बादलले भाषण गर्दा वर्षमान मोबाइलमा व्यस्त
काठमाडौं : नेकपा (माओवादी केन्द्र) को सचिवालयको विस्तारित बैठकमा पार्टीका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले बोलिरहदा अर्का नेता वर्षमान पुन ‘अनन्त मोबाइलमा व्यस्त देखिनु भएको छ।
प्रदेश र जिल्लाका इन्चार्जले चुनावमा पराजय भोग्नुका पछाडि पार्टीका वरिष्ठ नेतालाई नै दोषी देखाएका कारण वरिष्ठ नेताले जवाफ दिने क्रममा बादलले सम्बोधन गर्नु भएको हो।
अन्नपूर्ण अनलाइनलाई प्राप्त तस्बिरमा बादल बोलिरहदा अनन्त मोबाइल हेरिरहनु भएको छ। सो पार्टीको बैठक पार्टी मुख्यालय पेरिसडाँडामा एक सातादेखि जारी छ।
बादलको भाषणलाई नेता मणि थापा, अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, नेता गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी र देव गुरुङले भने ध्यानपूर्वक सुनिरहेको देखिन्छ।
नेता हरिबोल गजुरेल हात गालामा लगाएर बसिरहनु भएको देखिन्छ भने नेता तिलक परियार पुस्तक पढिरहेको देखिन्छ। बैठक शनिबार सक्ने योजना सो पार्टीले बनाएको छ।
पार्टीका नेताहरुले उठाएका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएपछि बैठक समापन गर्ने योजना रहेको एक नेताले बताए।
चार हजार जनाको महाधिवेशन आयोजक समिति विघटन गर्न र तत्काल महाधिवेशनको मिति तोक्न नेताहरुले शीर्ष नेतृत्वलाई दबाब दिएको छ।