञ्चार उद्यमीको हत्या भएको सात वर्षसम्म पनि सत्य तथ्य बाहिर आउन नसक्नुु दुखद भएको भन्दै तत्काल दोषी पहिचान गरि कानुनी कारवाहीमा लैजान माग गर्नु भयो ।