प्रहरी बढुवामा चरम असन्तुष्टि
काठमाडौं : बढुवा सिफारिस प्रक्रियामा प्रतिस्पर्धी छुटेपछि तीन जनाले लोकसेवा आयोगको छानबिन समितिमा उजुरी दिनुभएको छ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) मधु पुडासैनी, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवास चौधरी र प्रहरी उपरीक्षक (एसपी) विभूतिराज पाण्डेले आयोगमा उजुरी दिनुभएको हो ।
एउटै ब्याची भए पनि सिरियल नम्बरमा आफूभन्दा तलकालाई बढुवा सिफारिस गरिएको भन्दै पुडासैनी, चौधरी र पाण्डेले उजुरी दिनुभएको हो । चौधरी र पाण्डे आफैं आयोगमा उपस्थिति भए पनि पुडासैनीले वारेसमार्फत उजुरी दिनुभएको आयोगले जनाएको छ । पुडासैनी तालिमका लागि अमेरिकामा हुनुहुन्छ । प्रहरी प्रधान कार्यालयका अनुसार पुडासैनी आफ्नो ब्याचमा सातौं नम्बरमा, चौधरी छैटौं र पाण्डे तीन नम्बरमा हुनुहुन्थ्यो । तर बढुवा समितिले पुडासैनी, चौधरी र पाण्डेलाई छुटाउँदै उहाँहरूभन्दा तलकालाई बढुवा सिफारिस गरेको थियो ।
बढुवा समितिले चौधरीभन्दा पछिका ब्याची सुरेशविक्रम शाह र ठूले राईलाई बढुवा सिफारिस गरेको छ । ०६७ मा एसपी बन्नुभएका पाण्डे बढुवामा छुटे पनि २०६९ मा एसपी बन्नुभएका विश्वराज पोखरेल सिफारिसमा पर्नुभएको छ । वैकल्पिक टोलीका एसपी प्रकाश अधिकारीसमेत सिफारिसमा छुट्नुभएको छ । हाल बढुवा सिफारिसमा परेका डीआईजी बमबहादुर भण्डारीदेखि मिङ्मार लामासम्म एउटै ब्याचका परे पनि ११ र १२ का क्रमशः डीआईजी रणबहादुर चन्द र विजयकुमार भट्ट उहाँहरूभन्दा कनिष्ठ ब्याची हुन् ।
भण्डारी र लामाकै ब्याचका डीआईजी क्रमशः पुडासैनी, पंकज श्रेष्ठ, माधव नेपाल, गोविन्द निरौला र रोमेन्द्रसिंह देउजा सिफारिसमा पर्नुभएको छैन । पुडासैनी, चौधरी र पाण्डेको उजुरीसँगै डीआईजीबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र एसएसपीबाट डीआईजी र एसपीबाट एसएसपी बढुवा प्रक्रिया दुई साता पर धकेलिएको छ । उजुरी छानबिन समितिमा आयोग अध्यक्षको संयोजकत्व रहन्छ । स्रोतका अनुसार चौधरी र पाण्डेलाई प्रहरी मुख्यालयबाटै फोन गरेर दुई दरबन्दी थपिने भएकाले उजुरी फिर्ता लिन भने पनि उहाँहरूले फिर्ता लिनुभएको छैन ।
उजुरी दिनुभएका एसपी पाण्डे भन्नुहुन्छ, ‘म तेस्रो नम्बरमा रहँदारहँदै बढुवा सिफारिसमा छुटाइयो, मैले अन्याय महसुस गरेकाले उजुरी दिएको हुँ, आशा छ पुनरवलोकन हुन्छ ।' एसएसपी चौधरीले अन्नपूर्णसँग आफूले उजुरी फिर्ता नलिएको स्पष्ट पार्नुभयो । ‘मभन्दा दुई ब्याच तलकालाई बढुवा सिफारिस गरेपछि कमान्ड गर्ने फोर्समा कसरी काम हुन्छ, अहिले बढुवा सिफारिसमा परेका एसएसपी शाह र राई मभन्दा पछिका हुन्, संगठनले न्याय गर्नुपर्यो', उहाँले अन्नपूर्णसँग भन्नुभयो ।
लोकसेवा आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले पुडासैनी र पाण्डेले उजुरी दिएको जानकारी दिनुभयो । ‘प्रहरी नियमावलीमै यो व्यवस्था भएकाले उजुरी पर्नु स्वाभाविकै हो, आयोग यथार्थ छानबिन गरेर निष्कर्षमा पुग्छ,' कोइरालाले भन्नुभयो, ‘बढुवा प्रक्रिया केही दिन पर सर्छ ।'
एउटै ब्याची भए पनि सिरियल नम्बरमा आफूभन्दा तलकालाई बढुवा सिफारिस गरिएको भन्दै उजुरी परेको हो ।
प्रहरी बढुवा सिफारिसमा नपरेपछि आकांक्षी अधिकृतमा चरम असन्तुष्टि पैदा भएको पाइएको छ । आफूभन्दा कनिष्ठलाई बढुवा सूचीमा राखेको भन्दै असन्तुष्टहरूले गृहमन्त्री जनार्दन शर्मा र संगठन प्रमुख प्रकाश अर्यालप्रति आक्रोशित बनेका छन् । ‘प्रहरीमा भर्ना भएपछि अन्तिम लक्ष्य संगठन प्रमुख हुने र नभए एआईजीसम्म हुने इच्छा सबै अधिकृतमा हुन्छ तर एउटै ब्याचका अन्य प्रतिस्पर्धी रहँदारहँदै तलकालाई टपक्क टिपेर ल्याउने प्रवृत्तिले चेन अफ कमान्डमा गम्भीर असर गर्छ,' बढुवा सिफारिसमा नपरेका एक डीआईजीले अन्नपूर्णसँग भन्नुभयो, ‘प्रहरी निरीक्षकदेखि डीआईजीसम्म आउँदा हामी अक्षम भएर त पुगेका पक्कै होइनौं होला ।'
एसपीबाट एसएसपी र एसएसपीबाट डीआईजी बढुवा समिति सचिवालयको सदस्यसचिव रहनुभएका एआईजी डा. दिनेशचन्द्र पोखरेलले यसबारे अहिले केही कमेन्ट नगरौं भन्दै प्रहरी मुख्यालयसँगै कुरा गर्न सुझाउनुभयो । एआईजी बढुवा सिफारिस समितिको सदस्यसचिव रहनुभएका प्रहरी महानिरीक्षक प्रकाश अर्याल भने सम्पर्कमा आउन चाहनुभएन ।