महाकाली राजमार्ग एकतर्फी खुल्यो
बैतडी : गएराति परेको पानीले सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग एकतर्फी रुपमा खुलेको छ । बैतडीको सतवाझ–गोकुलेश्वर सडकखण्ड अन्र्तगत पर्ने डिलाशैनी ६ बांगाबगरमा शनिबार बिहान ५ बजे पहिरो जादा सडक अबरुद्ध भएको थियो ।
जेसीवी लगाएर अहिले एकतर्फी बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । सडकमा खसेको पहिरो पन्छ्याउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कमलबहादुर बिष्टले जानकारी दिनुभयो ।
वि स २०६० सालमा आएको बांगाबगर पहिरो प्रत्येक बर्ष खस्ने गर्दछ । पहिरोका कारण बर्षातका समयमा बेलाबेलामा सडक अवरुद्ध हुने गरेको छ । पहिरोका कारण स्थानीयबासिन्दा समेत त्रसित बनेका छन् । २०६० सालदेखि प्रत्येक बर्ष पहिरोले घरखेत बगाउन थालेपछि स्थानीयबासी त्रसित बनेका छन् । २०६० सालमा ६ परिवार पहिरोका कारण पूर्ण रुपमा विस्थापित भएका थिए भने पछिल्लो समयमा थप ७ परिवार पनि पहिरोका कारण विस्थापित भएका छन् ।
पहिरोले अहिले १ सय ५० रोपनी जमिनलाई बगरमा परिणत गरिसकेको छ । बर्षातसंगै पहिरो खस्न थालेपछि बांगाबगरबासीलाई चिन्तित बनाएको स्थानीय धनीराम सार्कीले बताउनुभयो । पहिरोको छेउमै टहरा हालेर बसेका दलित समुदायका ७ परिवारलाई अहिले निकै चिन्तित बनाएको उहाँले बताउनुभयो ।
ओत लाग्नका लागि आफूहरुसंग जमिन नभएकाले पहिरोको छेउमै टहरामा बस्न बाध्य भएको उहाँले बताउनुभयो ।पहिरो दुवैतर्फ गरेर अहिले ३० भन्दा बढी परिवार पहिरोको जोखिममा रहेका स्थानीयबासी तेजबहादुर साउँदले बताउनुभयो ।