‘अन्तर्घातले कांग्रेस हार्‍यो’

‘अन्तर्घातले कांग्रेस हार्‍यो’

काठमाडौं : पार्टीभित्र नेतृत्वबाटै सिर्जित घात-अन्तर्घातका कारण स्थानीय निर्वाचनमा हार व्यहोर्नुपरेको कांग्रेस नेताहरूले बताएका छन्। शनिबार सुरु केन्द्रीय समिति बैठकमा नेताहरूले ०४६ सालयता भएका विभिन्न निर्वाचनमा नेतृत्वकै कारण कांग्रेस पछि परेको भन्दै चर्को आलोचना गरे।

कांग्रेसप्रतिको जनमतलाई सम्मान गर्न पनि नेतृत्वले हालै सम्पन्न स्थानीय निर्वाचनको पराजयमा नैतिक जिम्मेवारी लिनुपर्ने र प्रदेश २ को निर्वाचनमा विशेष रणनीति बनाउनुपर्ने उनीहरूको भनाइ छ। बैठकमा केन्द्रीय सदस्यहरूले स्थानीय निर्वाचनको परिणाम, संविधान संशोधन, मन्त्रिपरिषद् विस्तार, प्रदेश २ को निर्वाचन रणनीति, प्रदेश र संसद्को निर्वाचनलगायत विषयमा धारण राखेका थिए।

‘टिकट वितरणमा कमजोरी भएकाले दुई चरणको चुनावमा अपेक्षाअनुसार परिणाम आएन। अब संसदीय समिति गठन गरेर त्यसमार्फत टिकट वितरण गर्नुपर्छ।’ रामचन्द्र पौडेल, वरिष्ठ नेता

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय समिति तत्काल गठन गर्न माग गर्नुभयो। त्यही समितिमार्फत प्रदेश २ को स्थानीय चुनावका लागि टिकट वितरण गर्नुपर्ने धारणा व्यक्त गर्दै पौडेलले सानेपा (पार्टी) र सिंहदरबार (सरकार) लाई चुस्त बनाउनुपर्नेमा जोड दिनुभयो।

पदाधिकारी नियुक्ति गर्न र केन्द्रीय समिति र विभागलाई पूर्णता दिन पनि उहाँले आग्रह गर्नुभयो। ‘कांग्रेसको महाधिवेशन सकिएको अढाई वर्ष बितिसक्दा पनि किन पार्टीका विभाग र समितिले पूर्णता पाउन सक्दैनन् ? ’ उहाँले भन्नुभयो, ‘टिकट वितरणमा कमजोरी भएकाले दुई चरणको चुनावमा अपेक्षाअनुसार परिणाम आएन। अब संसदीय समिति गठन गरेर त्यसमार्फत टिकट वितरण गर्नुपर्छ।’

बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल समूहका नेताहरूले निर्वाचनमा पार्टीको पराजयका विषयमा फरक–फरक धारणा प्रस्तुत गरेका थिए।

कांग्रेसप्रतिको जनमतलाई सम्मान गर्न पनि हालै सम्पन्न स्थानीय निर्वाचनको पराजयमा नैतिक जिम्मेवारी लिन नेतृत्वलाई दबाब।

बैठकमा नेता महेश आचार्यले सभापति देउवाले आईजीपी प्रकरण, प्रधानन्यायाधीश र अख्तियार प्रमुखविरुद्धको महाअभियोग प्रस्तावमा कांग्रेसको भूमिका र सभापति देउवाको त्यससम्बन्धी अन्तर्वार्ताप्रति समेत आपत्ति जनाउनुभएको थियो। पार्टी सभापति यस्ता विषयमा चुकेकाले पार्टीलाई ठूलो घाटा पुगेको धारणा आचार्यले राख्नुभएको थियो।

पौडेल पक्षबाट नेता बलबहादुर केसी, गुुरुराज घिमिरे, कल्याण गुरुङ, कमला पन्त, रामकृष्ण यादव, सरिता प्रसाईं, आनन्द ढुंगानालगायतले पार्टी नेतृत्वको आलोचना गर्नुभएको थियो। सभापति देउवा पक्षबाट नेता मानबहादुर विश्वकर्मा, भीष्म आङ्दम्बे, फर्मुल्ला मन्सुर, महेन्द्र यादव, चन्द्र भण्डारी, शंकर भण्डारी, मीन विश्वकर्मालगायतले सभापतिको आलोचना नगर्न आग्रह गर्नुभएको थियो।

सोमबारबाट प्रारम्भ हुने भनिएको बैठक शनिबार गर्नुको उद्देश्य संविधान संशोधन र सरकारलाई पूर्णता दिनका लागि अपनाइने रणनीतिसमेत रहेको दाबी स्रोतले गरेको छ। प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले २ असोजमा हुने स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न भन्दै प्रदेश २ का केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति र क्षेत्रीय सभापतिको भेलासमेत गत बिहीबार र शुक्रबार बोलाउनुभएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.