राष्ट्रपति सीको निमन्त्रणामा ओली चीन प्रस्थान
काठमाडौ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चीन प्रस्थान गर्नु भएको छ ।
चिनिया कम्युनिष्ट पार्टीका महासचिव समेत रहनु भएका चिनिया राष्ट्रपति सी जिन पिङको निमन्त्रणामा एमाले अध्यक्ष ओली चीन भ्रमणमा जानु भएको हो । स्रोतका अनुसार चिनिया कम्युनिष्ट पार्टीका बरिष्ठ नेताहरुसँग ओलीले दुई पक्षीय हितका बारेमा छलफल गर्नु हुनेछ ।
०७३ चैतमा ओली प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमणमा जाँदा नेपाल र चीन वीचमा भएका दुई पक्षीय हितका सम्झौता कार्यान्वयन नभएको अवस्था र बर्तमान काँग्रेस माओवादी केन्द्र गठबन्धनको सरकारका बारेमा ओली र चिनिया नेताहरु वीच छलफल हुने स्रोतले बतायो । स्रोतका अनुसार ओली र चिनिया नेताहरु वीचको भेट ल्हासा वा बेइजिङ जता पनि हुन सक्छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अघिल्लो साता बैंककमा चिनिया र भारतीय प्रतिनिधिसँग भेटेर फर्किए लगत्तै एमाले अध्यक्ष चीन प्रस्थान गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
तिब्बतको ल्हसा,सिगात्से हुंदै ओली कैलाश मानसरोवरको यात्रामा निस्कनुभएको पार्टी महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो । कैलास मानसरोवर हिन्दु धर्मावलम्वीका लागि प्रसिद्धस्थल मानिन्छ ।
संसदीय दलका उपनेता सुवास नेम्वाङ्ग, पार्टी महासचिव पोखरेल सहितका नेताहरु र चिनियाँ दुतावासका कर्मचारीहरुले अध्यक्ष ओलीलाई अन्र्तराष्ट्रिय विमानस्थलमा विदाई गर्नुभएको थियो । तिब्बतमा रहंदा त्यहाँका नेताहरुसँग ओलीले भेटघाट गर्ने कार्यक्रम रहेको महासचिव पोखरेलले जानकारी दिनुभयो । ओलीसँगै उहांकी धर्मपत्नी र निजी सहयोगी पनि भ्रमणमा जानु भएको छ । प्रधानमन्त्री हुंदै ओलीले तिब्बत र मानसरोवरको भ्रमण गर्ने ईच्छा व्यक्त गर्नुभएपनि त्यतिखेर फुर्सद नमिलेका कारण ओली यतिबेला भ्रमणमा निस्कनुभएको एमाले स्रोतले बतायो ।
उहाँ तिब्बतको मानसरोवर जानु भएको एमाले नेता बिष्णु रिमालले जानकारी दिनुभयो । ओलीलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा एमालेका नेताहरु र चिनिया राजदूतावासका अधिकारीहरुले विदाई गर्नु भएको थियो ।