११ वर्षपछि मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा हुने

११ वर्षपछि मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा हुने

भक्तपुर : विभिन्न कारणले ११ वर्षअघि रोकिएको मध्यपुर थिमीको अर्को जिब्रो छेड्ने जात्राले यस वर्ष पुनर्जीवन पाउने भएको छ। इन्द्र जात्राको भोलिपल्ट हुने यस जात्रामा यस वर्ष मध्यपुर थिमी नगरपालिका ५ का २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेड्ने हुनुभएको हो। जसअनुसार श्रेष्ठले आउँदो भाद्र २१ गते इन्द्रजात्राको भोलिपल्ट विधिवत रुपमा आफ्नो जिब्रो छेडाउनुहुनेछ।

उक्त जात्रा भव्य र सभ्य रुपमा व्यवस्थित एवं मर्यादित ढंगले सञ्चालन गर्न येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा व्यवस्थापन समिति समेत गठन गरिएको छ।

सोही समितिले शनिबार पत्रकार सम्मेलन गरी ११ वर्षदेखि रोकिएको मध्यपुर थिमीको जिब्रो छेड्ने जात्रालाई पुनः सुचारु गर्न लागिएको जानकारी दिएको हो।

समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले परापूर्वकालमा थिमीका बासिन्दालाई भूतप्रेत, ख्याकहरुले दिने दुःखबाट छुटकारा दिलाउन थिमीका आराध्यदेवी बालकुमारीको साधना गरेपश्चात भाद्र शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत र ख्याकहरुले दुःख दिने छाडेपछि यसलाई ११ वर्षअघिसम्म निरन्तरता दिइएको बताउनुभयो।

उहाँका अनुसार भाद्र शुक्ल पूर्णिमाको दिन साँझ मध्यपुर थिमीको दिगुु टोलस्थित दिगुभैरव मन्दिर अगाडिको डबलीमा जिब्रो छेडिन्छ।

‘जिब्रो छेड्ने जात्राको लागि करिब एक महिना अगाडिदेखि नै तयारी गर्नुपर्छ’, अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘जिब्रो छेड्ने नातु (सुइरो) बनाउनका लागि करिब एक महिनाअगाडि नकर्मीलाई रातो भाले, सम्हेबजी जानकारी दिन जानुपर्छ। नकर्मीले नातु बनाइसकेपछि ३ हप्ता शुद्ध तोरीको तेलमा यसलाई डुबाएर राख्नु पर्ने प्रचलन रहेको छ।’ नकर्मीले त्रिशूल जस्तै तीन तीर भएको सुइरो बनाउने उहाँले जानकारी दिनुभयो।

पत्रकार सम्मेलनमा २०५३, २०५९ र २०६३ साल गरी तीनपटक जिब्रो छेडाउनुभएका कृष्ण नानिचा श्रेष्ठ, यस वर्ष जिब्रो छेड्ने वीरेन्द्रभक्त गजु श्रेष्ठलगायतले मध्यपुरको लोपोन्मुख कलासंस्कृति र जात्रापर्वको संरक्षण गर्न सम्बन्धित निकायले चासो दिनुपर्ने बताउनुभयो।

यस जिब्रो छेड्ने जात्रा ११ वर्षसम्म रोकिँदा धेरैलाई मध्यपुर कै बोडेमा हुने जिब्रो छेड्ने जात्राबारे मात्रै जानकारी हुने गरेको छ। बोडेमा बिस्केट जात्राअन्तर्गत नयाँ वर्षको दोस्रो दिन बैशाख २ गते जिव्रो छेड्ने जात्रा भने निरन्तर हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.