३४ प्रतिशत आयात वीरगन्ज नाकाबाट
काठमाडौं : वीरगन्ज भन्सार नाकाबाट कुल आयातको एक तिहाइ वस्तु भित्रिएको छ । आर्थिक वर्ष २०७३/०७४ मा नेपाल भित्रिएको कुल वस्तुमध्ये ३४ प्रतिशतवस्तु वीरगन्ज नाका भएर आयात भएको हो । गत वर्ष भित्रिएका नौ खर्ब ८४ अर्ब ६ करोड रुपैयाँको वस्तुमध्य तीन खर्ब ३५ अर्ब ८६ करोडको वीरगन्जबाट भित्रिएको भन्सार विभागले जानकारी दिएको छ ।
छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट आयात गरिनेवस्तु वीरगन्ज नाका हुँदै नेपाल भित्रिन्छ । कोलकाता बन्दरगाहबाट नजिकको दूरीमा पर्ने वीरगन्ज भएर तेस्रो मुलुकको सामान आउँछ । नेपालबाट निर्यात गरिनेवस्तु पनि वीरगन्जबाट ठूलो परिमाणमा बाहिरिने गर्छ । गत वर्षमात्र नेपालबाट १४ अर्ब ८६ करोड ९४ लाखको सामान वीरगन्जबाट विभिन्न मुलुकमा पुगेको छ । गत वर्षभरि ७४ करोड ७१ करोडको सामान निर्यात भएको थियो । भन्सार विभागका अनुसार वीरगन्ज नाकाबाट मात्रै १९.९० प्रतिशत सामान निर्यात भएको देखिन्छ ।
गत वर्षभरि १० खर्ब ५८ अर्ब ७८ करोडको कुलवस्त आयातनिर्यात भएको थियो । यसमध्य करिब तीन खर्ब ५० अर्बको सामान वीरगन्जबाट आयातनिर्यात भएको छ । वीरगन्ज नाका नेपालको लाइफलाइन बनेको छ । नेपालमा प्रमुख र छोटी गरेर दर्जनौं नाकाबाटवस्तु भित्रिने र बाहिरिने गर्छ ।
दोस्रो नम्बरमा रहेको भैरहवा भन्सार वीरगन्जभन्दा धेरै पछाडि छ । गत वर्ष भैरहवाबाट एक खर्ब ८२ अर्ब ६० करोडको वस्तु भित्रिएको छ भने तीन अर्बको सामान निर्यात भएको छ । यो कुल आयात तथा निर्यातको क्रमशः १८.५६ प्रतिशत र ४.१४ प्रतिशत हिस्सा हो । भारतीय नाकाबन्दी र तराई आन्दोलनताका भैरहवा भन्सार चम्किएको थियो । वर्ष भैरहवाबाट सबैभन्दा बढी सामान आयातनिर्यात गरिएको थियो । पछिल्लो समय भैरहवा वीरगन्जको विकल्पका रूपमा उदाउँदै गइरहेको छ ।
गत वर्ष भित्रिएका नौ खर्ब ८४ अर्ब ६ करोड रुपैयाँको वस्तुमध्य तीन खर्ब ३५ अर्ब ८६ करोडको वीरगन्जबाट भित्रिएको छ ।
यसैगरी, मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक खर्ब १९ अर्ब १८ करोडको वस्तु भित्रिएको छ । त्रिभुवन विमानस्थल भएर २२ अर्ब ४५ करोडको सामान विभिन्न मुलुकमा पुगेको छ । त्रिभुवन विमानस्थलबाट सबैभन्दा बढीवस्तु निर्यात भएको देखिन्छ । चीनसँग जोडिने तातोपानी नाका बन्द भएपछि त्रिभुवन विमानस्थल तेस्रो बन्न सफल भएको हो ।
तातोपानी नाकाको विकल्पका रूपमा प्रयोग गरिएको रसुवागढी नाका नौ नम्बरमा रहेको छ । रसुवागढीबाट १५ अर्ब ९७ करोडको सामान भित्रिएको छ भने ७७ करोडको सामान चीनतर्फ निर्यात भएको छ ।